सन् २०२३ मा हिमाली जिल्ला मुस्ताङमा मात्र ९० हजार ३ सय ५६ जना विदेशी पाहुना पुगे। २० वर्षसम्मको तथ्यांक अनुसार मुस्ताङ उक्लिएका विदेशी पाहुनाको संख्या यो नै सबैभन्दा बढी हो। वर्षदिन अवधिमा मुस्ताङ उक्लेका ती विदेशी पाहुना मध्ये ७२ हजार १ सय त भारतीय पाहुना नै थिए।
त्यस्तै सन् २०२३ मा नेपालमा हवाई मार्गबाट मात्र भित्रिएका विदेशी पाहुनाको संख्या १० लाख १५ हजार हुँदा भारतीयको संख्या ३ लाख १९ हजार ९ सय ३६ थियो। यो पनि वर्षदिनमा नेपाल भित्रिएका विदेशीमध्ये सबैभन्दा बढी संख्या हो।
वर्षदिनमा मुस्ताङ उक्लेका र नेपाल भित्रिएका भारतीय पाहुनाको आकारले नेपालको पर्यटन क्षेत्र भारतीय पर्यटनसँग पूरै निर्भर रहेको पर्यटन क्षेत्रको विश्लेषण छ। पोखरा एकजना पर्यटन व्यावसायी भन्छन, ‘पोखराको मात्र नभइ समग्र नेपालकै पर्यटन भारतीयसँग निर्भर रहेको छ। सानादेखि ठूला आकारका होटल पनि भारतीय पाहुनाको भर पर्नुपरेको छ।’
होटलले आफ्नो क्षमता अनुसार सस्ता र महंगा भारतीय पाहुना तानिरहेको उनले बताए। सिजन अनुसार आन्तरिक पाहुनाको चहलपहल पर्यटकीय क्षेत्रमा भएपनि त्यसको आधिकारिक तथ्यांक कतै नहुने उनले बताए। ‘आन्तरिक पाहुनाबाट पनि राहत त छ। तर, त्यसको आधिकारिकता मापन कतै छैन,’ उनले भने, ‘त्यसपछिको राहत भारतीयबाट हो।’
उनका अनुसार भारतीय पाहुनाको लाभ हिमाली क्षेत्रदेखि संघीय राजधानी काठमाडौंका होटलले समेत लिएका छन्। किनकी हवाईमाध्यमबाट नेपाल भित्रिने विदेशी मध्ये सबैभन्दा बढी भारतीय छन। हवाई माध्यमबाट नेपाल भित्रिएका ती भारतीयको पहिलो पाइला काठमाडौंमै पर्छ। त्यसपछि बल्ल अन्यत्र जाने हन्। जसले गर्दा राजधानीका धेरै होटल पनि भारतीयमै निर्भर हुनुपरेको छ।
पर्यटन क्षेत्रका लागि अक्टोबर–नोभेम्बर पहिलो सिजन हो। मार्च–अप्रिललाई दोश्रो सिजन मानिने पर्यटन क्षेत्र अब दोश्रो सिजनको सुखद् पर्खाइमा छ। व्यावसायीका अनुसार अबका केहीदिन पछि सुरु हुने पर्यटकीय सिजन उनै भारतीय पाहुनाको पर्खाइमा छ। किनकी भारतीय पाहुनाको आड–भरोसामा पर्यटन क्षेत्र चलेको छ। त्यसमा आन्तरिकको पनि साथ छ। तेश्रो मुलुकका अरु पाहुनाले केही राहत मात्र थप्ने हुन।
हिमाली जिल्ला मुस्ताङ उक्लिने भारतीय भने सबै हवाई माध्यमबाट भित्रिएका हुँदैनन्। किनभने ती पाहुनामध्ये अधिकांश स्थलमार्गबाट पोखरा भित्रिन्छन। मुस्ताङ उक्लिनेमध्ये अधिकांश भारतीय धार्मिक तीर्थयात्री हुने र उनीहरु स्थलमार्गबाट पोखरा हुँदै मुस्ताङ पुग्छन। ‘सबैतिर भारतीय पाहुनाको भर पर्नुपरेको छ। भारतीय पाहुना पनि नआउने हो भने त पर्यटन क्षेत्र झनै डामाडोल हुन्छ,’ ती व्यावसायीले भने, ‘कोरोना संक्रमणपछि त भारतीय बिना पर्यटन क्षेत्र नै धानिन सक्दैन।’
