१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

तीन वर्षमा २० वटा तारे होटल थपिए

फाइल तस्वीर

पछिल्ला तीन वर्षमा मुलुकमा चार वटा पाँच तारे र १६ वटा चार तारे होटल सञ्चालनमा आएका छन्।

पर्यटन विभागको तथ्याङ्क अनुसार २०७८ साल यता बिर्तामोडको होटल द किङ्सबरी, तहाचलको हायात प्लेस, सिमराको इच्छा होटल र लाजिम्पाटको होटल ल्हासा इन्टरनेसनल गरी चारवटा पाँचतारे होटल सञ्चालनमा आएका छन्।

 मुलुकको पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान गर्न सक्ने पाँच तारे होटलमा अर्बौं लगानी गरिएको छ।

विभागको तथ्यांक अनुसार बिर्तामोडको होटल द किङ्सबरीको कुल लागत पुँजी दुई अर्ब रहेको छ। ८२ कोठा र १०० बेड रहेको यस होटलका सञ्चालक प्रकाश गोतामे हुन्।

यस्तै तहाचलको हायात प्लेसको कुल लागत दुई अर्ब ८० करोड रहेको छ। १५३ कोठा र ३०६ बेड रहेको यस होटलका सञ्चालक शक्तिकुमार गोल्यान हुन्।

सिमराको इच्छा होटलको कुल लगानी दुई अर्ब ८० करोड रहेको छ। ८९ कोठा र सय बेड क्षमताको यस होटलका मुख्य सञ्चालक एवम् सेयरधनी शक्तिकुमार गोल्यान नै हुन्।

लाजिम्पाटस्थित होटल ल्हासा इन्टरनेसनलको कुल लागत पनि दुई अर्ब ८० करोड रहेको छ। १७७ बेड क्षमता र १०७ कोठा रहेको होटल ल्हासा इन्टरनेसनलको मुख्य सञ्चालक तथा सेयरधनी दोर्जे ग्याल्छेन लामा रहेका छन्।

कोभिड महामारी मत्थर भएसँगै मुलुकमा तारे होटलहरू खुल्न थालेका छन्। मुलुकमा विदेशी पर्यटकको आगमन र गतिविधि क्रमिक रूपले बढेसँगै तारे होटल निमार्णमा लागानी थपिँदै गएको छ।

पछिल्लो समय काठमाडौंमा मात्र नभएर काठमाडौ बाहिर पनि धमाधम तारे होटलहरू सञ्चालन तथा निर्माण भइरहेका छन्।

पर्यटन विभागको तथ्यांक अनुसार २०७८ साल यता १६ वटा चार तारे होटल सञ्चालनमा आएका छन्। नेपालगञ्जको होटल स्टारलाइट र कल्पतरू होटल, भैरहवाको मौर्य होटल, पोखराको होटल माउन्ट कैलाश, बाँकेको होटल सिटी प्यालेस, चितवनको होटल सिराइचुली, वीरगञ्जको हिमाल वाटर पार्क एन्ड भिलेज र होटल दियालो, पोखराको हेरिटेज होटल, मोरङको बिग होटल र रत्ना होटल, काठमाडौंको ठमेल प्लाजा होटल, नवलपरासीको होटल ओरियन, रूपन्देहीको एसियन होटल, सिन्धुपाल्चोकको होटल भोटेकोसी र पोखराको रोम रेजेन्सी होटल पछिल्लो तीन वर्ष यता सञ्चालनमा आएका चार तारे होटलहरू हुन्।

यी तथ्यांक हेर्दा पछिल्लो तीन वर्षमा देशमा थपिएका१६ वटा चार तारे होटलहरूमध्ये एउटा मात्र काठमाडौंमा सञ्चालन भएको छ। बाँकी १५ वटा चार तारे होटलहरूसबै काठमाडौं बाहिर सञ्चालनमा आएका छन्।

करोडौंको लागानीमा निर्माण भएका चार तारे होटलहरूको उल्लेख्य वृद्धिले पनि होटल व्यवसाय देशैभर बिस्तार भएको देखिन्छ। द्रुत गतिमा भएको आर्थिक विकासको उपज नै पछिल्लो समय होटलहरूको उल्लेख्य वृद्धि भएको होटल एसोसियसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले बताए।

उनले दुई विशाल मुलुकहरू बीचमा रहेको नेपाल पर्यटनको लागि राम्रो सम्भावना बोकेको मुलुक भएको बताउँदै भने, ‘चीनबाट १० करोड र भारतबाट २० करोड पर्यटक विश्वव्यापी रूपमा घुम्ने गर्छन्। हाम्रो मुलुक बीचमा भएका कारण हामी कहीं न कहीं यसबाट जोडिन सक्छौं। भविष्यमा दुबै देशबाट हाम्रो पर्यटनको लागि अनेक सम्भावना देखिन्छ।’

उनले थपे, ‘पर्यटन प्रबद्र्धन र विकासको सम्भावना प्रशस्त छ तर पर्यटकको आवागमनका लागि हवाई कनेक्टिभिटी र बाटोहरू सरल र सहज बनाउनुपर्छ।’

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले पनि होटल व्यवसायमा उत्साह थपिएको कारण पनि होटलहरू उल्लेख्य रूपमा सञ्चालनमा आएको अध्यक्ष शाहको धारणा छ।

थप दुई अन्तर्राष्ट्रिय विमानस्थलले मुलुकमा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा राखेर लगानीकर्ताले धमाधम होटल व्यवसायमा लगानी गरिरहेको उनले बताए।

सामान्य होटलमा भौतिक सेवा तथा सुविधा, गुणस्तरीय खाना, सफा कोठा, पार्किङ क्षमतालगायत अन्य सुविधा हुनुपर्ने मापदण्ड छ। यस्तै चारतारे र सोभन्दा माथ्लो स्तरको होटलमा भने मौलिक नेपाली खानाका लागि छुट्टै रेस्टुरेन्टसहित विभिन्न देशका खानाको स्वाद दिनुपर्छ। साथै चारतारे भन्दा माथिल्ला स्तरका होटलमा अनिवार्य स्विमिङ पुल अन्तर्राष्ट्रिय स्तरको ब्युटी सैलुन र सवारी साधन पार्किङको क्षमता तोकिएको छ।

काठमाडौं उपत्यकाभित्र एकतारेमा २० वटा, दुईतारेमा ४०, तीनतारेमा ६०, चारतारेमा ८०, पाँचतारेमा सय वटा र पाँचतारे डिलक्स होटलमा एक सय पचास वटा कोठा हुनुपर्ने प्रावधान छ। 

प्रकाशित: १५ पुस २०८० ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App