९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

‘समृद्ध सुनसरी’ बारे के भन्छन् जनप्रतिनिधि ?

‘संघीय सरकारले बजेटमा पक्षपात गरेको छ’

वेदनारायण गच्छदार, प्रमुख, दुहवी नगरपालिका

पहिलोपटक मेयर हुँदा २०७४ मा एउटा नीति–विधान तयार गरी काम गर्नुपर्ने अवस्था थियो। त्यसका लागि कानुनहरू निर्माण गर्ने एउटा पाटो छँदै थियो, त्यो सकियो। त्यसैगरी, स्थानीय तहको सन्दर्भमा कुनै पनि विकासका पूर्वाधारहरू दूरगामी लक्ष्यलाई लिएर पालिकाको बृहत्तर र समष्टिगत विकासका सन्दर्भमा कुनै किसिमको त्यस्तो योजना थिएन।

योजनाबद्ध रूपमा अगाडि बढ्नका लागि पहिलो दायित्व आइयुडिपी इन्टिग्रेटेड अर्गन डेभलपमेन्ट प्लान अथवा कम्प्रिहेन्सिभ टाउन डेभलपमेन्ट प्लान बनाउनु आवश्यक थियो।

जुन हामीले २०७४ र २०७५ मा निर्माण गरेर सोहीअनुसार नगरपालिकाको विकासका पूर्वाधार शिक्षा, खेलकुद, स्वास्थ्य, हाटबजार, सुकुम्वासीहरूको व्यवस्थापन, बाटो–निर्माण, कृषि तथा पशुविकास क्षेत्रको विकासका लागि पूर्वाधार तथा स्रोत साधनहरू जुटाउने सन्दर्भमा प्लानिङ गरेर अगाडि बढ्यौं।

शिक्षातर्फ नै २०७६ सालबाट नगरप्रमुख छात्रवृत्ति कार्यक्रमअन्र्तगत प्राविधिक धारको शिक्षामा प्रोत्साहन गर्न ३ वर्षे कोर्समा प्रति विद्यार्थी १ लाख ८५ हजार प्रदान गरेर पढाई रहेको छ।

अहिलेसम्म १८ जना पढ्दै छन्। यस्तै, प्राविधिक सिप सिक्नका लागि १० महिनाको तालिम पूरा गर्न प्रतिविद्यार्थी ८४ हजार खर्च हुन्छ। यो तीन वर्षदेखि हामीले सहयोग गरेर विद्यार्थी पढिरहेका छन्।

सकुम्बासीहरूलाई उचित व्यवस्थापनको लागि वडा नं ११ मा २ बिघा क्षेत्रफलमा ८० वटा घर निर्माण गरी हस्तान्तरण गरेका छौं। सडक बाटोको हकमा ३० किलो मिटरभन्दा बढी हामीले पिचबाटो निर्माण गरिसकेका छौं।

मेरो पहिलो कार्यकालमा यहाँका १२ वटा वडामध्येमा ६ वटा वडाको आफ्नै भवन थिएन। यसपालि हामीले ती भवनहरू पनि निर्माण गर्नका लागि ठेक्का लागिसकेको छ।

२०७४ सालबाट नै विभिन्न कार्यक्रमहरू रोजगारीसँग जोडेर हामीले चलाएका थियौं तर त्यति प्रभावकारी रूपमा सञ्चालन हुन सकेको थिएन। २०७७ बाट हामीले व्यावसायिकतातिर युवालाई कसरी लिएर जाने, सिपसहितको दक्ष जनशक्तिको रूपमा रूपान्तरण गर्ने भनेर लघुउद्यम कार्यक्रम सञ्चालन गर्‍ यौं।

विगत ४ वर्षदेखि मैले जनतासँग नगरप्रमुख कार्यक्रमअन्तर्गत विपन्न नागरिकले पाँच सय रूपैयाँ मात्रै तिर्ने गरी बाँकी ३ हजार रूपैयाँ नगरपालिकाले तिरेर सबैको स्वास्थ्य बिमा गराउने अभियानमा छौं।

‘योजनाअनुसार विकास गर्न सकिएको छैन’

केदार भण्डारी, प्रमुख, इनरुवा नगरपालिका

हामी निर्वाचित भएर आएपछि गरिब, दलित, विपन्नको मृत्यु हुँदा काजकिरियाको समस्या भयो भने त्यस्तो अवस्थामा हामीले खर्च दिने गरेका छौं। एकपटक मृत्युभएको बेलामा १० हजार रुपैयाँ दिने गरेका छौं। दलित, गरिब, विपन्न परिवारको २० लाख बराबरको स्वास्थ्य बिमा गर्ने गरेका छौं।

