९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

बास्ना गुमाउँदै पोखरेली ‘जेठोबुढो’

‘खेतका फाँटहरूमा धानको बाला लाग्न थालेपछि मगमग बास्ना आउँथ्यो, घरमा भात पकाउँदा बाहिरसम्म बसाउँथ्यो तर अहिले खै कता हरायो जेठोबुढोको बास्ना ?’ पोखरा महानगरपालिका- २३ घाँटीछिनाका ५३ वर्षीय लोकबहादुर गुरुङले भन्छन्, ‘एउटा घरमा जेठोबुढो पकाउँदा टोलमै मगमग बास्ना आउँथ्यो।

पहिला गाईवस्तुकै मलले खेतीपाती लगाउन पुग्थ्यो, तर अहिले बाहिरबाट रासायनिक मल भन्दै थुप्रै किसिमका मल आए। अहिले खेती गर्दा कमिला मार्ने औषधि, पोटास के हो के हाल्नुपर्छ सबै विषाक्तको प्रयोगले माटो नै मरिसक्यो। अनि मौलिक स्वाद कहाँ पाउनु ?’

कृषि सञ्जालका संयोजकसमेत रहेका गुरुङले जेठोबुढोको बास्ना हराउनुमा वातावरण प्रतिकूलको असर, रासायनिक मलको प्रभाव र उन्नत जात (हाइब्रिड) धानको बीउ नै प्रमुख कारण भएको बताउँछन्। ‘तत्कालीन समयमा किसानलाई रैथाने स्वाद र बास्नाभन्दा धेरै फल्ने धानको बीउ अनुदानमा दिइयो।

रासायनिक मल प्रयोग गर्न प्रेरित गरियो, किसान उत्पादन बढेकामा खुसी माने तर यता बास्नादार रैथाने जातका धानको बीउ मासिँदै गयो,’ उनी भन्छन्। विषादीको प्रयोग बढे धानमात्र नभई स्थानीय तरकारी, फलफूलमा पनि उस्तै असर परेको उनको भनाइ छ।

‘किसानलाई सबैकुरा जानकारी नहुने भएकाले कृषि विज्ञहरूले यसको महत्व बुझाएर रैथाने बाली प्रवद्र्धनका कार्यक्रम ल्याउनु पथ्र्यो तर त्यो भएन,’ गुरुङले भने, ‘बुझाउनेहरूले राम्रोसँग बुझाएनन्, उत्पादन बढ्छ भन्ने बहानामा उन्नत जातको धानको बीउ प्रयोग गर्न लगाउँदा र अनेक विषादीको प्रयोग गर्न सिकाउँदा रैथाने बालीहरू लोप हुँदै गए, योसँगै पहिले गुर्दी गुरुडा, ठिमाहालगायत धानहरू पनि विस्थापित हुँदै गए।’

अहिले महानगर, जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) जस्ता संस्थाले रैथाने बाली प्रवद्र्धनको कार्यक्रम ल्याएर केही प्रवद्र्धनको पहल गरेको उनको भनाइ छ।

पोखरा- १३ का किसान टेकनाथ बराल पनि प्रतिकूल वातावरण, रासायनिक मलको प्रयोग साथै मूलको पानीको अभावले जेठोबुढो धानको बास्ना हराउँदै गएको बताउँछन्। ‘पहिला मूलको चिसो पानीबाट सिँचाइ हुन्थ्यो, गाईवस्तुको मलले नै खेती लगाउन पुग्थ्यो तर अहिले वातावरण बदलिएको छ, धानका बीउ पनि मासिन थाले, धेरै फल्ने धान लगाउन थाले,’ बरालले भने। उनले आफूले जेठोबुढो प्रवद्र्धनका लागि लिबर्डको सहयोगमा सुधारिएको जेठोबुढो बीउ उत्पादन र बिक्री वितरण गरिरहेको बताए।  

जेठोबुढोको मागलाई ध्यानमा राखेर स्थानीय धानका जात संरक्षणमा जुटेको लि-बर्डले यो धान संरक्षणमा अगुवाइ गरेको सो संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत इन्द्रप्रसाद पौडेल बताउँछन्। ‘पोखरा आउने पाहुनादेखि देश–विदेशमा समेत माग हुँदै आएको स्वादिलो जेठोबुढोको भातको बास्ना पहिलाजस्तो नभए पनि यो धानलाई लोप हुनबाट जोगाउन केही पहल भने भएका छन्,’ उनी भन्छन्। 

पौडेलका अनुसार पोखरा आसपासका विभिन्न फाँटमा किसानले लगाएको जेठोबुढो धानमा एकरूपता थिएन। के कारणले विविधता आयो भन्ने विषयमा नेपाल कृषि अनुसन्धान परिषद् र लि–बर्डले तत्कालीन जिल्ला कृषि विकास कार्यालय मिलेर सातवटा फाँटबाट तीन सय ३८ वटा किसानबाट जेठोबुढो धानको नम्ना  

