१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मुर्गहवामा होमस्टेले फर्कायाे खुसी

दशक अघिसम्म सुनसान गाउँमा एकाएक भएको परिवर्तनले गाउँले सबै मक्ख छन्। हिउँदमा होस् वा बर्खा नयाँनयाँ मानिसको आवागमनले मुर्गहवाका आठ वटा होमस्टेमा चहलपहल बढेको हो।

नयाँ मानिसको आवागमनले गाउँको चहलपहल बढाउँदा होमस्टेका सञ्चालक खुसी फर्किरहेको महसुस गरिरहेका छन्। अहिले मुर्गहवाको होमस्टे लयमा फर्कन खोजिरहेको छ। राजापुर नगरपालिका–१ स्थित मुर्गहवा गाउँमा थारु समुदायको गज्जबको होमस्टे छ।

युएसआइडीको साझेदार संस्था तयारी नेपालले सहयोग गरिरहेको होमस्टेमा आइतबार दिउँसो राजापुरका नगर प्रमुख दिपेश थारु, महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवाली, उपाध्यक्ष बसन्ती प्रधान, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र शाही होमस्टे अवलोकन गर्न पुगे।

होमस्टेका सञ्चालक मात्र होइन हरेक सदस्य उत्तिकै फुर्तिला र व्यस्त देखिन्थे। तालिमका लागि तालिम लिने गरिएको उल्लेख गर्दै आर्थिक रूपले सवल हुन होमस्टे सञ्चालन गरिएको विषयलाई नगर प्रमुख थारुले खुलेर प्रशंसा गरे।

 ‘महिलालाई सक्षम बनाउन महिला उद्यमी महासंघको साझेदारीमा नगरपालिकाले काम गर्छ’, उनले भने, ‘कर्णाली नदीको तटीय क्षेत्र र पश्चिमको पर्यटकीय गन्तव्यसँग जोडिएको यो गाउँमा थारु र सोनाहाद्वारा सञ्चालित होमस्टे प्रशंसनीय छ।’

यसैले राजापुरको मुर्गहवा गाउँको प्रसिद्धि दिनदिनै चुलिँदै गएको छ। राजापुरको मुर्गहवामा सञ्चालित होमस्टेले गति लिने विश्वास महासंघकी अध्यक्ष ज्ञवालीले व्यक्त गरिन्।

‘महिला उद्यममा लागेर आर्थिक पक्ष सवल बनाउनु पर्छ’ ज्ञवालीले भनिन्, ‘महिलालाई उद्यमतर्फ आकर्षण गरेर स्थानीय सरकारसँग जोड्ने संघको उद्देश्य हो।’

देशका विभिन्न कुनाबाट मानिस आएर पाहुना बस्ने थलोको रूपमा होमस्टेले पहिचान बनाएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको ठीक पश्चिममा रहेको मुर्गहवाको थारु गाउँमा आठ वटा घर होमस्टे सञ्चालन गर्न लायकका छन्। आठ वटा होमस्टेको घरमा नम्बरिङ गरिएको छ।

गाउँमा बनेका घर थारु परम्परागत शैलीमा बनेका छन्। कैलाली जिल्लाको टिकापुर पार्क वारिपट्टि होमस्टे सञ्चालन गरिएका घर सबै उस्तैउस्तै देखिन्छन्।

 थारु गाउँमा बनेका घरलाई लोभ लाग्दो बनाउने स्थानीयको प्रयास जारी छ। गाउँका ती घरहरूमा आफ्नो परिवार मात्र बस्दैनन्। चिटिक्क देखिने गरी बनाएका ती घरमा पाहुना पनि राखिन्छ। मुर्गहवा गाउँमा रहेको होमस्टेलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चिनाउने थारु गाउँ बनाउन सञ्चालकले मेहनत गरिरहेका छन्।

विदेशी र स्वदेशी पाहुना होमस्टेमा आएर बस्ने सञ्चालक इन्द्रादेवी चौधरीले बताइन। उनका अनुसार पाहुनाको आवागमनले समुदायको जीवनस्तर उकासिएको छ।

‘एक छाक खान र छोरा छोरी पढाउन नसक्ने गाउँमा कोही छैनन्’ उनले भनिन्, ‘सबै आफ्नो जीवन निर्वाह गर्न सक्षम भइसकेका छन्।’

थप पूर्वाधार निर्माणमा राज्यले सहयोग गर्नुपर्ने उनले बताइन्। होमस्टे सञ्चालन सँगै समुदायमा बढेको आयआर्जनले जीवनस्तर उकास्न सहयोग गरेको उनले सुनाइन।

वन, वातावरण र वन्यजन्तु संरक्षणसँगै कला र संस्कृतिको जर्गेना गर्दै जीविकोपार्जनको कार्यमा मुर्गहवाका सोनाहा र थारु समुदाय सक्रिय छन्। नजिकको कर्णालीमा डल्फिन मुभमेन्ट देखेर पाहुनाले आनन्द लिने गरेको सञ्चालकको भनाइ छ। होमस्टे सञ्चालन गरेर आर्जनमूलक कार्यक्रम सुरु गरेका स्थानीय आर्थिक रूपमा सम्पन्न हुन थालेका छन्।

आफ्नै घरमा सञ्चालन भएका होमस्टेका कारण न्यूनतम शुल्कमा पाहुनालाई राख्ने गरिएको दाबी उनले गरिन। पाहुनालाई होमस्टेले प्राथामिकता दिएर थारु परिकार खुवाउने गर्छन्। अनदिको चामलबाट बनेका परिकार, लोकल कुखुरा र पिरो चटनी पस्केर पाहुनालाई खुवाउने गरेको उनले बताए।

राजापुरमा थारु संग्रहालय

अन्नको भण्डारका रूपमा प्रसिद्धि कमाएको राजापुर नगरपालिकाले करौडौं लागतमा थारु संग्रहालय बनाउन डिपिआर तयार गसिसकेको छ। राजापुर २ ग्वारीमा बन्न थालेको थारु संग्रहालयमा जग्गाको छनोट गरी पर्खालको काम भइरहेको छ। नगर प्रमुख दिपेश थारुको पहलमा बन्न थालेको थारु संग्रहालयमा थारु समुदायको अपनत्व जोडिएको छ। 

प्रकाशित: २४ पुस २०८० ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App