लेकसाइडस्थित मझेरी रिसोर्टका म्यानेजर गुप्त गिरीका अनुसार पर्यटन क्षेत्रका लागि अक्टोबर–नोभेम्बर पहिलो सिजन हो। मार्च–अप्रिललाई दोश्रो सिजन मानिने पर्यटन क्षेत्र अब दोश्रो सिजनको सुखद् पर्खाइमा रहेको गिरीले बताए। ‘आगामि सिजन उनै भारतीय पाहुनाको पर्खाइमा छ। किनकी अहिले अझै चिसो भएकोले मुक्तिनाथ उक्लिने पाहुना भित्रिन पाएका छैनन्। तर, मार्चदेखि मुक्तिनाथको सिजन चल्ने हुँदा त्यो बेला पर्याप्त भारतीय आउने अपेक्षा छ,’ गिरीले भने, ‘भारतीय पाहुनाको आडमा पर्यटन क्षेत्र चलेको हो। आन्तरिकको महत्व पनि उत्तिकै छ। तेश्रो मुलुकका अरु पाहुनाले केही राहत मात्र थप्ने हुन।’
गिरीका अनुसार मार्चदेखि सुरु हुने भारतीय पाहुनाको संख्या जुनसम्मै रहनेछ। भारतमा गर्मी हुने भएकोले पनि गर्मी छल्ने बहानामा धेरै भारतीय पाहुना पोखरा भित्रिन्छन। त्यस्तै मुक्तिनाथ दर्शन गर्न जाने भारतीयकै कारण पनि व्यावसायमा लाभ पुगेको उनले बताए।
‘अहिले पोखराका मात्र नभई सिंगो मूलूककै पर्यटन क्षेत्र भारतीय पाहुनाको भरमा छ। हामी उनै भारतीय पाहुनाको पर्खाइमा छौ। भारतीय पाहुनाको आगमनका कारण आगामि सिजनको बुकिङ पनि राम्रो छ,’ उनले भने। पोखरा भित्रिने मुख्य राजमार्ग बिस्तारमा सुधार हुँदै जाँदा आगामि दिनमा भारतीय पाहुनाको संख्या बढ्ने अपेक्षा रहेको उनले बताए।
अर्काे एक होटलका म्यानेजरका अनुसार भारतीय पाहुनाको भर मध्यम र साना आकारका होटललाई झनै बढी छ। किनकी चल्तीका र ठूला आकारका होटलले अरु तेश्रो मूलूकका पाहुना पनि पाउने गर्छन। तर सस्तो मूल्यमा भारतीय पाहुनालाई सेवा दिएकै भरमा धानिने होटल पर्याप्त रहेको ती म्यानेजरले बताए। ‘भारतीय पाहुनाको भर सबैलाई छ। तर, मध्यमस्तरका होटलको भर बढी जसो भारतीय पाहुनामा छ,’ ती म्यानेजरले भने, ‘पोखरामा मात्र नभई संघीय राजधानी काठमाडौंका होटल पनि अहिले भारतीय पाहुनामै भर पर्नुपर्ने अवस्था छ।’
मुस्ताङले समेत भारतीय पाहुनाबाट ठूलो लाभ लिन सकेको उनले बताए। किनकी मुस्ताङमा धार्मिक भारतीय पाहुना बढी उक्लिन्छन। ‘वर्षभरिमा ७० हजार बढी भारतीय पाहुना हिमाली क्षेत्रमा उक्लिँदा त्यसको लाभ त्यहाँको पर्यटनले लिएको छ,’ उनले भने। भारतीय पाहुनाकै आधारमा पर्यटन क्षेत्र धानिने भएकोले व्यावसायीले पनि त्यही अनुसार भारतीय सहरमै प्रवद्र्धनात्मक गतिविधि पनि गरिरहेको उनले बताए। पोखराका व्यावसायीले भारतीय पर्यटकलाई लक्षित गर्दै हरेक वर्षजसो भारतीय सहरमा प्रवद्र्धनात्मक अभियान चलाउँदै आएका छन।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका संरक्षण अधिकृत प्रमोद रेग्मी पनि भारतीय पाहुनाको भरले हिमाली जिल्ला मुस्ताङको पर्यटनले राहत पाएको बताउँछन। ‘मुक्तिनाथ दर्शन गर्न आएका भारतीयको आकार निकै नै ठूलो हुने गरेको छ। यही कारणले सन् २०२३ को विदेशी पाहुनाको आगमन अहिलेसम्मकै बढी हुन पुगेको हो,’ रेग्मीले भने, ‘भारतीय पाहुना नआउँदा हुन् त मुस्ताङले यति ठूलो आकारमा विदेशी मुहार देख्दैनथ्यो। किनकी मुस्ताङ धामिर्क पाहुनाको गन्तव्यस्थल पनि हो।’
प्रकाशित: २८ माघ २०८० १५:४५ आइतबार