२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

स्थानीयले बन्द गराए ‘सुपरमाई हाइड्रो’ को उत्पादन

इलामको माइखोलास्थित सुपरमाई जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ। माइजोगमाई गाउँपालिका–५, सोयाङ र इलाम नगरपालिका–२, सुम्बेकबीचको माइखोलामा निर्मित आयोजनाले आफूहरूका माग पूरा नगरेको भन्दै स्थानीयले उत्पादन अवरोध गरेका हुन्।

प्रभावित क्षेत्र माइजोगमाई–५ का बासिन्दाले गयराति ११ बजेदेखि आयोजनाको उत्पादन बन्द गराएको स्थानीय सुमन बेघा लिम्बूले जानकारी दिए। उनीहरूले आयोजनाको पावर हाउसको गेटमै तालाबन्दी गरेका छन्। आयोजनाले पूर्वसहमति पालना नगरेको र पटक–पटक कुरा गर्दा पनि माग पूरा नभएको बेघाले बताए।

सिम्ले हुँदै अल्लेखोल्सी–साठीमुरे–प्याङ सडकमा ३० घन्टा एक्स्काभेटर लगाइदिने सहमति पालना हुनुपर्ने र यो सडकमा ३० वर्षसम्मै मर्मतमा सहयोग गर्नुपर्ने, पूर्णज्योति आधारभूत विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुपर्ने र आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको रिपोर्ट सार्वजनिक गर्नुपर्ने उनीहरूका माग छन्।

माइखोलामा सेभेन साइटको फुटबल मैदान निर्माणमा आयोजनाले एक्स्काभेटर लगाइदिनुपर्ने र खोलामा सरकारसँगको सम्झौताअनुसारको पानी छाड्नुपर्ने माग आफूहरूको रहेको बेघाले बताए। ‘माग पूरा नभएसम्म हामी आयोजना चल्न दिँदैनौं,’ उनले भने, ‘आयोजनाले पूर्वसहमति पालना गरेको छैन र हामीले पटक–पटक राखेका जायज मागको बेवास्ता गरिएपछि उत्पादन बन्द गर्न बाध्य भएका हौं।’

आयोजनाले भने एउटा माग पूरा गर्ने सहमति भएपछि अर्काे माग उनीहरूले राखेको जनाएको छ। आयोजनाका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार बर्ताैलाले स्थानीयले वडाको सिफारिसमा उल्लेख गरेका माग आफूहरूले पूरा गर्ने बचन दिएको बताए।

‘स्थानीयले माइजोगमाई वडा ५ कार्यालयको सिफारिसमा उल्लेख गरेअनुसारको सडकमा ३० घन्टा एक्स्काभेटर लगाउन हामीले सहमति जनाइसकेकै हो, लगाउँछौं पनि,’ बर्ताैलाले भने, ‘तर, जब हामीले त्यो सहमति जनायौं, स्थानीयले थप अरू माग लिएर आए भन्ने सुनियो, विद्युत् आयोजनाले कुनै सडक ३० वर्षसम्म मर्मत गर्न सम्भव हुन्छ?’

उनले केही दिनअघि आफू स्वयं उपस्थित भएर उनीहरूका माग सुन्दा अल्लेखोल्सी–साठीमुरे–प्याङ सडकमा एक पटकका लागि ४० घन्टा एक्स्काभेटर लगाउने मात्रै सुनेको बताए। ‘एउटा माग पूरा हुने देखेपछि अरू–अरू थपेर ल्याउन त मिलेन नि,’ उनले भने।

प्रकाशित: १० पुस २०८० ०६:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App