२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

एक्लै पदयात्रा जाँदा जोखिम, अझै भेटिएनन् स्वीडेनका पर्यटक

मर्दी हिमाल पदयात्रा। फाइल तस्बिरः नागरिक

मर्दी हिमाल क्षेत्रको पदयात्रामा निस्केका स्वीडेनका एकजना नागरिक पाँचदिनदेखि सम्पर्कविहीन छन्। मर्दी हिमाल आधारशिविर उक्लने गरि एकाबिहानै होटलबाट निस्केका स्वीडेनका २० वर्षिय माइकेल लीउ ब्लमबर्ग त्यसपछि कतैपनि सम्पर्कमा आएका छैनन्।

होटलमा सामान राखेर निस्केका ती पर्यटक नफर्केको प्रहरीले बताएको छ। हराएका पर्यटकको खोजीमा जुटेपनि अहिलेसम्म कतै फेला नपरेको प्रहरीले बताएको छ। सम्पर्कविहीन पर्यटकको खोजीमा प्रहरी, स्थानीय होटल व्यावसायी र गाउँपालिकाका पदाधिकारी जुटेका छन। एक्लै पदयात्रामा गएकोले उनी जटिल समस्यामा परेको हुनसक्ने व्यावसायीको चिन्ता छ।  

कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकका अनुसार मर्दी हाईक्याम्पबाट आधारशिविरतर्फ उक्लेका स्वीडेनका माइकेल लीउ ब्लमबर्ग त्यसपछि होटल फर्केका छैनन। ‘होटलमा बास बसेका माइकेल आधारशिविर जाने भनेर बिहानै निस्केका रहेछन्। तर, फर्केका छैनन, अहिलेसम्म अत्तोपत्तो छैन,’ डिएसपी बिकले भने, ‘खोजीका लागि प्रहरी सहित स्थानीय जुटेका छन् । तरपनि कुनै संकेत फेला परेको छैन।’

मर्दीको हाईक्याम्पस्थित होटल म्याजिक माउन्टेनमा डिसेम्बर २९ (गत शुक्रबार) का दिन बिहान ११ बजेतिर पुगेका माइकेल दिनभर होटलमै थिए। भोलिपल्ट शनिबार बेसक्याम्प जाने भनेर उनी बिहानै ४ बजे नै होटलबाट एक्लै निस्केका थिए। होटलमा झोला राखेर निस्केका उनी त्यहीदिन हाइक्याम्प ओर्लेर पोखरा फर्किने तयारीमा थिए। तर, माथि उक्लेका ती पर्यटक त्यसपछि नफर्केको होटलका संचालक बुद्धि तामाङले बताए।

‘अन्नपूर्ण क्षेत्रको पोथाना, लान्द्रुक, फरेस्टक्याम्प हुँदै उनी मर्दी पदयात्रामा आएका रहेछन। तर, बेसक्याम्प गएपछि फर्केर आएनन,’ तामाङले भने, ‘दिनभर नफर्केपछि उनको खोजीमा प्रहरी र होटल व्यावसायी तथा स्थानीय जुटेका छन्। तर, अहिलेसम्म फेला परेका छैनन।’ उनका अनुसार बास बसेको होटलबाट बेसक्याम्प उक्लिन झन्डै ४ घन्टा लाग्छ । बेसक्याम्प पुगेर फर्केर होटलमै आउने भनेपनि नआएपछि खोजी सुरु गरिएको उनले बताए। ‘बेसक्याम्प जाने बाटो केही अप्ठेरो पनि छ । कतै समस्यामा पो परे की भनेर खोजी रहेका छौं,’ उनले भने।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख रवी कडरियाका अनुसार मर्दी जानुअघि ती पर्यटक मनास्लु क्षेत्रको पदयात्रा पुरा गरेर मनाङको धारापानी निस्केका थिए। डिसेम्बर १९ मा मनाङको धारापानी ओर्लेका उनी थोराङला भञ्ज्याङ पार गरेर मुस्ताङ हुँदै डिसेम्बर २६ मा म्याग्दीको घारखोला निस्केका थिए। घारखोलाबाट उनी पुनहिलतिर लागेका थिए। पुनहिलतर्पm सोझिएका ती पर्यटक सिधैं मर्दीतिर लागेका थिए।  

‘एक्यापको रेकर्डमा डिसेम्बर २६ पछि उनको सम्पर्क छैन। कुनैपनि चेकपोष्टमा उनको रेकर्ड छैन,’ कडरियाले भने, ‘तर, एकैपटक डिसेम्बर २९ मा मर्दी गएको थाहा भएको छ। मर्दी गएको भोलिपल्ट बेसक्याम्प जाने क्रममा सम्पर्कविहीन भएको जानकारी पाएका छौं।’ एक्यापले विभिन्न चेकपोष्टमार्फत पाहुना भित्रिएको र बाहिरिएको रेकर्ड राख्ने गर्छ। तर, ती पर्यटक बाहिरिएको रेकर्ड अहिलेसम्म कतै फेला नपरेको उनले बताए।  

उनका अनुसार ती पर्यटक मनास्लु क्षेत्रमा एक्लै पदयात्रामा गएका थिए। तर, धारापानी झरेपछि आफैले लगेको गाइडलाई फिर्ता पठाएर अर्का एकजना विदेशीसँग थोराङला भञ्ज्याङ पार गरेर मुस्ताङ ओर्लेका थिए। ‘म्याग्दीको घारखोलाबाट भने एक्लै पदयात्रामा गएको पुष्टि भएको छ। उनीसँग मुस्ताङ ओर्लेका विदेशी पनि साथमा थिएनन। मर्दी पनि एक्लै पुगेका रहेछन,’ उनले भने, ‘मर्दीबाट बेसक्याम्पका लागि पनि एक्लै जाँदा समस्यामा परेको सम्भावना छ। डिसेम्बर ३० को बिहानसम्म सम्म उनी सुरक्षित रहेपनि त्यसपछिको अवस्था पत्ता लागेको छैन।’

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेश अध्यक्ष धर्मराज पन्थीले एक्लै पदयात्रामा जान नपाइने नियममा कडाई नहुँदा पदयात्रामा गएका पर्यटक समस्यामा परेको बताए। एक्यापले आफ्नो संरक्षित क्षेत्रभित्र जाँदा प्रवेश अनुमति लिएको छ वा छैन भनेर मात्र हेर्ने भएपनि साथमा गाइड भए नभएको नर्हेने उनले बताए। ‘सम्पर्कविहीन भएका पर्यटकको खोजीका लागि हामी पनि सक्रिय छौं,’ पन्थीले भने।  

प्रकाशित: १८ पुस २०८० ०९:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App