२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

किबी पकेट क्षेत्र बनाइँदै सुनकोसीको महाभारत क्षेत्र

सिन्धुलीको सुनकोसी गाउँपालिका ७ नागी चालिसेका किसानलाई किबीका बेर्ना वितरण गर्दै सुनकोसी गाउँपालिकाका जनप्रतिनिधि। तस्बिरः नागरिक

सिन्धुलीको सुनकोसी गाउँपालिकामा किबीको पकेट क्षेत्र विस्तार गरिने भएको छ। सुनकोसी गाउँपालिका ७ को नागी चालिसेमा किबी खेतीको राम्रो सम्भावना भएपछि गाउँपालिकाले त्यस क्षेत्रलाई किबी पकेट क्षेत्र बनाउने कार्यक्रम सुरु गरेको गाउँपालिका कार्यालयले जनाएको छ।

स्थानियले किबी खेतीबाट राम्रो आम्दानी लिन थालेपछि त्यस क्षेत्रमा किबीको पकेट क्षेत्रकै रूपमा विस्तार गर्न गाउँपालिकाले किबीका बेर्ना वितरण गर्ने तथा किबीका लागि प्राविधिक सहयोग गर्ने कार्यक्रम गर्न सुरु गरेको छ।

गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालका अनुसार गाउँपालिकाले २४ सय बिरुवा वितरण गर्ने कार्यक्रमअनुसार बुधबार पाँच सय बिरुवा वितरण गरेको छ। सुनकोसी गाउँपालिका ७ नागी चालिसे मतनबासलगायत महाभारत क्षेत्रमा किबीका लागि उचित हावापानी भएकाले किबीको पकेट क्षेत्र विस्तार कार्यक्रम सुरु भएको गाउँपालिकाले जनाएको छ।

किबीको कुल बुट र ग्रिन आउस बनाउने तथा उत्पादित किबी बजारीकरण गर्नसमेत गाउँपालिकाले सहयोग गर्ने सुनकोसी गाउँपालिका अध्यक्ष दाहालले जानकारी दिए।

किबी खेतीका लागि चर्चामा रहेका विभिन्न जिल्लाबाट किसानले किबी खेती गर्ने ज्ञान प्राप्त गरेसँगै सिन्धुलीका महाभारत क्षेत्रमा किसानले किबी खेती गर्र्न थालेका हुन्। धेरै मेहनत नहुने भएकाले अन्य पेसा–व्यवसायसँग जोडिएर पनि किबी खेती गर्न सकिने किसानको भनाइ छ।

परीक्षणका रूपमा सुरुवातमा थोरै खेती गरेको भए पनि आम्दानी राम्रो हँुदै गएपछि थप खेती विस्तार गर्दै लगेको किसानले बताए। किसानले व्यावसायिक किबी खेती गर्न थालेपछि गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको सुनकोसी गाउँपालिकाका उपाध्यक्ष कपिल कोइरालाको भनाइ छ।

जिल्लाका सुनकोसी गाउँपालिका, फिक्कल गाउँपालिका, तीनपाटन गाउँपालिका र गोलञ्जोर गाउँपालिकाका विभिन्न स्थानमा किबी प्रवद्र्धन कार्यक्रम स्थानीय तहले गर्दै आएका छन्।

किसानलाई किबी खेती गर्न आवश्यक पर्ने थाँक्रा व्यवस्थापन, किबीका बिरुवा वितरण, किबीका दाना असिनाबाट जोगाउन बोटमाथि हेल्नेटको व्यवस्थापनसहित प्राविधिक सहयोग गाउँपालिका तथा कृषि ज्ञान केन्द्र सिन्धुलीले उपलब्ध गराउन थालेपछि किसान किबी खेतीमा हौसिएका छन्।

१२ सयभन्दा माथि र तीन हजारभन्दा कम उचाइमा किबी खेतीका लागि उपयुक्त हावापानी भएको स्थान मानिन्छ। पछिल्लो समय सिन्धुलीमा व्यावसायिक रूपमा किबी खेती विस्तार हुदै आएको छ।

किबी खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसान किबी खेतीतर्फ लागेका हुन्। जिल्लामा व्यावसायिक रूपमा किबी खेती गर्ने किसान बढ्दै गएपछि किबी उत्पादनसमेत बढ्न थालेको छ।

करिब १२ सय मिटरभन्दा माथिल्लो उचाइमा रहेका क्षेत्रमा किबी खेती गर्न सकिने भएपछि प्रदेश सरकारले समेत किबीलाई प्राथमिकता दिएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ।  राम्रो आम्दानी लिन सकिने भएपछि मकै, गहुँ, धानलगायतका बाली मासेर किसान व्यावसायिक रूपमा किबी खेती गर्न थालेका छन्।

 

प्रकाशित: ११ माघ २०८० ०६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App