११ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

गाईघाट-दिक्तेल सडकको २ ठेक्का तोडियो

बेहाल निर्माणाधीन गाईघाट दिक्तेल सडक। तस्विरः नागरिक

गाईघाट-दिक्तेल जोड्ने निर्माणाधीन ‘सगरमाथा लोकमार्ग’ को दुईवटा ठेक्का सम्झौता तोडिएको छ। उदयपुर र खोटाङ सोझो यातायात जोड्न झन्डै ३ दशकदेखि निर्माणाधीन लोकमार्गको काम अहिलेसम्म ४० प्रतिशत पनि हुन नसकेपछि ठेक्का तोड्नुपरेको योजना कार्यालय गाईघाटले जनाएको छ।

योजना कार्यालयले माघ ३ गते जारी गरेको सार्वजनिक सूचनाअनुसार ठेक्का तोडेको जानकारी गराइएको हो। कार्यालयले खोटाङतर्फ महुरेदेखि राजापानी खण्ड २२ किलोमिटर दूरी कालोपत्रे गर्ने जिम्मा लिएको भारत कन्स्ट्रक्सन-सिद्धि शाही क्षेत्रपाटीको ठेक्का तोडिएको कार्यालयले तोडेको छ।

सो काम ०७७ असार २९ भित्र निर्माण सकेर हस्तान्तरण गर्ने गरी २०७३ असार ३० गते सम्झौता भएको थियो। चर वर्षभित्र निर्माण सक्ने गरी ४१ करोड ५० लाख रुपैयाँ लागतमा लागेको ठेक्का म्याद नाघेको साढे तीन वर्ष बित्दा कालोपत्रेको काम सुरु नै भएको छैन।

काम सकेर हस्तान्तरण गर्ने सम्झतौको म्याद सकिएको साढे तीन वर्ष बितिसक्दा पनि कालोपत्रे सुरु नभएपछि ठेक्का तोड्न बाध्य भएको योजना कार्यालय प्रमुख (डिई) संजिवकुमार मिश्रले बताए। डिई मिश्रका अनुसार सो खण्डको काम समग्रहमा ४१ प्रतिशत सम्पन्न भएको तर, मुख्य गर्नुपर्ने कालोपत्रे सुरु नै नभएपछि ठेक्का तोडिएको हो।

कार्यालयले उदयपुरतर्फको साढे ३२ किलोमिटर खण्ड कालोपत्रे गर्नेे अर्को ठेक्का पनि तोडेको छ। कालोपत्रेसहित निर्माणको जिम्मा लिएको कन्चनजङ्घा-गोल्डेन गुड शान्तिनगर काठमाडौँको ठेक्का समयमा काम नभएकै कारण देखाएर तोड्ने निर्णय भएको डिई मिश्रले बताएका छन्। उता खोटाङतर्फको अर्को ठेक्का कार्यालयले यसअघि नै तोडिसकेको छ।

सम्झौता म्याद सकिएको लामो समयसम्म काम नभएपछि राजापानी–फोक्सिन्टार खण्डको २६ किलोमिटर कालोपत्रेसहितको जिम्मा लिएको देवनारायण÷पवन÷मैनाचुली-खम्पाचे जेवीको ठेक्का सम्झौता ०७९ पुसमै तोडिएको थियो। तर, ठेक्का तोड्ने निर्णयविरुद्ध निर्माण कम्पनी उच्च अदालत पाटन गएर पहिलो सुनुवाईमा अन्तरिम आदेश दिएपछि ठेक्का रद्द प्रक्रिया रोकियो।

केही महिनाअघि अदालतले पछिल्लो फैसला अनुसार ठेकेदारको रिट खारेज गरेपछि ठेक्का तोड्ने निर्णय सदर भएको हो। सो खण्डको काम ०७७ साउन ११ गतेभित्र कालोपत्रेसहित सक्नेगरी ०७३ साउन ११ गते ५५ करोड ८७ लाखमा ठेक्का लागेको थियो।

सगरमाथा लोकमार्ग निर्माण सुरु भएको ३ दशक पुग्नै लागेको छ। तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५३ सालमा सिल्यान्यास गरेर निर्माण सुरु भएको लोकमार्ग निर्माण कार्य ठेकेदारको लापरबाही र आवश्यक बजेट अभावपका काराण् कछुवा गतिमा भइरहेको छ।

