१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

रोकिएको कन्टेनर आजदेखि सञ्चालन

रसुवा – सोनाम ल्होसारको कारण एक सातादेखि रोकिएको कन्टेनर सोमबार देखि सञ्चालनमा आएका छन् ।
ल्होसारको समयमा चीनतर्फ एकसाता सार्वजनिक बिदा परेकाले कन्टेनर सञ्चालन रोकिएको थियो । बिदाको समयमा सामग्री बोकेका कन्टेनर सञ्चालन नभए तापनि खाली कन्टेनर तथा साना सवारी साधन सञ्चालन रोकिएको थिएन् ।

पुस ३० गतेसम्म चिनियाँ भन्सारले कन्टेनरमा सिल लगाएको थियो । सिल लगाइएका कन्टेनर सोमबार साँझसम्ममा नेपाल आएका थिए भने सामग्री आयातका लागि केही कन्टेनर चीनतर्फ गएका थिए ।
चीनको केरुङमा रहेका करिब एक सय ७० कन्टेनरमा आज सिल लगाउने तयारी भएको चिनियाँ अधिकारीले बताएका छन् । सामग्री लिन गएका कन्टेनरले चिनियाँ भन्सारको पार्किङ क्षेत्र भरिएको नेपाली व्यवसायी पुरुषोत्तम पौडेलले बताए ।

रसुवागढी भन्सार कार्यालयले माघ महिनामा करिब ३० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । माघ महिनामा चीनतर्फ लामो अवधिको बिदा हुने र हिउँ पर्ने सिजन पनि यही भएकाले लक्ष्य अनुसारको राजस्व उठाउन कठिन हुने प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए ।

रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ । २०७१ देखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन् । चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ ।

चीनबाट स्याउ, ऊन, तयारी कपडा, ज्याकेट, जुत्ता, विद्युतीय सामग्री, मोटरका पार्टपुर्जा, कस्मेटिक सामान आयात हुने गरेको छ भने नेपालबाट हस्तकलाका सामान, चाउचाउ, धागो, खुर्सानी, चिउरा लगायत सामग्री निर्यात हुने गरेको छ ।
 

प्रकाशित: ९ माघ २०७४ ०१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App