महिला उद्यमी महासंघ नेपाल (एफविन)ले भरतपुर महानगरपालिकालाई महिला उद्यमीका लागि प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएको छ। महासंघकी अध्यक्ष शोभा ज्ञवालीको नेतृत्वमा गएको टोलीले बुधबार महानगरपालिका प्रमुख रेनु दाहाललाई भेटेर यस्तो सुझाव दिएको हो।
युवाहरू रोजगारीको लागि विदेशिएको अवस्थामा स्थानीय पालिकाहरूले महिलाहरूलाई उद्यमी बन्न प्रोत्साहन हुने खालका कार्यक्रम ल्याउन सुझाव दिएको अध्यक्ष ज्ञवालीले बताइन्। उनले स्थानीय पालिकाहरूले पनि महिलालाई उद्यमी बन्न सहज हुने गरी नीति बनाउन आवश्यक रहेको बताइन्।
![](https://images.nagariknewscdn.com/photos/1704360010_1.jpg)
‘महिला उद्यमीका समस्या ठाउँ अनुसार फरक हुन्छन्। नीति तथा कार्यक्रम बनाउँदा महिला उद्यमीलाई समावेश गर्नुपर्छ,’ अध्यक्ष ज्ञवालीले भनिन्, ‘स्थानीय पालिकाहरूले महिलालाई प्रोत्साहन गर्नुपर्छ।’
उनले महिलाहरूलाई उत्पादनसँग जोडेर लैजान महानगरपालिकालाई आग्रह गरिन्। महिलाहरूको सशक्तिकरणका लागि महासंघ लागेको भन्दै यसमा राज्यले पनि सहयोग गर्नुपर्ने उनको धारणा छ।
महानगरपालिका प्रमुख दाहालले महिलाहरूलाई प्राथमकितामा राखेर भरतपुर महानगरपालिकाले काम गरेको बताएकी छिन्। उनले महानगरपालिकाको वडा नम्बर २१ र १८मा लघु औद्योगिक ग्राम स्थापना गर्न लागेको बताइन्।
महिलाहरूको क्षमता अभिवृद्धि लगायतका काममा महानगरपालिका लागेको बताउँदै उनले आगामी दिनमा आवश्यकता अनुसार सहयोग गर्ने बताइन्।
![](https://images.nagariknewscdn.com/photos/1704360027_2.jpg)
यसैबीच महिला उद्यमी संघ नेपाल चितवनको अध्यक्षमा शोयता उपाध्याय निर्वाचित भएकी छिन्। संस्थाको आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले उपाध्यायको नेतृत्वमा नौ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो।
संस्थाको प्रथम उपाध्यक्षमा बिनु लामा श्रेष्ठ, द्वितीय उपाध्यक्षमा आरती प्रधान, तृतीय उपाध्यक्षमा सदीक्षा सिग्देल सचिवमा तारा रसाइली, कोषाध्यक्षमा तिर्सना उप्रेती निर्वाचित भएकी छिन्। त्यस्तै सदस्यहरूमा बिना खरेल, डा. पुजा कोइराला, विद्या पौडेल र भावना श्रेष्ठलाई चयन गरिएको छ।
अधिवेशनलाई सम्बोधन गर्दै महिला उद्यमी महासंघकी अध्यक्ष ज्ञवालीले आर्थिक सशक्तिकरणका लागि महिलाहरू एक जुट हुन आग्रह गरिन्। महासंघमा ६६ जिल्लाबाट पाँच हजार बढी महिला आवद्ध भएको बताउँदै अप्रत्यक्ष रूपमा ५० हजार बढी महिलाको सहभागिता रहेको बताइन्।
आगामी दिनमा ग्रामीण क्षेत्रका महिलाहरूलाई उद्यमी बनाउन तालिमहरू सञ्चालन गर्ने उनले बताइन्। महासंघले हस्तकला, कृषि, पर्यटन क्षेत्रका महिलाहरूलाई तालिम प्रदान गरेको जानकारी उनले दिइन्। उनले राज्यले गर्नुपर्ने काम आफूहरूले गर्दै आएको बताइन्। ‘राष्ट्रले गर्नुपर्ने काम हामीले गरिरहेका छौं अर्थात् उद्यमीहरू तयार पारिरहेका छौं,’ उनले भनिन् ‘राज्यले नीति बनाउँदा दिदी बहिनीहरूलाई समावेश गराउनुपर्दछ।’
महासंघकै पहलमा राज्यले सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न ४१ करोड रूपैयाँ विनियोजन गरेको बताइन्। अध्यक्ष ज्ञवालीले महिला उद्यामीका लागि तालिम सञ्चालन गर्न संस्थालाई ५० हजार रूपैयाँ सहयोग पनि गरिन्।
![](https://images.nagariknewscdn.com/photos/1704360050_3.jpg)
महिला उद्यमी महासंघकी तृतीय उपाध्यक्ष बासमती प्रधानले अन्य महिलाहरूलाई पनि उद्यमी बनाउनुपर्ने बताएकी छिन्।
महिलालाई समावेश गरेर सरकारले छुट्टै योजना बनाउनुपर्ने धारणा समेत राखिन्। सरकारसँग आफ्नो अस्तित्व देखाउन सञ्जालको आवश्यकता रहेको भन्दै उनले महिला उद्यमीको सञ्जाल विस्तार गर्न आवश्यक रहेको बताइन्।
भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख शान्ता पौडेलले महिला दिदी बहिनीहरूले गरेको काम देखेर खुसी लागेको बताइन्। महिलाहरूलाई उद्यमी बनाउन कठिन रहेको बताइन्।
‘भरतपुर महानगरपालिकाले विपन्न महिलाहरूलाई उद्यमी बनाउन खोजेको छ तर उनीहरूलाई उद्यमी बनाउन कठिन छ किनभने उनीहरूलाई दैनिक गुजरा चलाउनै समस्या हुन्छ,’ उनले भनिन् ‘ग्रामीण क्षेत्रका महिलाहरूलाई सशक्तिकरण गर्न जरुरी छ।’
प्रकाशित: १९ पुस २०८० ०३:५२ बिहीबार