त्यसैगरी गरिब, दलितका बालबच्चाहरू एसइई पास गरेपछि उच्च शिक्षा पढ्न आर्थिक कारणले समस्या भएमा शुल्क तिरिदिने व्यवस्था गरेका छौं। हामीले विशेष फोकस चाँहि नेपाल सरकारले तोकेका सबै औषधीहरू हाम्रो स्वास्थ्य केन्द्रहरूमा वितरण गर्ने प्रक्रिया छ। गरिब, दलितको मृत्यु हुँदा घाटसम्म लान समस्या भएमा हामीले घाटसम्म लाने व्यवस्था गरेका छौं।

शिक्षामा हामीले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका छौं। बर्खाका बेला घुँडाघुँडासम्म विद्यालयमा पानी हुने गरेको अवस्थामा अहिले त्यसलाई मर्मत गरेका छौं। ३० वटा सरकारी विद्यालयमध्ये १४ वटामा माटो पुरी सकेका छौं।

सबै विद्यालयको भवन चुहिने, शौचालय नहुने, खानेपानीको समस्या हुने, कम्पाउन्ड नहुने र केही विद्यालयहरूमा त विद्युत् जडानसम्म थिएन। ती काममा पनि क्रमशः सुधार गर्दै लगेका छौं।

इनरुवाका गौरवका विषय दुर्गा मन्दिरमा ५० लाख रुपैयाँ दिएको छौं। त्यो निमार्ण सम्पन्न हुने चरणमा छ। अर्को शिव मन्दिरलाई पनि ५० लाख रुपैयाँ दिएका छौं। त्यो पनि सम्पन्न हुन लागेको छ। इनरुवा वडा नं ३ मा दलित मुसहर बस्ती आउजाउ गर्न झुलुंगे पुल निर्माण गरेका छौं। जुनजुन वडामा कार्यालय छैन, ती वडा कार्यालय निर्माण हुँदै छ।

हामी निर्वाचित भएर आएपछि बाटाघाटा बनाउनेमा इनरुवाको एउटा साह्रै अफ्ठ्यारो बाटो दुहवी नगर रोडसँग जोडिएर टेम्पो स्टेनबाट अस्पतालसम्म जाने बाटो निर्माण भइसकेको छ।

इनरुवा–२ को पण्डित टोलको बाटो निर्माण सम्पन्न भइसकेको छ। ढलहरू बन्दै छन्। चाँदबेला जुन इनरुवा नगरपालिका–७ जमुहाबाट वडा कार्यालय जाने बाटो ठेक्का लागेर निर्माणको क्रममा छ। इनरुवा बजारबाट सरकारी वकिल कार्यालय हँुदै हाइवेसम्म जाने बाटो पिच भइसकेको छ। जिल्ला प्रहरी कार्यालयपछाडिको भागको बाटो पिच भइसकेको छ।

प्रतिशतको हिसाबले भन्दा अहिले २५ प्रतिशत हाराहारी बाचा पूरा भएको अवस्था छ। त्यसको कार्ययोजना सुरुभएको छ। म आफू पनि त्यति धेरै सन्तुष्ट छैन, किनभने आर्थिक मन्दीका कारण नगरमा भएको बजेटका कारणले जे सोच्यो, त्यही गर्न सकिँदैन।

जस्तो अघिल्लो आर्थिक वर्षमा हामीले गरिब, दलित, विपन्न परिवारका छोरीहरूले एसइई उत्तीर्ण गरिसकेपछि सबैलाई उच्च शिक्षा अध्ययन गर्न सजिलो होस् भनेर साइकल वितरण गर्‍यौं। आगामी आर्थिक वर्षमा पनि बाँड्ने चाहना छ। तर पनि बजेटको अभावले गर्दा समस्या छ।

‘कृषिमा परिवर्तन गरेर देखाइदिनेछु’

बेचनप्रसाद मेहता, अध्यक्ष, देवानगन्ज गाउँपालिका

अहिलेसम्ममा बाटोघाटो, विद्युतीकरण, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतमा हामीले कामलाई अगाडि बढाएका छौं। विद्युतीकरणमा २३ करोडको योजना सञ्चालनमा छ। जसमध्ये १० करोडको लगभग काम सम्पन्न हुने अवस्थामा छ। १३ करोड विद्युतीकरणको योजनाका लागि टेन्डर हुने अवस्थामा छ।

