२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कुखुरापालनबाट करोडपति बन्ने लक्ष्य

– हरिकुमार राई

उदयपुर – अहिले धेरै नेपाली युवा विदेशमा पैसा कमाउन गए पनि सोचेजस्तो पैसा कमाइ नभएपछि धेरै दुःख पाएर विदेशको अनुभवले स्वदेशमा नै धन कमाउन विभिन्न पेशा गर्ने क्रम बढ्दो छ । यस्तै नेपाली युवामध्येका एक हुन उदयपुरको कटारी नगरपालिका– २ गुँरासे बस्ने विष्णु कटुवाल, कटुवाल पनि साढे तीन वर्षसम्म मलेसियामा बसेर पनि सोचे जस्तो कमाइ नभएपछि अहिले आफ्नै गाउँमा आएर कुखुरा फारम खोलेर करोडपति बन्ने लक्ष्यका साथ अगाडि बढिरहेका छन्।

२०५५ सालमा आफ्ना बुबा मेखबहादुर कटुवाल तत्कालीन माओवादी जनयुद्धमा लागेको र २०५६ सालदेखि बुबा अहिलेसम्म पनि फेला नपरेको र घरको आर्थिक अवस्था कमजोर बनेका कारण आफू २०६६ सालमा १९ वर्षको उमेरमा मलेसिया गएको स्वयं विष्णु बताउँछन्।

मलेसियामा ३३ महिना एक सुपरमार्केटमा सेल्समेनको काममा लागेको र दैनिक १८ घण्टा काम गर्दा पनि राम्रो तलब नपाएपछि आफू कम्पनी छाडेर अवैधानिक रुपमा १३ महिना बसेको र धेरै दुःख पाएकोे कटुवाल बताउँछन्।

बल्ल साहुको विदेश गएको डेढलाख ऋण तिरेर बाँकी  ३० हजार लिएर स्वदेश फर्केपछि गाउँमा नै केही पेशा गरौँ भनेर २०७० सालदेखि  १ लाख ऋणमा कुखुरापालन शुरु गरेको र अहिले १८ लाखभन्दा बढीको चारवटा कुखुरा फारम सञ्चालन गर्दै आएको कटुवालको भनाइ छ।

अहिले आफ्ना चारवटा कुखुरा फारममा पाँच हजारसम्म कुखुरा रहेको र दैनिक आम्दानी  १०–१५ हजार हुँदै आएको कटुवालको दाबी छ।

कटुवाल भन्छन “अबको चार बर्षभित्र उदयपुर जिल्लाकै एक नम्बर ठूलो कुखुरा फारम उद्यमी बन्ने लक्ष्य छ ।” कटुवालले अबको ४ वर्षपछि वार्षिक करोडको कुखुरा बिक्री गर्ने लक्ष्य लिएका छन्।

दिनानुदिन व्यवसाय बढ्दै गए आफू सजिलै करोडपति बन्ने दाबीसमेत कटुवालले गरेका छन्।

अहिले सञ्चालन हुँदै आएका आफ्ना चारवटा फारमबाहेक अब अन्य चारवटा नयाँ फारमसमेत थपेर सञ्चालन गर्ने तयारी भइरहेको कटुवाल बताउँछन्।

नयाँ फारम सञ्चालन गर्न जग्गा पनि भाडामा करार सम्झौता भइसकेको र फारम निर्माण गर्न शुरु गरिसकेका कारण अब वैशाखदेखि पहिलोपटक नयाँ फारममा दुई हजार ५०० कुखुराको बच्चा हाल्ने योजना रहेको कटुवाल बताउँछन्।

२०७८ सालसम्ममा आफूले एक दर्जनभन्दा बढी फारम सञ्चालन गर्ने र जिल्लाकै एक नम्बर कुखुरापालक उद्यमी बन्ने लक्ष्यका साथ अगाडि बढेका कटुवालले अहिले गाउँका दुईजना युवालाई समेत रोजगार दिन सफल भएका छन्।

आफू बेपत्ता परिवारको भएको र राज्यले समेत अहिलेसम्म बेवास्ता गरेको, विदेशमा पनि सोचेजस्तो कमाइ गर्न नसकिएका कारण अब आफूले केही गर्नुपर्छ र अरुलाई पनि रोजगारी तथा स्वरोजगार बनाउने बाटो देखाउनु पर्छ भनेर यो पेसामा लागेको धारणा कटुवालको छ।

अब विदेशमा आफूहरु जस्तो साधारण लेखपढ गर्ने र कुनै प्राविधिक ज्ञान नजान्ने युवाको रोजगारी गर्ने दिन सकिएका कारण आफैँले स्वदेशमा रोजगार सिर्जना गर्नुपर्ने कटुवालको अन्य युवालाई समेत सल्लाह र सुझाव छ। (रासस)

प्रकाशित: २ माघ २०७४ ०५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App