३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

ग्रामीण महिलालाई उद्यमी बनाउन संघ गठन

ग्रामीण क्षेत्रका महिलाहरुलाई आर्थिक रूपमा सशक्त बनाउन तथा उद्यमतर्फ आकर्षित गराउन महिला उद्यमी महासंघ नेपालले जुम्लामा आफ्नो संघ गठन गरेको छ।

महिलालाई उद्यम सिकाउने र उद्यमी बनाउने लक्ष्य लिएको महासंघले जुम्लामा संघ गठन सहित चार दिने उद्यमी सम्बन्धी तालिमको आयोजना गरेको हो। 

महिला उद्यमी महासंघ नेपालका केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले राज्यको अर्थतन्त्रमा महिलाको सहभागिता महत्त्वपूर्ण रहेको बताइन्। ‘महासंघको उद्देश्य देशभरिका महिलालाई आर्थिक रूपमा सशक्त बनाउनु हो।’ उनले भनिन्।

सधैंजसो चुलो चौकामा सीमित हुने महिलालाई उद्यमी बनाउनुपर्नेमा उनले जोड दिइन्। ‘अर्थतन्त्रका महत्त्वपूर्ण आधार कृषि, उद्योग व्यवसाय, पर्यटन, पेसागत र वैदेशिक रोजगार जस्ता क्षेत्रमा महिलाको सहभागिता बढिरहेको छ। यो सकारात्मक पक्ष हो।’ अध्यक्ष ज्ञवालीले भनिन्।

अध्यक्ष ज्ञवालीको अध्यक्षता तथा जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर राजु सिंह कठायतको प्रमुख आतिथ्यतामा महासंघले संघ बिस्तार गरेको हो।

अध्यक्ष ज्ञवालीले सबै जिल्लाहरुमा महिला उद्यमी संघ गठन गरिने बताइन्। ‘बिस्तारको क्रम जारी छ। महासंघमा हाल प्रत्यक्ष रूपमा ५ हजार २ सय ५० बढी लघु उद्यमी महिला आबद्ध छन् भने अप्रत्यक्ष रूपमा ५० हजारभन्दा बढी छन्।’ उनले भनिन् ‘यो साना तथा मझौला व्यवसायीको छाता संगठन हो।’

महिलाद्वारा उत्पादित सामाग्रीहरुको विक्री वितरणमा महासंघले सहजीकरण गर्ने उनले जनाइन्। व्यापार व्यवसाय प्रवर्द्धनमा स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहने पनि उनले स्मरण गराइन्।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथि तथा चन्दननाथ नगरपालिका जुम्लाका मेयर राजु सिंह कठायतले स्थानीय सरकारले पहिले देखि गर्दै आएको कामलाई महासंघले पूर्णता दिने कामको थालनी गरेको प्रति कृतज्ञता व्यक्त गरे। उनले आगामी दिनमा स्थानीय तहबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए।

सहभागी महिला सुस्मिता खत्रीले चार दिने उद्यमी तालिमले राहत मिलेको सुनाइन्। तालिम महिला उद्यमीका लागि मार्गदर्शकको रुपमा रहेको उनेका भनाइ थियो।

तालिमले जुम्लाको फापर, सिमी, आलु स्याउ, कोदो, चिनो कागुनो लगायतका रैथाने बालिका परिकार बनाउन मद्दत पुगे बताइएको छ। कार्यक्रममा उत्पादित बस्तुको डिजिटल प्रविधिबाट बजारीकरण लेभकिङ्गि प्याकेजिङ्ग बारेमा सिकाइको थियो।

अध्यक्ष ज्ञवालीका अनुसार आर्थिक विकासको लागि उद्यमी एकदमै आवश्यक छ। उनले उद्यम–व्यवसायले आफूलाई आत्मनिर्भर मात्र बनाउँदैन, मुलुककै अर्थतन्त्रलाई समेत टेवा दिन सक्छ भन्ने सोच धेरै महिलामा पाइन थालेको सुनाइन्। 

अब उद्यम–व्यवसायमा जागरूक महिलालाई परिवार, समाज र सरकारका तर्फबाट निरन्तर प्रोत्साहन भने हुनुपर्नेको उनले जोड दिइन्।

प्रकाशित: १२ पुस २०८० १४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App