बर्सातको कारणले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स अस्थायी रूपमा मर्मतसम्भार गरेर उपत्यकामा पानी ल्याउने कार्यमा सरकारी बेवास्ता बढेको छ।
खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स निर्माणको ठेक्का पाएको सिनो हाइड्रो कम्पनी र इन्सुरेन्स कम्पनीबीच एक आपसमा समन्वय अभावको कारणले मेलम्चीको पानी अस्थायी रूपमा उपत्यका ल्याउने विषय अलपत्र हुँदै आइरहेको छ।
गत असोज २८ गतेदेखि नेपालबाट मनसुन बाहिरिए पनि मेलम्चीको पानी अस्थायी रूपमा उपत्यका ल्याउने विषयमा सरकारी निकायबीचको आपसी तालमेल र साझेदारीको अभाव कायमै देखिन्छ।
गत असार यता उपत्यकाबासीले मेलम्चीको पानी प्रयोग गर्न पाइरहेका छैनन्। कतिसम्मभने हिउँद याममासमेत उपत्यकाबासीले ट्यांकरको पानी किनेरै खानुपर्ने बाध्यता सिर्जना भइरहेको छ।
२०७९ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएकाले पनि मेलम्चीको अस्थायी मर्मतसम्भार गरेर मंसिर २३ गते नै मेलम्चीको पानी ल्याइएको थियो।
यो वर्ष भने सरकारले मेलम्चीको मर्मतसम्भारको विषयमा आवश्यक समन्वय र सहकार्य नगर्दा मेलम्चीको पानी उपत्यकामा ल्याउन समस्या भइरहेको छ।
मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्त वर्षाको समयमा आएको लेदोसहितको गेग्य्रान गेट नम्बर १ र ९ मा अत्यधिक मात्रामा थुप्रिएकाले पनि मेलम्चीको पानी पथान्तरण गरेर ल्याउन समस्या भइरहेको बताए।
‘मेलम्चीको हेडवक्र्स अम्बाथानमा रहेको अस्थायी बाँध भएको ठाउँमा १०/१२ मिटर लेदोसहितको गेग्य्रान थुप्रिएको छ,’ उनले भने, ‘गेट नम्बर एकको मुखमा अत्यधिक मात्रामा बालुवाले खाँदिएको देखिएको छ। त्यो गेटमा रहेको बालुवा नहटाउँदासम्म कति गेग्य्रान थुप्रिएको छ भनेर भन्न सकिने अवस्था छैन।’
मेलम्चीको गेट नम्बर १ को संरचनाको बिमा गरिएकाले पनि सर्र्वेयरद्वारा मूल्याकङ्न गरेर क्षतिपूर्ति दाबी गर्ने लगायतका प्रक्रिया पूरा गर्न पनि केही समय लागेको बताए।
‘इन्सुरेन्स कम्पनीले गेट नम्बर १ मा भएको क्षतिको कति रकम दिन्छ भन्ने विषय पनि अहिले टुंगो लागेको छैन,’ उनले भने, ‘हामीले मेलम्ची खोलाको बहाव परिवर्तन गरेर गेट नम्बर एकसम्मको गेग्य्रान हटाएपछि मात्रै इन्सुरेन्स कम्पनीको सर्वेयरलाई बोलाउनुपर्ने हुन्छ। त्यसैले काम गर्न भनेजस्तो सहज छैन। यद्यपि हामीले प्रयास गरिरहेका छौं।’
पन्तले अहिलेसम्म मेलम्चीको अम्बाथानसम्म पुग्ने पहुँचमार्ग तयार भइसकेको बताए। ‘मेलम्चीको हेडवक्र्समा थुप्रिएको गेग्य्रान सफा गर्ने विषयमा आवश्यक तयारी भइरहेको छ,’ उनले भने, ‘सबै प्रक्रिया अघि बढाएर आवश्यक काम अघि बढाइनेछ।’
प्रवक्ता पन्तले सबै प्रक्रिया पूरा भएर काम सुरु भएको एक महिनाभित्रै मेलम्चीको पानी उपत्यका ल्याउन सकिने दाबी गरे।
‘मेलम्चीको बाँध क्षेत्रमा थ्रुपिएको गेग्य्रान हटाउने र मर्मतसम्भार गरेर मेलम्चीको पानी उपत्यकामा ल्याउन झन्डै एक महिनाभन्दा धेरै समय लाग्ने अनुमान गरेका छौं,’ उनले भने।
गत वर्ष असार महिनासम्म मेलम्चीको पानी उपत्यकामा ल्याउँदा पनि सुरुङभित्र लेदोसहितको बालुवा थुप्रिएको छ भने त्योसमेत सफा गर्न थप केही समय लाग्ने समितिले जनाएको छ। मेलम्चीको पानी अस्थायी रूपमा फेरि उपत्यका ल्याउन १२÷१५ करोड रूपैयाँ खर्च लाग्ने बताए।
गत मंसिर १५ गते खानेपानी मन्त्री महेन्द्र राय यादव, मन्त्रालयका सचिव रामआधार साह, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ज्याकी अहमद अन्सारी, आयोजनाका इन्जिनियरहरूसहित मुहानस्थलको अनुगमन गर्न गएका थिए तर अहिलेसम्म पनि मेलम्चीको पानी ल्याउने विषयमा ठोस निर्णय हुन सकेको छैन।
मेलम्चीको पानी पहिलो पटक सुन्दरीजलमा २०७७ फागुन २२ गते आइपुगेको थियो। सो पानी उपत्यकामा भने चैत १५ गतेदेखि परीक्षण स्वरूप वितरण गरिएको थियो। २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढीपहिरोले आयोजनामा ठूलो क्षति पु¥याएको थियो।
बाढीले क्षतिग्रस्त भएको मेलम्ची आयोजनाको अस्थायी मर्मतसम्भार गरेर दोस्रो वर्ष २०७८ चैत अन्तिम महिनामा दोस्रोपटक उपत्यकामा पानी वितरण गरिएको थियो।
त्यसैगरी गत वर्ष भने मंसिर २३ गतेदेखि मेलम्चीको पानी उपत्यकामा वितरण गरिएको थियो।
अहिले खानेपानीको कुल माग ४७ करोड लिटर रहेको उपत्यकाले बर्खा याममा मात्र २२ करोड लिटर खानेपानी पाउँछ। अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले बर्खायामको अन्डरग्राउन्ड र भूसतहको दुवै गरी दैनिक २१/२२ करोड लिटर पानी उपलब्ध गराउँदै आइरहेको छ।
केयुकेएलका म्यानेजर प्रकाशकुमार राईका अनुसार केयुकेएलले परम्परागत पानीको स्रोतबाट १६/१७ करोड लिटर र सुन्दरीजललगायत क्षेत्रबाट थप साढे पाँच करोड लिटर पानी उपलब्ध गराउँदै आइरहेको छ।
प्रकाशित: २९ मंसिर २०८० ०१:२२ शुक्रबार