२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

किसान बाँझो छाड्ने, नगरपालिका खेती गर्ने

१५० रोपनीमा एक लाख किलो प्याज फलाउने लक्ष्य

प्याजको बिउ राख्न नगरपालिकाले तयार गरेको जमिन। तस्बिर : नागरिक

बसाइँसराइको दरमा उल्लेख्य वृद्धि भएपछि अहिले गाउँघरमा मानिस प्रायः बस्दैनन्। बसे पनि जग्गा जमिन बाँझै छन्। खेतबारी पूरै बनमाराको झाडी र काँडाका बुट्यानले भरिएको छ। गाउँमा बस्ने कृषकलाई पनि खेतीबाली लगाउने चाह छैन। जनशक्तिको अभाव छ।

खेतीयोग्य जमिन बर्सेनि बाँझै रहन थालेपछि पालिकालाई आत्मनिर्भर बनाउने सोचसहित भूमिकास्थान नगरपालिका आफैं खेतीपाती गर्न थालेको छ। कतिपय बाध्यताले, कतिपय विलासिताको खोजीमा सहर केन्द्रित हुन थालेपछि गर्दा हुन्छ भन्ने धारणा बनाएर नगरपालिका आफैं खेतीपातीमा लागेको हो।

कार्यविधि बनाएरै आयआर्जनको बाटोमा नगरपालिका अघि बढेको छ। ‘कर्मशील जनशक्ति रोजगार आयआर्जन कार्यक्रम’ मार्फत नगरभित्रका बाँझो जमिन उपयोग गरेर कृषि खेती सुरु गरिएको नगर प्रमुख झविलाल थापाले जानकारी दिए।

‘हामीले नगरलाई आत्मनिर्भर बनाउने बाटोमा लैजाँदै छौं, उनले भने, ‘कार्यविधि बनाएर प्रक्रिया अघि बढाएका छौं, केही समयमा नतिजा आउँछ।’

पहिलो चरणमा नगरले ७२ किलो प्याजको ब्याड राखेर करिब १५० रोपनी क्षेत्रफलमा प्याज लगाउँदै छ। भूमिकास्थान नगरपालिका वडा नम्बर २, ५, ७ र ९ का विभिन्न क्षेत्रमा ७२ किलो बिउको ब्याड बनाइएको थियो। त्यसलाई सोही वडाको १५० रोपनीमा लगाइने छ। भूमिकास्थान २ को खाकाबेसी, ५ को बाँझाखेत, ७ को डुम्रीचौर, ९ को सान्डेभासमेतको १५० रोपनी क्षेत्रफलमा प्याज लगाइने छ।

यस वर्ष सोचेअनुरूप भए नगरपालिकाले एक लाख पाँच हजार किलो प्याज उत्पादन गर्नेछ। प्रतिरोपनी सात सय किलो प्याज उत्पादन गर्ने गरी नगरपालिका अघि बढेको छ। एक सय ५० रोपनी क्षेत्रफलमा एक लाख किलोभन्दा बढी प्याज फल्ने आकलनका साथ नगरले कार्य थालनी गरेको हो।

नगरभित्रका खेतीयोग्य बाँझो जमिन आफैंले उपयोग गर्ने गरी कार्यविधि बनाएरै नगरले लिजमा लिएको छ।

कतिपय स्थानीय तहले जमिन बाँझो राख्नेलाई जरिवाना तिराउने र कतिपयले बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्ने नीति लिएका छन्।

भूमिकास्थानले भने आफैं कृषि खेती गर्ने गरी काम अगाडि बढाएको छ। पछिल्लो समय देशको अर्थतन्त्र खस्किरहँदा नगरले कृषि व्यवसायमा आकर्षण बढाउन र गाँउघरमै रोजगारको अवसर सिर्जना गर्न ‘कर्मशील जनशक्ति रोजगार आयआर्जन कार्यक्रम’मार्फत बाँझो जमिन सदुपयोग गर्ने नीति अवलम्बन गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्यका अनुसार तत्कालै ठूला कलकार खाना खुल्ने अवस्था छैन। यस अवस्थामा कृषि उत्पादनलाई निरन्तरता दिनुपर्ने र रोजगार प्रभावित भएको अवस्थामा कृषिक्षेत्र नै रोजगारीको सहारा बन्ने देखिएको छ।

