१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पूर्वी नाकाबाट आउने पर्यटकको संख्यामा वृद्धि

काँकडभिट्टा – पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएकोे काँकडभिट्टा अध्यागमन कार्यालयले जनाएको छ । सरकारले नाकामा पर्यटन प्रहरीको व्यवस्था गरेका कारण पनि नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको हो ।

कार्यालय प्रमुख रामप्रसाद फुयाँलले सन् २०१७ मा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या सात हजार पाँच सय २८ पुगेको जानकारी दिए । यो संख्या सन् २०१६ को तुलनामा एक हजार तीन सय २३ जनाले बढेको हो । यस वर्ष पूर्वी नाका हुँदै पैदल मार्ग भएर सबैभन्दा बढी अमेरिकी र भुटानी पर्यटक नेपाल घुम्न आएका छन् तर हरेक वर्ष बंगलादेशी पर्यटकको संख्या वृद्धि भएपनि सन् २०१७ मा पूर्वी नाका हुँदै नेपाल आउने बंगलादेशी पर्यटकको संख्यामा भने कमी आएको कार्यालयको तथ्यांकले देखाएको छ । 

सन् २०१६ मा यो नाका भएर दुई हजार तीन सय ४८ बंगलादेशी पर्यटक नेपाल आएका थिए । सन् २०१७ मा दुई हजार २५ जना मात्र आएका छन् । यो संख्या सन् २०१६ को तुलनामा तीन सय २३ जनाले कमी हो ।

सन् २००८ मा दिल्लीको ताज होटलमा आक्रमण भएलगत्तै भारतले बंगलादेशीलाई दोहोरो प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउन छाडेका कारण त्यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा देखिएको कार्यालय प्रमुख फुँयालको भनाइ छ । यो वर्ष एक हजार ६ सय १६ भुटानका र आठ सय ८२ युएसएका पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका छन् । 

कार्यालयले अफगानिस्तान, इराक, घाना, जिम्बाबे, नाइजेरिया, लाइबेरिया, इथोपिया, क्याम्ब्रन, सोमालिया, प्यालेस्टाइन, स्विजरल्याण्डलगायत ११ मुलुकका पर्यटकलाई भने नेपाल सरकारले प्रवेशाज्ञामा रोक लगाएको जनाएको छ । 
डेनमार्क, चीन, फ्रान्स, युके, दक्षिण कोरिया, भारत, स्पेन, मलेसिया, जर्मनी, इटाली, स्विडेन, अस्ट्रेलिया, जापान, नेदरल्यान्ड, श्रीलंका, नर्वे, पाकिस्तान, सिंगापुर, थाइल्यान्ड, वेल्जियमलगायत मुलकबाट नेपाल घुम्न हरेक वर्ष पर्यटक आउने गर्दछन् । 

पूर्वी नाकाबाट भित्रिने मात्र होइन बाहिरिने पर्यटकको संख्यामा समेत वृद्धि भएको छ । सन् २०१६ मा पाँच हजार सात सय १९ पर्यटक यो नाका भएर विदेशिएका र सन् २०१७ मा ६ हजार सात सय ४८ पर्यटक बाहिरिएका छन् । 

 


 

प्रकाशित: २४ पुस २०७४ ०५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App