हामीले स्वास्थ्यतर्फ १० वेडको हस्पिटलको काम लगभग अन्तिम चरणमा छ। किसानलाई बोरिङ पनि दिने व्यवस्था मिलाउने सोचमा छौं। कृषि क्षेत्रमा हामी नयाँ प्रविधिबाट गहुँ खेती गर्न कृषि औजारका लागि डेमोस्ट्रेसनको कार्यक्रम राखेका थियौं। आगामी बजेटमा प्रत्येक वडामा कमसेकम एउटा मेसिन दिने सोच छ।

हाम्रो देवानगन्ज गाउँपालिकामा ६ वटा खानेपानी कार्यक्रम सञ्चालनमा छ। खानेपानी योजनाका लागि खानेपानी तथा सिँचाइमन्त्री महेन्द्र यादवको पहलमा एसियाली विकास बैंकबाट प्रतिनिधि पठाएर अनुगमन भई सकेको छ। अब बाटो घाटोको कुरा गर्दा गत वर्ष त काम धेरै भएको छ। बाटो कालोपत्र हुने क्रम बढिरहेको छ।

‘संघीय सरकार र प्रदेश सरकारले निकै माया गरेका छन्’ 

रमेश कार्की, प्रमुख, बराह क्षेत्र नगरपालिका

शपथ ग्रहणपश्चात् नै मैले स्वास्थ्य, शिक्षा र कृषिमा नवीन कार्य गर्नुपर्छ भन्ने अठोट लिएर अघि बढें। बराह क्षेत्र नगरले जेष्ठ नागरिकलाई घरदैलो सेवा कार्यक्रमको सुरुवात ग¥यौं। त्यस्तै महिला शिक्षक सुत्केरी हुने अवस्थामा सट्टा शिक्षकको भर्ना गरेर शिक्षालाई निरन्तरता दिने काम हामीले गर्‍ यौं।

बराह क्षेत्रमा धार्मिक पर्यटनलाई जोडेर नौलो कामको सुरुवात हामीले गरेका छौं। इतिहासमा नै पहिलो पटक हामीले सबैभन्दा बढी रकम तीन करोड रूपैयाँ पालिकामा भित्र्याउन सफल भएका छौं। धार्मिक पर्यटनलाई सबल र सक्षम बनाउनुपर्छ भन्ने मूल मर्मलाई आत्मसाथ गरेर चतराधामका लागि मात्रै एक करोड बजेट भित्र्याएका छौं। 

कार्यकालको प्रथम वर्षमा नै बराह क्षेत्र नगरपालिकामा सहरी सडक भित्र्याउने काम पनि हामीले गरेका छौं, जो निर्वाचित भएर आएपछि हामीले गरेको राम्रो काम मध्येमा पर्छ। हामीले विकासको काम नभएर जनअपेक्षा अनुरूपका दिगो विकासका योजनालाई अघि सारेका छौं।

बराह क्षेत्रको विकासका लागि संघीय सरकार र प्रदेश सरकारले निकै माया गरेको छ। बराह क्षेत्रको विकासका लागि संघीय सांसद तथा पूर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्की अहोरात्र लाग्नुभएको छ।

‘रोजगारीका लागि उद्योग स्थापनाको पहल गरिरहेका छौं’

जिबछकुमार राय, अध्यक्ष, बर्जु गाउँपालिका

म निर्वाचित भएर आएपछि पालिकामा तथ्यांकहरूको व्यवस्थित र अध्यावधिक अभिलेखीकरणको पहलमा जुटें। त्यसअघि वितरण भएका कृषिजन्य औजार तथा सामग्री, खानेपानीका पाइप, चापा कल, मोटरलगायतका सामग्रीको अभिलेखीकरण भएको पाइन, जसलाई मैले सुधार गरें।

यसअघिको बर्जु सरकारले सडक र शिक्षाको क्षेत्रमा ठोस काम गर्न सकेन, वर्तमान सरकारले सडक कालोपत्रे तथा मर्मत, विभिन्न निकायसँगको सहकार्यमा सामुदायिक विद्यालयहरूको भौतिक संरचना निर्माण, वडा कार्यालयहरूमा घेराबाराको काम सम्पन्न गरेको छ।

यसरी नै क्रमाङ्गत रूपमा जनअपेक्षा अनुरूप वडा तथा गाउँ गौरवका ठुला योजनाहरूलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेका छौं।

