१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

भोलि देखि रानी मिनी महोत्सव

विराटनगरको औद्योगिक क्षेत्र (मिल्स एरिया)मा मंसिर २० गतेदेखि ‘रानी मिनी महोत्सव’ आयोजना हुने भएको छ।

मिल्स भेट्रान्स क्लबले विराटनगरमा पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी भइरहेको जानकारी दिएको हो।क्लबका अध्यक्ष इन्द्रराज थापा (राजु)ले मिनी महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिँदै मंसिर २० देखि पुस २० गतेसम्म आयोजना गर्न लागेको बताए।खेलकुद क्षेत्रमा सहयोग पुग्ने आशाका साथ हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा रहेको अध्यक्ष थापाले बताएका हुन्।

महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य भनेको खेलकुद क्षेत्रमा आर्थिक सहयोग पुग्ने आशाले आयोजना गर्न लागको बताउँदै, अध्यक्ष थापाले भने, ‘यस क्षेत्रका बालबालिकाहरूलाई ग्रास रुट लेबलबाटै फुटबल प्रशिक्षण गराउँदै आएको र उनीहरूलाई चाहिने खेलकुद सामाग्री खरिद गर्न सहयोग पुग्ने विश्वासका साथ क्लबले महोत्सव आयोजना गरेको हो।मिल्स एरिया एउटा औद्योगिक ठाउँ मात्रै नभई एउटा खेलाडीको उर्वर भूमि मानिन्छ।’

पछिल्लो समय विभिन्न कारणले गर्दा मिल्स एरियामा कुनै पनि खेलकुदका गतिविधि नहुँदा नयाँ खेलाडी उत्पादन हुन छाडेको छ २/३ वर्षदेखि मिल्स गोल्ड कप, भेट्रान्स फुटबललगायतको खेलकुद गतिविधि हुन थालेपछि यस क्षेत्रका बालबालिकाहरू खेलप्रति मोहित हुन थालेको बताउँदै, अध्यक्ष थापाले भने, ‘मिल्स एरियाको पुरानो साख जोगाउँदै, नयाँ खेलाडी उत्पादन गर्नका लागि पनि महोत्सव गर्नुपरेको हो।प्रशिक्षणमा आउने भाइबहिनीहरूलाई चाहिने खेल सामाग्री उनीहरूको आर्थिक अवस्थाले गर्दा सबैले खरिद गर्न नसक्ने हुँदा त्यसको व्यवस्थापनका लागि आर्थिक जोह गर्न महोत्सवलाई निरन्तरता दिएका हौँ।’

८ देखि १६ वर्ष उमेर समूहका ७० बढी बालबालिकाहरू नियमित रुपमा फुटबल प्रशिक्षणमा रहेका छन् । भारतीय बजार जोगबनीसँग टाँसिएको ठाउँ भएकाले पनि सानैदेखि बालबालिकालाई खेलकुद क्षेत्रमा आकर्षित गर्दै लागु औषधको कुलतमा नलाग्न दिनका लागि पनि ग्रास रुट लेबलबाटै प्रशिक्षण दिन थालिएको बताइएको छ।

एक महिनासम्म सञ्चालन हुने महोत्सवमा एक दर्जनभन्दा बढी हस्तकलाका सामाग्री, खाद्य र मनोरञ्जनका स्टलहरू रहने छ।दैनिक राष्ट्रिय र स्थानीय कलाकारहरूबाट साङ्गीतिक मनोरञ्जन प्रदान गरिने अध्यक्ष थापाले बताए।महोत्सवमा दैनिक २ हजार बढीले अवलोकन गर्ने अपेक्षा राखेको आयोजकले जानकारी दिएको छ।

प्रकाशित: १९ मंसिर २०८० ०८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App