६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

मल र बायो ग्याँस उद्योग सञ्चालनमा

प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले मोरङको धनपालथानमा बायो ग्याँस सञ्चालनमा आएको छ। स्थानीय स्तरमै उपलब्ध गोबर खरिद गरी व्यवसायिक रुपमा प्राङ्गारिक मल र बायो ग्याँस उत्पादन गर्ने उद्देश्यले जीवन विकास समाजले बायो ग्याँस प्लान्ट सञ्चालनमा ल्याएको हो।

स्थानीयहरूसँग खरिद गरी संकलन गरेको गोबरबाट बायो ग्याँस गर्ने र खेर जाने गोबरलाई प्राङ्गारिक मलमा रूपान्तरित गरी पुनः किसानलाई नै बिक्री गर्ने योजना रहेको जीवन विकास समाजले जनाएको छ। मोरङको धनपालथान गाउँपालिका–३ डकुवाडाँगाम १० बिघा क्षेत्रमा स्थापना गरेको बायो ग्याँस प्लान्टको शुक्रबार समाजका संस्थापन अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य योगेन्द्रप्रसाद मण्डल र प्रदेशसभा सदस्य गयानन्द मण्डलले उद्घाटन गरे।

उद्घाटन गर्दै सांसद योगन्द्र मण्डलले मोरङबाट रासायनिक मललाई प्रतिस्थापन गर्ने अभियान सुरु भएको घोषणा गरे। उनले स्वदेशमा नै उत्पादन हुने प्राङ्गारिक मलले नेपाली किसानले भोग्दै आएको रासायनिक मलको हाहाकारलाई कम गर्ने बताए। यो वर्ष ८ लाख मेट्रिक टक रासायनिक मल चाहिन्छ, ४ लाख टन बाहिरबाट ल्याउँदा ३३ अर्ब खर्च भइसकेको बताउँदै, सांसद योगेन्द्र मण्डलले भने, ‘यसको दीर्घकालीन समाधान सोचिएन भने एक दिन किसानसँग पैसा हुन्छ, तर खाद्यान्न विना बस्नुपर्ने अवस्था आउन सक्छ। रासायनिक मलको विकल्पको रुपमा प्राङ्गारिक मलको प्रयोगलाई व्यापक बनाउनु पर्छ। छिमेकी मुलुक भारतको विभिन्न प्रान्तमा रासायनिक मललाई निषेध गरिसकेको छ। तेस्रो मुलुकमा समेत रासायनिक मललाई विस्थापित गर्न थालेका छन्।’

यस उद्योगले उत्पादित मल औपचारिक रुपमा बजारमा ल्याउनु अघि ३ ठाउँमा यसको प्रयोग गर्दा युरिया डिएपी बराबरकै धान फल्नका साथै कुनै किसिमका रोगसमेत नलागेको सांसद योगेन्द्र मण्डलले बताए। प्राङ्गारिक मलको प्रभावकारिता राम्रो भएको बताउँदै, सांसद योगेन्द्र मण्डलले भने, ‘यसको डबल फाइदा छ। खाना पकाउने ग्याँस पनि बन्छ, प्राङ्गारिक मल पनि उत्पादन हुन्छ। राज्यले योजना बनाएर अघि  बढ्ने हो भने ३ वर्षमा नेपाललाई रासायनिक मल मुक्त गर्न सकिन्छ। रासायनिक मल खरिदका लागि छुट्टाएको बजेट बराबरको लगानी गरे ३ वर्षभित्र पर्याप्त प्राङ्गारिक मल उत्पादन हुन्छ।’

कोशी प्रदेशसभा सदस्य गयानन्द मण्डलले प्राङ्गारिक मलको प्रयोगमा राज्यले किसानलाई सहयोग गर्ने बताए। उनले रासायनिक मलबाट मुक्त हुन प्राङ्गारिक मलको प्रयोग आवश्यक रहेको र यसको महत्त्व किसानलाई बुझाउन जरुरी देखिन्छ।

१० करोड लागतमा जीवन विकासले स्थापना गरेको प्लान्टको क्षमता दैनिक ८ टनसम्म प्राङ्गारिक मल उत्पादन गर्ने छ। १ सय ५० सिलिन्डर बायो ग्याँस उत्पादन गर्ने क्षमता रहेको छ। प्लान्टबाट बायोग्याँसभन्दा पनि मल उत्पादनमा जोड दिएको प्लान्टका प्रमुख उपेन्द्रकुमार मण्डलले बताए। उनका अनुसार ४० टन कच्चा पदार्थ प्रयोग गर्दा ८ टन प्राङ्गारिक मल र १ सय ५० सिलिन्डर बायो ग्याँस उत्पादन हुन्छ। सोही क्रममा किसानले उत्पादन गरेको दूध सङ्कलनका लागि जीवन विकास डेरी उद्योगको दूध संकलन केन्द्रको समेत उद्घाटन गरिएको थियो।

किसानहरूले सधैँ खेती लगाउने समयमा मलको समस्या भोग्दै आएको छन्। उनीहरुले झेल्नु परेको मलको समस्यालाई केही हदसम्म हल गर्ने उद्देश्यका साथ उद्योग स्थापना गरेको बताउँदै, प्लान्टका प्रमुख मण्डलले भने, ‘आधुनिक मेसिनमार्फत मल र बायो ग्याँस उत्पादन गरी बजारमा ल्याइसकेका छौँ। आजदेखि औपचारिक रुपमा बजारमा आएका हौँ। ठोस प्राङ्गारिक मल बनाएको जीवन विकासले प्राङ्गारिक झोल मल उत्पादन गर्ने तयारी गरिरहेको छ। ठोस मल उत्पादनपछि झोल मल उत्पादनका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको बताउँदै, प्रमुख मण्डलले भने, ‘झोल मलको परीक्षण भइरहेको छ। गत वर्ष धान र पटुवा बालीमा प्रयोग यसेको प्रयोग गर्दा उत्पादन राम्रो भएको थियो। झोल मल पुनः परीक्षण गर्ने र त्यसको नतिजाअनुसार बजारमा पठाउने छौँ।’

यहाँ उत्पादन भएको बायो ग्याँस विराटनगरको जीवन विकास डेरी उद्योग र दूध वाला डेरी फर्मले प्रयोग गर्दै आएका छन्। 

प्रकाशित: २७ पुस २०८० १३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App