बर्जु, विराटनगर महानगरको छिमेकी पालिका भए पनि यहाँ रोजगारको अवसर न्यून छ। बेरोजगारी यहाँको मुख्य चुनौती हो। हामीसँग रोजगारी सिर्जनाका लागि ठुला उद्योग छैनन्। ठुला उद्योगका रूपमा इस्टर्न सुगर मिल्स मात्रै छ, जो पर्याप्त छैन।

यहाँको जटिल समस्याका रूपमा रहेको बरोजगारीलाई कम गर्न बर्जुमा ठुला उद्योगहरूको स्थापनाका लागि पहल गरिरहेका छौं। उद्योगलाई जोड दिँदा कृषिको प्रवर्धनको कुरा उठ्न सक्छ तर यहाँ थोरै संख्यामा जमिन भएका किसान छन्। कृषि उत्पादनबाट बर्जुमा सम्पन्नताको सम्भावना निकै कम छ।

त्यस्तै हामीले पर्यटन क्षेत्रको विकासलाई विशेष जोड दिएर अघि बढेका छौं। हामीसँग प्रचुर सम्भावना बोकेको पर्यटकीय गन्तव्यका रूपमा नेपालकै तराई क्षेत्रको सबैभन्दा ठुलो ताल ‘बर्जु ताल’ छ। यसको प्रवर्धनका लागि प्रदेश सरकारबाट बजेट प्राप्त भएसँगै काम अघि बढाउने तरखरमा छौं।

‘शिक्षा सुधारमा लागेको छु’

अजमल अख्तर मियाँ, अध्यक्ष, भोक्राहा नरसिंह गाउँपालिका

२०७९ चुनाव आइसकेपछि त्यो वर्ष भनेको चुनावी वर्ष थियो। ठोस कामको कुरा गर्दा गाउँपालिकाको प्रशासनिक भवन बन्यो। कृषि र पशुमा दुईवटा भवन बनाएका छौं। हामीले पालिकालाई बत्तीमय बनाएका छौं।

स्वास्थ्य बिमा अवधारणा लिएर त्यसलाई हामीले लागु गराएका छौं। किसानहरूका लागि विभिन्न प्याकेजका कार्यक्रमहरू ल्यायौं। शिक्षा सुधारमा हामीले सम्पूर्ण विद्यालयलाई विज्ञ ल्याएर अनुगमन गराएर प्रतिवेदन तयार गरी सुधारका अभियान सञ्चालन गरिरहेका छौं।

२०८०-८१ को बजेट कार्यान्वयनको सवालमा केही दिनअघि मात्र सार्वजनिक सुनुवाइ गरियो। अहिलेसम्म २०–२१ प्रतिशत बजेट कार्यान्वयन गरिसकेका छौं। बढीभन्दा बढी यसपल्ट टेन्डर प्रक्रियामा बाटोघाटो, पुलपुलेसा, किसानका लागि डिप बोरिङ, मोटर वितरणजस्ता कार्यक्रमहरू हामीले ल्याएका छौं।

‘२०८४ सम्ममा हरिनगरमा आमूल परिवर्तन हुनेछ’

गफार अन्सारी मियाँ, अध्यक्ष, हरिनगर गाउँपालिका

२०७४ सालमा जब संविधान सभाको चुनाव भएपछि संघीयता भयो। अनि पहिलो संघीयताको पहिलो गाउँपालिकाको अध्यक्षमा म निर्वाचित भएँ। त्यसपछि मैले सबैभन्दा पहिला बाटो बनाउने सोच बनाएँ।

मैले एकैपटक सातवटा बाटोको डिपिआर गरें। जुन ३२ किलोमिटर पर्छ। सबै वडालाई जोड्ने बाटो निर्माणका लागि टेन्डर प्रक्रियाबाट अगाडि बढाएँ। ती बाटाहरू अहिले पूरा भइसकेको छ। त्यो बाटो पूरा भइसकेपछि त्यसमा पुलहरूको आवश्यकता प¥यो र त्यसमा नौवटा पुल स्थापना गरिएको छ।  

अब दोस्रो कार्यकाल २०७९ मा निर्वाचित भएपछि हामीसँग प्रशासनिक भवन थिएन। हामीले प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छ। दुई वटा स्कुल, दुई वटा वडा कार्यालय र प्रशासनिक भवनका लागि एक बिघा तीन कट्ठा जग्गा चन्दा दाताबाट प्राप्त गरिसकिएको छ।

प्रशासनिक भवनको पहिलो तल्ला ढलान भइसकेको छ। शिक्षामा अहिले नयाँ विद्यालयका भवनहरू थप्नेछौं। स्वास्थ्यको लागि २४सै घण्टा सेवा दिन हामीले व्यवस्थापन गरेका छौं। दुई जना एमबिबिएस डाक्टरहरू राखेर बिरामीलाई सेवा दिइराखेका छौं। अहिले हामीले अबको किसानहरूका लागि मेसिन औजारहरू व्यवस्थापन गरेका छौं ।  

