१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

फास्ट ट्रयाक निर्धारित समयमा निर्माण गर्न सेनालाई सुशासन समितिको निर्देशन

काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्धारित समयमा सम्पन्न गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको छ।

प्रधानसेनापति प्रभुराम शर्मालाई बुधबार बैठकमा डाकेर छलफल गरेको समितिले फास्ट ट्रयाक निर्माण सुस्त रहेकोमा चिन्ता व्यक्त गर्दै  समय सीमा भित्रै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएको हो।

फास्ट ट्रयाकको अहिलेसम्मको भौतिक प्रगति २८.५६ मात्र छ। समितिका सभापति रामहरी खतिवडाको अध्यक्षतामा बसेको बैठकले आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता समेत जनाएको छ। फास्ट ट्रयाक निर्माणका सम्बन्धमा विभिन्न चरणमा आवश्यक पर्ने अन्तर निकाय समन्वय सहजीकरणका लागि प्रधानमन्त्ती तथा मन्त्रिपरिषद्को काार्यालयलाई पनि निर्देशन दिएको छ।

समितिको बैठकमा प्रधानसेनापति शर्माले २०८३ चैतसम्म सम्पन्न गर्ने प्रतिवद्धता जनाए। ७१ किलोमिटर लामो फास्ट ट्रयाकको काम सुस्त भएको भन्दै सेनाको आलोचना हुँदै आएको छ। सेनाले निर्माण अघि बढाएको ६ वर्षको अवधिमा २८.५६ मात्र भौतिक प्रगति छ। नेपाल सरकारले नेपाली सेनालाई निर्माणको जिम्मा दिए पनि २०७४ जेठबाट काम सुरु गरेको थियो । सरकारले समय थप गरेर आयोजनाको अवधि २०८३ चैत मसान्तसम्मका लागि तोकेको छ। फास्ट ट्रयाक निर्माणको करिब लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ रहेको छ।

फास्ट ट्रयाकमा ८९ वटा पुल निर्माण गर्नुपर्ने छ। १३ वटा प्याकेजमा विभाजन गरेर काम अघि बढाएकोमा ७ वटा प्याकेजमा काम भइरहेको छ। ५ वटा प्याकेजको काम अघि बढाउनकालागि निर्माण कम्पनी छनोटको प्रक्रियामा रहेको छ।

प्रकाशित: ४ पुस २०८० ११:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App