६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपालकै दोस्रो लामो झोलुङ्गे पुल, कति छ लम्बाई र लागत?

नेपालको दोस्रो लामो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यो पुलको लम्बाई १ हजार ५ सय १ मिटर छ। सिराहा र धनुषाको दक्षिणी क्षेत्रलाई जोड्ने कमला नदीमा नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माण भएको हो।

सिराहा नगरपालिका–१३ मल्हनियादेखि धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठाल जोड्ने गरी कमला नदीमा करिब एक हजार ५०१ मिटर (१५००.४४ मिटर) लम्बाइको झोलुङ्गे पुल निर्माण सुरु भएको हो।

सपना–उमा–थानी जेभी बतीसपुतलीले ३४ करोड रुपैयाँमा गत असार १५ मा निर्माण कार्यको सम्झौता सस्पेन्सन ब्रिज डिभिजन ललितपुरसँग गरेको छ।

दुई वर्षभित्र अर्थात् ०८१ असार ३१ सम्म निर्माण पूरा गर्ने गरी सम्झौता गरेको निर्माण कम्पनीले माघकै दोस्रो सातासम्म निर्माण कार्य सम्पन्न गरिसक्ने भोलेन्टियर इन्जिनियर विनोद मण्डलले जानकारी दिएका छन्।

निर्माणाधीन यो एक हजार पाँच ५०१ मिटर लामो र १.४ मिटर चौडा झोलुङ्गे पुललाई देशकै सबैभन्दा लामो झोलुङ्गे पुल भनेर दाबी गरिएको छ। इन्जिनियर मण्डलका अनुसार देशभरमा यो नै सबैभन्दा लामो झोलुङ्गे पुल हो।

यो झोलुङ्गे पुलको निर्माणले सिराहा–धनुषालाई आवागमनमा मात्र जोड्दैन । आर्थिक, प्रशासनिक, सामाजिक, सांस्कृतिकलगायतका काम पनि सहज बनाउने इन्जिनियर मण्डलले बताए।

पूर्वपश्चिम राजमार्गको कमला नदीमा पक्की पुल छ। त्यसपछि करिब ४० किलोमिटर दक्षिण भारतीय सहर जयनगर क्षेत्रमा पर्ने कमला नदीमा पक्की पुल छ। मधेस प्रदेशको राजधानी जनकपुरधाममा छ। सीमावर्ती गाउँ सहरका जनतालाई प्रदेश राजधानी पुग्न भारतीय सहर जयनगर हुँदै जानुपर्ने बाध्यता छ। राजमार्ग पुग्नुभन्दा जयनगर उनीहरूका लागि छरितो र सजिलो यात्रा हुन्छ।

पक्की पुल भासिएपछि मोटरसाइकल र पैदल यात्रीका लागि भासिएकै पुलको दक्षिणतर्फ स्थानीय युवाहरूले बनाइदिएको बाँसको पुल गन्तब्य पुग्ने सेतु बनेको छ। यसै पुल भएर मोटरसाइकल र पैदल यात्री कमला नदी आरपार गर्छन्।

जयनगर र राजमार्गको बीचमा हुलाकी राजमार्ग छ। जसअन्तर्गत कमला नदीमा पुल निर्माणको काम हुँदै थियो। १२ वर्ष लगाएर निर्माण गरिएको सो पुल ०७८ असारमा कमला नदीमा आएको भेलले भासियो। यो पक्की पुल सम्झौताअनुसार २०७१ मङ्सिर ३० गते निर्माण सकिनुपर्ने थियो।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार कमला नदीमा १२ सय मिटर चौडाइका दुई बाँधका बीचमा ४ सय ७० मिटर लामो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाडौँले २४ करोड ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। ०६८ जेठ ३१ गते भएको सम्झौतामा ०७१ मङ्सिर ३० गते निर्माण पूरा गर्ने उल्लेख गरिएको थियो।

तर, दुई पटक म्याद थपेर ०७५ मङ्सिर ३० गतेसम्म समय लम्ब्याइयो। तर ठेकेदारको लापरबाहीका कारण पुल पूरा हुन नसकेपछि पुनः म्याद थपेर ०७८ असार १३ सम्म पुर्‍याइयो। र, पप्पुलाई हटाएर लुम्बिनी बिल्डर्सलाई काम सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो।

त्रुटिपूर्ण डिजाइन र गुणस्तरहीन कामका कारण कमला नदीमा आएको सामान्य भेलले भासिएको यो पुलको पुनर्निर्माणको अन्योलका बीच २०७९ फागुन १५ गते तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री एवं हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठ दलबलसहित यहाँ आएर चाँडै पुल बनिसक्ने आश्वासन दिएर फर्केका थिए। उनी फर्केपछि सुस्त गतिमा काम त सुरु भयो तर कामको निरन्तरता भएन। कामको गति हेर्दा पुल चाँडै बनिहाल्ने विश्वास स्थानीयलाई छैन।

अहिले लुम्बिनी बिल्डर्सले आफ्नै खर्चमा पुल पुनर्निर्माण गरिरहेको छ। चालु आर्थिक वर्षभित्र पुल पुनर्निर्माण सक्ने गरी काम भइरहेको हुलाकी राजमार्ग निर्देशनालय, जनकपुरको भनाइ छ। आगामी असारसम्ममा पुलको काम सम्पन्न हुने लक्ष्य लिइए पनि गति हेर्दा लक्ष्य पूरा हुने देखिँदैन, सिराहाका बुद्धिजीवी देवकुमार यादव भन्छन्,‘कमलामा पुल नबन्दा हजारौँ सर्वसाधारणको दैनिकी सास्तीले भरिएको छ।’

जोखिम मोलेर बाँसको अस्थायी पुलबाट शुल्क तिरेर जोखिमपूर्ण यात्रा गर्न सर्वसाधारणहरू बाध्य छन्। यसले यस क्षेत्रको आर्थिक समुन्नति र विकासलाई समेत थामिएको यादव बताउँछन्।

निर्माणाधीन झोलुङ्गे पुलले यस भेगका जनतामा आशाको नयाँ पालुवा पलाएको छ। मोटरसाइकल र पैदल यात्रीका लागि यो पुलले सहजता प्रदान गरे पनि ठुला सवारी साधनका लागि पक्की पुलको विकल्प छैन।

प्रकाशित: २२ पुस २०८० ०३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App