२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सुपरन्यादी जलविद्युतको ६० प्रतिशत काम

गण्डकी प्रदेशअन्तर्गत लमजुङमा निर्माणाधीन ४२.६० मेगावाटको सुपरन्यादी जलविद्युत् आयोजना ६० प्रतिशत निर्माण भएको छ।

सिउरी न्यादी हाइड्रोपावर कम्पनीद्वारा मस्र्याङ्दी गाउँपालिका ६ स्थित ङादीखोलामा निर्माणाधीन यस आयोजनाको ४० प्रतिशत निर्माण कार्य बाँकी रहेको आयोजनाले जनाएको छ।

आयोजनाको विद्यृत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ सम्पन भएको छ। आयोजनाका प्रबन्धक निर्देशक दिनेश गुरुङका अनुसार विद्युत् गृह निर्माणका लागि तीन सय ८७ मिटर सुरुङ मार्ग, ६ हजार आठ सय किलोमिटर सुरुङमार्गमध्ये चार किलोमिटर टनेल सुरुङ, भूमिगत पावर हाउस खन्ने, सुरुङका लागि दुईवटा अडिट टनेलसहित पाँच सय मिटर खन्ने काम भइसकेको छ।

त्यस्तै ड्याम साइडसम्मको २२ किलोमिटर सडक निर्माण लगायत काम भइसकेको उनको भनाइ थियो।

निर्देशक गुरुङले भने, ‘अहिले आयोजनाका नौवटा ठाउँबाट विभिन्न काम भइरहेका छन्। आयोजनामा हाल पाँच सय कामदारले काम गरिरहेका छन्। हेलिकोप्टरमार्फत (एयरलिफ्ट गरी) सामान पुर्‍याएर बाँध र ड्यामसाइडबाट सडक खन्ने गरिएको थियो।’

आयोजनाको विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) अनुसार दुई वर्षभित्र अर्थात् (२०८१ असारभित्र) विद्युत् उत्पादन सुरु गरिसक्नुपर्नेमा उनले सम्झौता अनुसार समयसीमाभित्र सम्पन्न हुन नसक्ने बताए।

कोरोना महामारीका कारण एक दिनमा हुने काम सात दिन लाग्नुका साथै कामदार आउन समस्या, सामग्री ढुवानीमा समस्या लगायतले निर्माण कार्यमा ढिलाइ भए पनि २०८२ असारभित्र सम्पन्न हुने अनुमान छ।

हाई हिमालय र धवलागिरि कन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको यो आयोजनामा एनएमबी बैंकको अगुवाइमा ६ वटा वित्तीय संस्थाले पाँच अर्ब २५ करोड ऋण लगानी गर्नेछन्। प्रवर्धकको इक्विटी (स्वपुँजी) एक अर्ब ७५ करोड रुपैयाँ रहने छ।

उक्त बैंक एवं वित्तीय संस्थाको ७५ प्रतिशत र प्रवर्धकको २५ प्रतिशत हिस्सा रहने आयोजनाले जनाएको छ। करिब सात अर्बको लागतमा निर्माण पूरा गरिने आयोजनाको लक्ष्य छ।

आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत् गृहदेखि ११ किलोमिटर टाढाको टारीकुनामा निर्माण गरिने १३२ केभी प्रसारण लाइन खुदी सबस्टेसनमा जोडिने छ। सबस्टेसनसम्मको प्रसारण लाइन आयोजनाले नै निर्माण गर्ने भएको छ।

आयोजनाका अनुसार वर्षात्को ६ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदयामको ६ महिनामा आठ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिद–बिक्री गरिने भएको छ।

–रासस

प्रकाशित: १ पुस २०८० ०६:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App