१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

११ करोडको सेयर लिन ५० करोड जम्मा

इलामको सन्दकपुर गाउँपालिकामा सञ्चालित अप्पर माई जलविद्युत् आयोजनाको पावर हाउस । तस्बिर : भीम- नागरिक

इलाम – अप्पर माई जलविद्युत् आयोजनाको ११ करोडको सेयर लिन प्रभावित क्षेत्रका बासिन्दाले बैंकमा ५० करोड रुपैयाँभन्दा बढी जम्मा गरेका छन् । आयोजनाको प्रवद्र्धक पञ्चकन्या माई हाइड्रो पावर लिमिटेडले आह्वान गरेको सेयरका लागि सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाबाट यो रकम जम्मा भएको हो ।

लिमिटेडका कार्यकारी निर्देशक सन्तोष प्रधानले आयोजनास्थल सन्दकपुर गाउँपालिकाका बासिन्दाले १७ करोड र इलाम नगरपालिका बासिन्दाले बाँकी रकम सेयरका लागि जम्मा गरेको बताए । उनका अनुसार सेयरका लागि प्रभावित क्षेत्रका बासिन्दाले बैंकमा जम्मा गरेको यो अनुमानित रकम हो । ‘कतिपयको चेक अझै क्लियर हुन बाँकी हुनसक्छ,’ उनले भने, ‘मोटामोटी हिसाब गर्दा यो रकम जम्मा भएको देखिन्छ ।’ तर, सन्दकपुर गाउँपालिकाका बासिन्दाले पनि इलाम नगरपालिकामा रहेका बैंकबाट सेयर फाराम भरेका छन् ।

सन्दकपुर गाउँपालिकाको माबु गाउँ आयोजनाको निर्माणस्थल हो भने इलाम नगरपालिका प्रशारण लाइन विस्तार गरिएको प्रभावित क्षेत्र । दुवै क्षेत्रका १५ हजार हाराहारी स्थानीयले सेयरका लागि आवेदन दिएको उनले बताए । ‘आवेदन दिनेमा पनि इलाम नपा र सन्दकपुरका बासिन्दाको संख्या आधा–आधा नै छ,’ प्रधानले भने । प्रतिव्यक्ति कतिदेखि कति रुपैयाँसम्म जम्मा भयो भन्ने जानकारी नभए पनि करिब १ महिनामा सम्बन्धित व्यक्तिले पाउने सेयर संख्या टुंगो लाग्ने उनले बताए ।

प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल धितोपत्र बोर्डले परेका आवेदनमध्ये सबैलाई दामासाहीले सेयर वितरण गर्ने भएको छ । सुरुमा कुनै आवेदकलाई नछुटाइ समानुपातिक ढंगले सेयर वितरण गर्ने सूचना बोर्डले दिएको उनले बताए । ‘सुरुमा सबैलाई पुग्नेगरी सेयर वितरण गर्ने र त्यसपछि मात्र जम्मा भएको रकमअनुसार सेयर संख्या थप्दै जाने जानकारी हामीलाई बोर्डले दिएको छ,’ उनले भने, ‘त्यसो गर्दा छुट्न चाहिँ कोही छुट्दैन, कसको कति पर्छ भने चाहिँ पछि मात्रै थाहा हुन्छ ।’

पञ्चकन्याले गत ५ देखि २३ गतेसम्म म्याद राखेर ११ लाख कित्ता सेयर निष्कासन गरेको थियो । प्रालिले आयोजना रहेको स्थल सन्दकपुर गाउँपालिकाबासीका लागि ६० प्रतिशत र ट्रान्समिसन लाइन रहेको इलाम नगरपालिकाबासीका लागि ४० प्रतिशत सेयर जारी गरेको थियो । प्रालिका अनुसार सन्दकपुर गाउँपालिकाका बासिन्दाका लागि ६ लाख ६० हजार र इलाम नगरपालिकाबासीका लागि ४ लाख ४० हजार कित्ता सेयर निष्कासन गरिएको हो । ¬

एकजनाले २० देखि अधिकतम् ५ हजार ५ सय कित्तासम्म सेयर खरिद गर्न सक्ने प्रावधान थियो । अहिले आयोजनाको अतिप्रभावित र प्रभावित क्षेत्रका लागि मात्रै सेयर खुलेको हो । आवेदकले प्रालिको माबुस्थित कार्यालय, सन्दकपुर गाउँपालिकाको कार्यालय, इलामस्थित प्रभु बैंक र नबिल बैंक मार्फत् आवेदन फाराम भरेका छन् । केही समयपछि सर्वसाधारणका लागि पनि ११ लाख कित्ता सेयर जारी गरिने प्रधानले बताए ।

१ अर्ब ९५ करोड अधिकृत पुँजी रहेको कम्पनीले प्रतिसेयर सय रुपैयाँले १ करोड ९५ लाख कित्तामा साधारण सेयर विभाजन गरेको छ । १ अर्ब १० करोडको जारी पुँजीबाट १ करोड १० लाख र ८८ करोड चुक्ता पुँजीको ८८ लाख कित्ता साधारण सेयर विभाजन गरिएको छ । ‘आयोजना प्रभावित र सर्वसाधारणका लागि १०–१० प्रतिशत तथा संस्थापक सेयर सदस्यका लागि ८० प्रतिशत सेयरको बाँडफाँट गरिएको छ,’ प्रधानले भने । १२ मेगावाटको अप्पर माई २०७३ असार ९ र ६.२ मेगावाटको माथिल्लो माई सी आयोजना ०७४ साउन ९ देखि सञ्चालनमा छन् ।

 

प्रकाशित: २६ माघ २०७४ ०५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App