१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

निःशुल्क दूध ढुवानीपछि गाईपालनमा किसान आकर्षित

पाल्पा – कृषकलाई  पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ ।सहकारीले कृषकको घरघरमा पुगेर दूध खरिद गर्दै आएको छ । घरघरमा दूध खरिदका लागि सहकारी पुगेपछि डुम्रे क्षेत्रका कृषक उत्साहित हुँदै विभिन्न पेसा, व्यवसाय, रोजगार छाडेर गाईपालनमा लागेका हुन् ।

कृषकको आम्दानी उकास्न र उनीहरूलाई दूध उत्पादनबाट आत्मनिर्भर बनाउने उद्देश्यले कृषकको घरदैलोमै पुगेर निःशुल्क ढुवानी खर्चमा दूध खरिद गर्दै आइरहेको सहकारीका व्यवस्थापक गोपाल जिसीले बताए ।‘कृषकले दूध उत्पादन गरे मात्र भयो, गोठदेखि बजारसम्म दूध बिक्री गर्ने जिम्मा सहकारीले लिएको छ,’ उनले भने । सहकारीमा हाल दैनिक तीन हजार लिटर जति डुम्रे आसपास क्षेत्रबाट दूध संकलन हुने गरेको जिसीको भनाइ छ । यस सहकारी संस्थामा तीसवटा व्यावसायिक पशुफार्म दर्ता भएका छन् ।

सहकारीले घरमै आएर दूध खरिद गर्न थालेपछि व्यवसाय गर्न सजिलो भएको माथागढी गाउँपालिका–२ रुप्सेका अगुवा कृषक कृष्णप्रसाद भट्टराईले जानकारी दिए । दूध बिक्री गरेर छोराछोरीलाई उच्च शिक्षा दिन, घरायसी खर्च चलाउन सजिलो भएको उनको भनाइ छ । भट्टराईको फार्ममा हाल १० वटा उन्नत जातका गाईबाट  दैनिक ८० लिटर जति दूध बिक्री  हुन्छ । एक महिनामा दूध बिक्रीबाट एक लाख रुपैयाँको हाराहारीमा आम्दानी लिँदै आएको भट्टराईले बताए ।

त्यस्तै तानसेन नगरपालिका–९ दमकडा बस्ने सुमा बन्जाडेले पनि छिमेकीले घरबाटै दूध बिक्री गरेको देखेपछि गाईपालन व्यवसाय सुरु गरेका छन् । रोजगारीको सिलसिलामा ६ वर्षसम्म विदेशमा पसिना बगाएर आएकी बन्जाडेले १० वटा गाईको दूध बिक्रीबाट एक महिनामा ४० हजार रुपैयाँसम्म आम्दानी गरेको जानकारी दिँदै उनले भनिन्, ‘विदेशबाट घर आए, गाउँमा सबै छिमेकी गाईपालनमा लागेको देंखे र दूध खरिद गर्न सहकारीले बिना ढुवानी खर्च घरघरमा पुगेको देखेपछि मैले पनि गाई पाल्न सुरु गरेको हुँ ।’

दूध बेच्नकै लागि बजारसम्म जानु नपर्ने, घरबाटै बेच्न पाइने भएपछि कृषकलाई धेरै सजिलो भएको उनको अनुभव छ । दूध बिक्रीका लागि सहज वातवरण बनेपछि डुम्रे क्षेत्रका स्थानीयवासीको आम्दानीको स्रोत नै गाईपालन व्यवसाय बनेको हो ।
 

प्रकाशित: ७ फाल्गुन २०७४ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App