२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

शिक्षकको जागिर छोडेर बाख्रापालन

तुर्माखाँद–४ जैसुर अछामका लोकेन्द्र बयक आफूले पालेका बाख्रासँग। तस्बिर: नगेन्द्र उपाध्याय

तुर्माखाँद (अछाम)- तुर्माखाँद गाउँपालिका–४ जैसुर अछामका लोकेन्द्र बयक व्यवसायिक बाख्रापालक कृषक हुन्। गाउँकै विश्व माविका शिक्षक बयकले तीन वर्षअघि राजीनामा दिएर बाख्रापालनमा लागे । अहिले उनी वार्षिक दुई लाख भन्दाबढी बचत गर्छन्।

‘स्थानीय स्रोतमा पढाउँथे, महिनामा ६/७ हजार पाइन्थ्यो, अहिले बाख्रापालन व्यवसाय थालेपछि मासिक तेब्वरले आम्दानी बढेको छ’ बयकले भने, ‘अहिले महिनाकै २०/२५ हजार रुपियाँसम्म कमाई गर्दै आइरहेको छु ।’ सुरुमा शिक्षकको जागिर छोडेर बाख्रा पाल्दैछु भन्दा गाउँलेले उनलाई ‘बौलाहा’ भने । अहिले उनीहरुकै प्रेरणा बनेका छन् बयक।

प्रगतिशिल कृषक समूहमा आवद्ध लोकेन्द्रको फार्ममा अहिले ५५ वटा बाख्रा छन् । बाख्रापाल्न थालेपछि विभिन्न क्षेत्रबाट सहयोग पनि पाउँदै आएका छन् । प्रगतिशिल कृषक समूहले उच्च मूल्य कृषि बस्तु विकास आयोजना सुर्खेतबाट १३ लाख ४७ हजार रुपियाँ अनुदान प्राप्त गर्‍यो । बाख्रापालन समूहमा आवद्ध बयकले आयोजनाले अनुदान दिएको मध्ये आधुनिक खोर निर्माणका लागि २९ हजार रुपियाँ प्राप्त गरे ।

‘आयोजनाको सहयोगले मलाई व्यवसायिक रुपमा बाख्रापालन गर्ने प्रेरणा दियो’ उनले भने, ‘शिक्षक पेशा भन्दा बाख्रापालन मेरा लागि फापेको छ ।’ बाख्राबाट उनको आम्दानी वर्षेनी बढिरहेको छ । बाख्रापालेरै तीन छोराछोरीलाई गाउँकै निजी विद्यालयमा पढाइरहेका छन् । समस्या परेका गाउँलेलाई बयक आर्थिक सहायता पनि गर्दै आएका छन् ।

गएको बैशाखयता मात्रै उनले खशीबोका, पाठापाठी गरेर २० वटा विक्री गरिसकेका छन् । बाख्रापालन व्यवसायलाई अझ विस्तार गर्ने सोच उनले लिएका छन् । यसका लागि उनले ग्रामिण पशु सेवा कार्यकर्ताको तालिम लिएका छन् ।

लोकेन्द्रजस्तै जैसुरको प्रगतिशिल कृषक समूहमा आवद्ध नामसरा बयक, कृष्णकुमारी बयक, कल्पना बिसी, भगवती उपाध्याय पनि व्यवसायिक रुपमा बाख्रापालनमा जुटेका छन् । नामसराले ४६, कृष्णकुमारीले ५५, कल्पनाले ३९ र भगवतीले ३६ वटा बाख्रापालन गरेकी छन् । ‘पहिले परम्परागत बाख्रापालन गर्दथ्यौं, सहयोग पाएपछि व्यवसायिक बाख्रापालनमा जुटेका छौं’ नामसराले भनिन्, ‘बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी लिन सफल भएका छौं ।’

यो समूहमा आवद्ध किसानहरुसँग एक हजार दुई सय ५५ वटा बाख्रा छन् । एकजना किसानले वर्षमा कम्तिमा ५० हजार रुपियाँदेखि दुई लाख रुपियाँसम्म बाख्रा बिक्री गर्ने गर्छन् ।

तुर्माखादका अधिकांस गाउँले बाख्रापालनमा जुटेका छन् । निर्वाहमुखि बाख्रापालन गर्दै आएका उनीहरु अहिले व्यवसायिक बाख्रापालनमा जुटेका हुन । समूहका अध्यक्ष कृष्णबहादुर बयकले बाख्रापालनमा संलग्न ७२ किसानलाई आयोजनाले २८ लाख ३६ हजार रुपियाँ सहयोग गरेको थियो।

आयोजनाको सहयोगमा किसानहरुले आधुनिक बाख्राका खोर निर्माण, नश्ल सुधारका लागि उन्नत बोका खरिद, डाले तथा भुँई घाँसखेती, बाख्र्रापालन, घाँसखेती नर्सरी व्यवस्थापन र बजारीकरण सम्वन्धी तालिम, आन्तरिक र वाह्य परिजीवी नियन्त्रणको लागि डिपिङ्ग टंकी निर्माण र प्राविधिक सेवा पनि खरिद गरेको अध्यक्ष बयकले बताए। 

झन्झट पनि कम हुने र थोरै लगानीबाट आम्दानी पनि बढी हुने भएकोले  किसानहरु बाख्रापालनमा जुटेको तुर्माखाँद गाउँपालिका वडा नम्वर–४ का वडाध्यक्ष कवीराज बयकले बताए । उनले तुर्माखाँदमा बाख्रापालनको राम्रो सम्भावना भएकोले यसलाई पकेट क्षेत्रकै रुपमा विकास गर्ने योजना रहेको बताए।

 

 

 

प्रकाशित: १७ पुस २०७४ १०:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App