सदरमुकाम त्रियुगा नगरपालिकाका ११ गाईघाटलाई ‘जिरोमाईल’ मानेर वडा नं. १० बोक्से, १४ साउने, १५ रानीवास खाँबु हुँदै रौतामाईमाई गाउँपालिका ५ छामलिङ–फोक्सिन्टार खण्ड ५३ किलोमिटर दूरी उदयपुरतर्फ निर्माणाधीन छ।

त्यसैगरी खोटाङतर्फ फोक्सिन्टारदेखि सदरमुकाम दिक्तेलसम्म ५१ किलोमिटरमध्ये दिक्तेलदेखि महुरेगढीसम्म ३ किलोमिटर दूरी भने पुष्पलाल मध्येपहाडी लोकमार्ग अन्तर्गत यसअिघि नै कालोपत्रे सडक निर्माण भईसकेको छ। महुरे–दिक्तेल ३ किलोमिटर बनेपछि यो लोकमार्गको खोटाङतर्फ कालोपत्रे गर्ने दूरी ४८ किलोमिटरमा घटेको छ।

दिक्तेल–महुरेदेखि, बुईपा, राजापानी हुँदै हलेसी तुवाचुङ नगरपालिकाको रेग्मीटारसम्म र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका टुवाखोला, भँडारे, रसुवाघाट हुँदै खोटेहाङ गाउँपालिका ३ फोक्सिन्टार आएपछि लोकमार्गको उदयपुृर सीमा जोडिन पुग्छ। खोटाङतर्फ केही भाग सडक ग्रावेलसम्म गरिए पनि बाक्लो सवारी आवागमनले वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने समस्या छ।

उदयपुरतर्फ गाईघाटदेखि साउने, रानीबास हुँदै अँधेरी खोला नजिकै ३१ किलोमिटर खण्ड भने कालोपत्रे भईसकेको छ। तर, अँधेरीदेखि फोक्सिन्टार पुलसम्मको भाग भने कालोपत्रे हुन बाँकी छ। तैपनि सो खण्डमा पनि ग्राबेल र स्तरोन्नति काम भइरहेकाले यातायात आउजाउ गर्न खोटाङतर्फभन्दा केही सहज छ।

गत वर्ष मात्र त्रियुगा बसपार्कदेखि साउनेसम्मको खण्डमा गाईघाट आँखा उपचार केन्द्रदेखि बरुवा पुलसम्म ३.१ किलोेमिटर सडक अस्फाल्ट प्रविधिको कालोपत्रे निर्माण भएको छ। चालुवर्ष पनि बरुवा पुलदेखि साउने खण्डको केही किलोमिटर सडक आवधिक मर्मत अन्तरगत कालोपत्रे गर्ने काम सुरु भईसकेको डिई मिश्रले बताए।

कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी नारायण थापाका अनुसार पटकपटक म्याद थपेर काम गर्ने अवसर पाउँदा ६० प्रतिशत हाराहारी काम भए पनि कालोपत्रे सुरु नै नभएकाले ठेक्का तोड्नुपरेको हो। ठेक्का तोड्नुअघि दुवै कम्पनीलाई सचेत गराउँदै योजना सञ्चालन (मोबिलाईजेसन) वापतको रकम साँवा व्याजसहित फिर्ता गराइएको थियो।

ठेकेदार कम्पनीहरुले फोक्सिन्टारस्थित सुन नदीमा पुल नभएका कारण सामग्री लान नसकेर काम गर्न नसकेको जवाफ दिँदै आएका थिए। तर सुरु भएको ११ वर्षमा ०७९ मा पुल बनेपछि पनि काम ढिला गरेर बहानाबाजी गरेपछि ठेक्का तोडेर नयाँ तरिकाले अघि बढ्नुपर्ने बाध्यता आइपरेको कार्यालयले जनाएको छ।

पहाडी जिल्ला खोटाङलाई उदयपुर हुँदै तराईसँगै राजधानीसँग जोड्ने यो लोकमार्ग छिटो बन्न उदयपुर र खोटाङबाट निर्वाचित संघीय, प्रदेश तथा स्थानीयतहका जनप्रतिनिधिले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आए पनि ठेकेदारहरुले चासो नदिएकाले यस्तो समस्या आईपरेको जनगुनासो छ।

प्रकाशित: ८ माघ २०८० ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App