१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल र भारतबीच भोलि १० हजार मेगावाट विद्यूत व्यापार सम्झौता हुने

नेपाल र भारतका परराष्ट्रमन्त्रीको रोहबरमा १० हजार मेगावाट विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने भएको छ।

उच्च स्रोतका अनुसार भारतका ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलबीच भोलि सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।

भोलि प्रसारण लाइन र ऊर्जा सम्झौताको तयारी स्वरूप नेपाल भारतका ऊर्जा मन्त्रालयका सह–सचिव स्तरीय बैठक आज काठमाडौँमा हुँदैछ। सबै सम्झौता ‘प्याकेज’मा हुने भएको बताइएको छ। बैठकमा इनर्जि बैंक बनाउनबारे सहमतिको प्रयास पनि गरिने छ। सहसचिव स्तरमा सहमति भयो भने यो एजेन्डालाई पुस २०–२१ मा चितवनमा हुने ऊर्जा मन्त्रालयका सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकमा अन्तिम रूप दिइने छ।

भारतीय विदेश मन्त्री एस जयशंकर भने भोलि बिहान नेपाल आउँदैछन्। उनीसँगै विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरू पनि आउँदै छन्।

भारतीय वायुसेनाको विशेष विमानबाट विदेश मन्त्री जयशंकर सहितको टोली भोलि बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने छन्।

विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूतले स्वागत गर्ने कार्यक्रम  छ। परराष्ट्र मन्त्री एनपी साउदसँग भेटघाट सँगै नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुने छन्।

राष्ट्रपति, प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको छ।

परराष्ट्र मन्त्रालयले आयोजना गरेको रात्रि भोजमा संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग सामूहिक भेटघाट हुनेछ।

प्रकाशित: १८ पुस २०८० ०६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App