१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

शेयर बजारमा भारी गिरावट : सोमबार दोहोरो अंकले घट्यो

काठमाडौं – लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ। 

आइतबार ४१ अंकले घटेको बजार सोमबार १६.६९ अंकले घटेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार दोहोरो अंकले बजार घट्दा नेप्से परिसूचक एक हजार २८७।७४ बिन्दुमा पुगेको छ। 

‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.२४ बिन्दुले घटेर २७३.५६ बिन्दुमा पुगेको छ। स्टकका अनुसार आज नौ लाख ७७ हजार ४७ कित्ता शेयर रु ३९ करोड ५२ लाख १७ हजार मूल्यमा कारोबार भएको छ। 

उपसूचकतर्फ व्यापार र होटल समूहको शेयरको मूल्य बढे पनि अरु उपसूचक भने घटेका छन्। व्यापार समूह ६.८५ र होटल २.४८ बिन्दुले उकालो लाग्दा बैंकिङ ९.८७, विकास बैंक ११.४, जलविद्युत् ४५.४, फाइनान्स ६.०९, बीमा ११९.२१, उत्पादन ४६.४७, अन्य १०.१९ र माइक्रोफाइनान्स ४३.७६ बिन्दुले घटेका छन्। 

गलत हल्लाले घट्यो बजार 

शेयर बजारको विश्लेषण गर्दै आएका विश्लेषक नीरव पुडासैनीका अनुसार गलत हल्लाका कारण बजार ओरालो लागेको हो। बजारमा हकप्रद तथा बोनस शेयरको पनि दबाब रहेका बेला अर्थमन्त्री डा युवराज खतिवडाको भनाइलाई गलत तवरले व्याख्या गरिएका कारण बजार प्रभावित भएको उनको टिप्पणी छ। 

शेयर लगानीकर्तालाई नआत्तिइकन धैर्यता राख्न र संयमित हुन आग्रह गर्दै विश्लेषक पुडासैनीले केही समय समस्या देखिए पनि अन्ततः बजार उकालो लाग्ने विश्वास व्यक्त गरे। गलत हल्लाका कारण पनि बजार प्रभावित भएको भन्दै त्यस्तो हल्लाका पछाडि नलाग्न शेयर बजारका जानकारले आग्रह गरेका छन्। 

अर्थमन्त्री डा युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दै त्यस्तो क्षेत्रमा लगानी गर्नु अर्थहीन भएको अभिव्यक्ति दिएपछि पछिल्लो समय सेयर बजारमा निरन्तर गिरावट आएको छ।

प्रकाशित: २१ फाल्गुन २०७४ ११:२६ सोमबार

शेयर बजारमा भारी गिरावट सोमबार दोहोरो अंकले घट्यो