२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दाहालको ‘एक पटकमा एक योगदान’ अभियान सुरु

संसारभरका नेपालीलाई लक्षित गर्दै चितवनबाट ‘एक पटकमा एक योगदान’ अभियान सुरु भएको छ। बेलायत निवासी नेपाली व्यवसायी तथा समाजसेवी रघु दाहालले गृहनगर चितवनको भरतपुरस्थित पार्वतीपुरबाट उक्त अभियान थालेका छन्।

स्थानीय विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेर दाहालले ‘एक पटकमा एक योगदान’ अभियान सुरु गरिएको घोषणा गरे। विदेशमा रहेका हरेक नेपाली स्वदेश फर्किएका बेला हरेक पटक कम्तीमा एउटा सहयोग गर्नुपर्ने अवधारणाका साथ यो अभियान सुरु गरिएको उनले बताए।

कञ्चन समाज विकास परिषद्द्वारा आयोजित कार्यक्रममा युवा उद्यमी दाहालले हरेक प्रवासी नेपालीलाई स्वदेश फर्किदा हरेक पटक केही न केही सहयोग गर्ने अठोट गर्न आह्वान गरे। उनले हरेक महिना कम्तीमा एक लाख नेपाली स्वदेश फर्किने गरेको तथ्यांक प्रस्तुत गर्दै हरेकले सानै भए पनि सहयोग गर्दा अरू लाखौं नेपाली लाभान्वित हुने तर्क गरे।

विदेशमा भए पनि आफ्नो गाउँठाउँका बारेमा सोच्ने बानीले देशप्रतिको माया ताजा रहिरहने र देशको विकासमा पनि योगदान पुग्ने दाहालले बताए।

बेलायतमा होटल, रेष्टुराँ, घरजग्गा व्यवसायलगायतका विभिन्न पेसा व्यवसायमा संलग्न दाहालले नेपालमा पनि शिक्षा, ऊर्जा, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी गरेका छन्। उनले यसअघि पनि हरेक पटक स्वदेश फर्कंदा विभिन्न सहयोग कार्यक्रम गर्दै आएका छन्।

प्रकाशित: ३ माघ २०८० ०४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App