२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

ठेक्का सम्झौता भएको २२ महिनापछि सिद्धबाबा सुरुङमार्ग खन्न थालियो

ठेक्का सम्झौता भएको २२ महिनापछि बुटवल–पाल्पा जोड्ने सिद्धबाबा सुरुङमार्ग निर्माणको काम थालिएको छ। गत सातादेखि १.१२६ किलोमिटर लम्बाई सुरुङमार्ग  सिद्धबाबा सुरुङ मार्गको सुरुङ खन्न थालिएको हो।

सिद्धबाबा सुरुङमार्ग योजनाका योजना प्रमुख रामपुकार जयसवालले एक सातादेखि बुटवल–पाल्पा जोड्ने सुरुङमार्ग निर्माणको काम सुरु गरिएको बताए ।‘एक सातादेखि सिद्धबाबाको सुरुङको मन्दिरतर्फबाट खन्ने काम सुरु गरिएको छ,’ उनले भने‘ठेक्का सम्झौता अनुसार यो सुरुङमार्ग पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ।’

सुरुङ मार्गको ठेक्का सम्झौता २०७८ फागुन २५ गते भएको थियो। ठेक्का सम्झौताअनुसार यो सुरुङमार्ग पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ।  सुरुङमार्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको थियो।

कर्पोरेसनले प्लानिङ, डिजाइन, इन्जिनियरिङ, प्रोक्रुरमेन्ट, कन्स्ट्रक्सन, कमिसनिङ एन्ड अपरेसन एन्ड मेन्टिनेन्समोडलमा पाएको हो। यो निर्माण कम्पनीले निर्माण सम्पन्न गरेसँगै पाँच वर्षसम्म मर्मत सम्भारको जिम्मेवारी पनि पाएको हो।

बुटवल–तानसेन खण्ड अन्तर्गतको सिद्धबाबा मन्दिरको उत्तरतर्फ चिडियाखोलाको छेउदेखि दोभानसम्मको सुरुङमार्ग खन्न लागिएको हो। ‘अहिलेसम्म सिद्धबाबा सुरुङमार्ग मन्दिरतर्फबाट खन्ने काम सुरुवात गरिसकेका छौँ,’ उनले भने  ‘अर्को पोर्टलबाट सुरुङ खन्ने काम केही समयभित्रै सुरु हुनेछ।’ सिद्धबाबा सुरुङमार्ग योजनाका योजनाका अनुसार सुरुङमार्ग निर्माण पूर्वका लागि आवश्यक पर्ने कामदार बस्ने क्याम्प लगायतको संरचना तयार भइसकेको जनाएको छ। योजना कार्यालयले वर्षात्व अगावै सुरुङमार्ग खन्ने तयारी भए पनि बाढी पहिरोको कारणले केही समय पछाडि धकेलेको थियो। यो सुरुङ मार्गको लम्बाइ १.१२६ किलोमिटर रहनेछ। यो सुरुङमार्ग दुई लेन अर्थात् साढे सात मिटर चौडा हुनेछ।

ठेकेदार कम्पनीले सुरुङमार्गसँगै सात सय ८० मिटर क्षेत्रको सडकमा रकसेटको संरचनासमेत तयार पार्नुपर्नेछ। अहिलेको सडकलाई दुई लेनमा बिस्तार गरिनेछ। योजना कार्यालयका अनुसार सुरुङ मार्गको आवश्यक सर्भे जिओलोजिकल इन्भेस्टिगेसन कार्य, जिओटेक्निकल लगायतका काम हुँदै आइरहेको छ। निर्माण व्यवसायीबाट सम्पन्न डिजाइन स्वीस कन्सल्टयान्टबाट रिभ्यु हुँदै आइरहेको छ। सिद्धबाबा टनेलको दुवै पोर्टलको स्लोब स्टेबलाइजिङ कार्य र सब होरिजेन्टल कंक्रिट स्ल्याबको डिजाइन ड्रइङहरू स्विस कन्सल्ट्यान्टबाट सिफारिस भई सडक विभागबाट स्वीकृत भइसकेको छ। सिद्धबाबा सडक खण्डमा रहेका ओभरह्यांगिङ चट्टानहरू हटाउने काम भइरहेको छ।  योजनाले यो वर्षभित्र चार सय मिटर सुरुङ खन्ने लक्ष्य राखेको छ।

सिद्धबाबा सुरुङ मार्गको ठेक्का चाइना स्टेटले सात अर्ब ३४ करोड २१ लाख चार हजार सात सय ३४ रुपैयाँमा पाएको हो। सुरुङ मार्गको प्राविधिक छनोटमा चारवटा कम्पनी परेका थिए। प्राविधिक प्रस्ताव पेस गरेकामध्ये सबैभन्दा कम कबोल गर्ने चाइना स्टेट छानिएको हो। योजना कार्यालयका अनुसार यो खण्डमा सुरुङमार्ग मात्रै नभएर दुई लेनको सडकसमेत बिस्तार गरिनेछ।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले २०७७ मंसिर १ गते मन्त्रीस्तरीय निर्णय गरी सिद्धबाबा सुरुङमार्ग निर्माणको लागि १० अर्ब १५ करोड रूपैयाँ बजेट सुनिश्चित गरेका थिए। सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको खण्डमा अत्यधिक मात्रामा पहिरोको जोखिम छ । सो खण्डमा हिउँद र बर्खा याममा समेत पहिरोको कारण बर्सेनि दर्जनौँले ज्यान गुमाइरहेका छन्। माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको इलाकामा स्विस सरकारको विकास सहयोगमा भौगर्भिक तथा पूर्व सम्भाव्यता अध्ययन गरिएको थियो। स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसनले सिद्धबाबा सुरुङ मार्गको पूर्वसम्भाव्यतता अध्ययन गरेको थियो। यो खण्डमा पहिरोमा परेर अहिलेसम्म चार सय ५० भन्दा धेरैले ज्यान  गुमाइसकेका छन्।

प्रकाशित: ५ माघ २०८० ०८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App