काठमाडौं – स्थानीयस्तरमा उत्पादित वस्तुलाई जनतामाझ चिनाउन उपभोग बढाउन २९औं औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुने भएको छ।
‘स्वदेशी वस्तु उपयोग गरौँ, समृद्धितर्फ अगाडि बढौं’ भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा आगामी चैत ९ देखि १३ गतेसम्म काठमाडौंकोे भृकुटीमण्डपमा उक्त मेला हुन लागेको हो।
समितिका कामु सह–कार्यकारी निर्देशक सुरेन्द्र थापामगरले साना उद्योगबाट स्थानीयस्तरमा उत्पादित सामग्री प्रदर्शनीका लागि उक्त मेला आयोजना गर्न लागिएको जानकारी दिए। मेलामा गलैंचा, अल्लोका कपडा, ऊनीको धागो, मादल, नेपाली कागजबाट निर्मित वस्तु, विभिन्न किसिमका अचारका परिकार, काठबाट निर्मित वस्तु, भोजपुरे खुकुरी, पाल्पाली ढाका, पश्मिनाका कपडा लगायतका सामग्रीहरु राखिने समितिले जनाएको छ।
सह–कार्यकारी निर्देशक थापामगरले प्रत्येक जिल्लाका दुईवटाका दरले कक्ष रहने बताए । “प्रत्येक जिल्लाबाट दुईवटा कक्षलाई निःशुल्क व्यवस्था मिलाएका छौं, बाँकी कक्ष राख्न चाहेमा पैसा तिरेर राख्नुपर्ने हुन्छ,” उनले भने । समितिले हरेक वर्ष मेला गर्दै आएको छ। (रासस)
प्रकाशित: ६ फाल्गुन २०७४ ०७:४७ आइतबार