सङ्कलन गरेर लगातार परीक्षण गरेको थियो। परीक्षणपछि सन् २००६ मा सुधारिएको पोखरेली जेठोबुढो नामाकरण गरियो। राष्ट्रियस्तरबाट सूचीकृत नभए बिक्री गर्न नपाइने भएकाले सूचीकृतपश्चात् यसको प्रवद्र्धनमा अझ बढी चासो दिइएको उनको भनाइ छ।  

किसानको अनुभवमा बगिरहने चिसो पानीमा यसको गुणस्तर उच्च हुने भएको र पोखरा फेवाफाँटको जस्तो उत्पादन अन्तको फाँटमा नहुने उनको बुझाइ छ। पछिल्लो समय उन्नत जातले पेल्दै जाँदा र खेतीयोग्य जमिनमा चक्लाबन्दी हुन थालेपछि पनि यसको गुणस्तर ह्रास आएको उनी बताउँछन्।  

लि–वर्डले जेठोबुढो स्रोत बीउ जिम्मेवारी लिएको छ। कृषि ज्ञान केन्द्र र पोखरा महानगरपालिकाले सिफारिस गरेका किसानलाई बीउ उत्पादनका लागि दिँदै यसको संरक्षण र उत्पादनमा पहल गरिरहेको उहाँको भनाइ छ।

उहाँका अनुसार गत वर्ष एक हजारदेखि १५ केजी बीउको बिक्रीवितरण हुने गरेको थियो। उत्पादनका हिसाबले कम फले पनि प्रतिक्विन्टल रु नौदेखि १० हजारमा बिक्रीवितरण हुने भएकाले किसानको चाहना अझै पनि जेठोबुढोमा रहेको छ।  

महानगरपालिकाले जेठोबुढो धानको प्रवद्र्धनका कार्यक्रम ल्याएकाले यसको बास्ना हराए पनि लोप हुनबाट जोगाउने पहल भइरहेको बताउँदै पौडेल भन्छन्, ‘यस धानका बारेमा अनुसन्धान गरेर अझै कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान जारी नै रहेको छ।’

पोखरा महानगरपालिकाले सुधारिएको पोखरेली जेठोबुढो पुरानो रैथाने जातको धानको २०६३ सालमा नेपाल सरकारले सूचीकृत ग¥यो। सुरुआततिर जेठोबुढो मात्रै भनेर भनिए पनि अहिले यो जातको धानलाई पोखरेली जेठोबुढोको भनेर चिनिन्छ।  

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरिया पनि मगमग बास्ना आउने, लामो सिता भएको र खाँदा नरम हुने जेठोबुढोको विभिन्न कारणले बास्ना हराउँदै गएको बताउँछन्। पौडेल भन्छन्, ‘यो धानको पहिला बास्ना धेरै आउने गथ्र्यो, कम फले पनि मीठो बास्नासहित स्वादिलो थियो तर अहिले खेती गर्ने तौरतरिकामा फेरबदल, आयातित मलको प्रयोग, सिँचाइको अभावले यसको रैथाने स्वादमा प्रभाव पा¥यो।’

कडरियाका अनुसार जेठोबुढोमा एकरूपता नहुँदा तीन सबभन्दा बढी जातबाट छनोट गरेर छवटा जातलाई सम्मिश्रण गरेर एउटा जात बनाइएको थियो। यसभित्र बास्ना आउने, कम बास्ना आउने, उत्पादन बढी हुने र घटी हुने, कोही अग्लो, कोही होचो, कोही रोग पनि सहन सक्ने सबै पर्दछन्। 

चिसो पानीमा कहीँकतै अझै पनि बास्नादार जेठोबुढो फल्ने गरेको उनको भनाइ छ। उनले जेठोबुढोको महानगरपालिकाले ‘ब्रान्डिङ’ गरेर न्यूनतम समर्थन मूल्य तोकेपछि यसको महत्व झनै बढेको र अहिले पनि प्याकेजिङ र प्रशोधनमा सहयोग गर्न भनेर कार्यक्रम राखेको बताए।  

अहिले ११ हजार दुई सय हेक्टरमध्ये ४० प्रतिशत जमिनमा जेठोबुढो लगाउने गरिएको पाइन्छ। पोखरामा करिब १५ मेट्रिक टन जेठोबुढो उत्पादन हुँदै आएको छ। ६ सयदेखि नौ सय मिटरसम्मको उचाइमा खेती हुने यो धान प्रतिरोपनी तीन मुरीसम्म फल्ने गर्छ। पोखरा र आसपासका किसानले परापूर्वदेखि लगाउँदै आएको यो धानमा व्यापक अनुसन्धानको खाँचो रहेको कडरिया बताउँछन्।

प्रकाशित: १८ पुस २०८० ०२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App