‘अर्थतन्त्र खस्किएपछि पालिकालाई आउने बजेट र विभिन्न कार्यक्रमहरू काटिएर आएका छन्। यस्तो अवस्थामा केन्द्रलाई मात्र भार थोपर्नु भन्दा पालिका आफैंले केही प्रयास गर्नुपर्छ भन्नेमा हामी पुग्यौं। नगरभित्रका बाँझो जमिन सदुपयोग गरेर केही वर्षमै नतिजा ल्याउने हाम्रो प्रयत्न रहने छ,’ उनले भने।

आर्थिक वर्ष २०८०-८१ का लागि यस कार्यक्रम अन्तर्गत नगरपालिकाले ५० लाख रूपैयाँ विनियोजन गरेको छ। अन्य कार्यक्रमहरू पनि यो कार्यक्रमसँग जोडिने भएकाले यसको बजेटको आकार बढ्ने नगरपालिकाले जनाएको छ।

चालु आर्थिक वर्षमा पाँच करोडसम्मको काम गर्ने लक्ष्य नगरले लिएको छ। नगरपालिकाको कुल क्षेत्रफल १५९.१३ वर्ग किलोमिटर रहेको छ। जसमध्ये २०७७/०७८ सालको तथ्यांक अनुसार चार हजार पाँचसय ६४ हेक्टर जमिन खेतीयोग्य छ।

अहिले प्याजका अलावा भूमिकास्थान २ को खाकाबेसीमा रैथाने बाली गहत पनि लगाइएको छ। गहत अब गोड्ने अवस्थामा रहेको नगरपालिकाका कृषि शाखा प्रमुख राम थापाले बताए। प्याज तयार भएपछि काउली बन्दा वा काँक्रो, घिरौंला, लौका लगाउने योजना रहेको उनको भनाइ छ।

नगरले प्रतिरोपनी वार्षिक एक हजार रूपैयाँ वा निःशुल्क जग्गा उपलब्ध गराउन सूचना आह्वान गरेको थियो। यो वर्ष जग्गाधनीले निःशुल्क जमिन उपलब्ध गराएको नगरपालिकाले जनाएको छ।

खेतीसँगै, घरेलु उद्योग र विकास निर्माणका काममा समेत कर्मशील जनशक्ति परिचालन गरिने जानकारी नगरपालिकाका योजना अधिकृत हरिशचन्द्र भुसालले दिए।

‘कर्मशील जनशक्तिलाई कृषि मात्र नभएर विकास निर्माणका कामहरूमा समेत जोड्ने योजना छ, उनले भने, ‘विभिन्न उपभोक्ता समितिमार्फत हुने कार्यमा जोड्ने, विभिन्न उद्यमशीलताका कार्यक्रममा जोड्ने, महिलाहरूलाई समेत महिला श्रममा जोडेर यसलाई एकीकृत कार्यक्रमका रूपमा  जोड्ने छौं।’

नगरले कर्मशील जनशक्ति परिचालन गरेर मकैका पोस्करले झोला र टोपी उत्पादन सुरु गरेको छ। अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्ने उद्देश्यसहित नगरले पोस्करबाट बनाइने झोला र टोपी उत्पादन गर्न थालेको हो।

गाउँघरमा गाईवस्तुलाई खानाका रूपमा दिइने मकैका पोस्करबाट उपयोगी सामान बन्ने भएपछि यहाँका महिला झोला र टोपी बुनाइमा सक्रिय देखिएका छन्।

प्रकाशित: १ पुस २०८० ०१:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App