‘कृषिमा आधुनिकीकरण गर्ने योजना छ’

आशनारायण चौधरी, अध्यक्ष, गढी नगरपालिका

वास्तवमा हामीले डेढ वर्षभित्र निर्वाचनमा प्रतिबद्धता व्यक्त गरेअनुसारका धेरै कामहरू गर्न बाँकी छन्। त्यसमा थोरै कामहरू गर्न हामी सफल भएका छौं। यो अवधिमा केही बाटा घाटाका कामहरू भएका छन्।

केही शिक्षाका कामहरू भएका छन, केही पर्यटन, केही स्वास्थ्य र कृषि सम्बन्धी कामहरू गर्न पाएका छौं। हामी आएपछि धेरै कामहरू गर्ने बाचा पनि गरेका थियौं। तर देशको परिस्थितिले गर्दा हामीलाई आर्थिक समस्या भएको छ।

पहिलो वर्ष पालिकाले संघीयबाट पाउने हाम्रो जुन स्रोतहरू थिए, त्यसमा लगभग २५ प्रतिशत पहिलो वर्ष नै कटौती हुन पुग्यो। दोस्रो वर्षमा राजस्व बाँडफाँडबाट प्राप्त हुने रकममा कटौती भएर सिलिङ नै आएपछि हामीले अब सोचेजस्तो बजेट पनि निर्धारण गर्न सकेनौं।

अर्को हाम्रो आन्तरिक आम्दानीको स्रोत भनेको गढी गाउँपालिका एउटा ग्रामीण गाउँपालिका भएकाले एकदमै न्यून भएको अवस्था भएकाले सोचेजस्तो काम गर्न सकिरहेका छैनौं।

अहिलेसम्म हामीले गरेका कामहरू हेर्दा ग्राभेलका कामहरू त गरि नै राखेका छौं। पालिकाको स्रोतले ७–८ किलोमिटर जति बाटो पिच पनि गरेका छौं। गढी धार्मिक वनलाई पर्ययटकको क्षेत्रमा विकास गर्ने सोच छ भने गढी खेल मैदानलाई भविष्यका लागि एउटा व्यवस्थित रंगशालाको पूर्वाधारको रूपमा तयारी गर्ने लक्ष्य लिएका छौं।  

‘रामधुनी मन्दिरलाई प्राथमिकतामा राखेका छौं’

शंकरलाल चौधरी, प्रमुख, रामधुनी नगरपालिका

हाम्रो रामधुनी नगरपालिकाको मुख्य चाहिँ पर्यटन पूर्वाधार नै हो। हामीले पर्यटन पूर्वाधारलाई नै विशेष फोकस गरेर अघि बढेका छौं। हामीसँग शङ्करबेली, जुडी ताल, प्रेम ताल, राशा ताल एवम् अन्य थुप्रै तालहरू छन्।

यी पर्यटकीय क्षेत्रको सुन्दरता बढाउन मन्दिर निर्माणमा सबैभन्दा बढी जोड दिएका छौं। पूर्वाधारतर्फ हामी निर्वाचित भइसकेपछि भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसका निर्माणका काम एकदमै दु्रत गतिमा अगाडि बढेको छ।

नौवटै वडामा कालोपत्रे सुरु भएको छ। चालु आर्थिक वर्षमै शङ्करबेली तालमा एक करोड ३० लाख खर्चिंदै छ। रामधुनी मन्दिरमा यो वर्ष एक करोड खर्च हुँदैछ। रामधुनीमा जनकपुरी मोडलमा मण्डप तयारी हुन लागेको छ। रामधुनीका गाईगोठलाई आधुनिकीकरण गरिनेछ। त्यहाँभित्र धर्मशाला बन्ने छ। धर्मशाला तीन तलाको हुनेछ।  

हामीसँग सरकारी विद्यालय २६ वटा र एउटा मुस्लिमसहितको गरेर २७ वटा छन्। अहिले डेढ वर्ष बित्दा २२ वटासम्म विद्यालय अनुगमन गरिसकेको छु। अब बाँकी विद्यालय पनि पुगेर तिनीहरूको अवस्थाबारे जानकारी लिनेछु। अहिलेसम्म म ३२ वटा सहकारी पुगेको छु।

प्रकाशित: १७ माघ २०८० ०४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App