२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

‘अर्थतन्त्र उकास्न सामूहिक प्रयत्न गर्ने’

प्रधानमन्त्रीद्वारा निजीक्षेत्रसँग छलफल

अर्थतन्त्रका केही सूचकमा सकरात्मक परिवर्तन आए पनि मुलुकको अर्थतन्त्र अझै दबाबमा रहेको भन्दै माथि उठाउनका लागि सामूहिक प्रयत्न गर्ने सरकार र निजी क्षेत्रका उच्च अधिकारीले प्रतिवद्धता जनाएका छन्।

मुलुकको अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्न निजी क्षेत्रलाई बोलाएर छलफल गरेका पुष्पकमल दाहालले सरकार आर्थिक मुद्दामा संवेदनशील रहेको बताएका थिए।

अर्थतन्त्र माथि उठाउन सामूहिक प्रयत्न आवश्यक छ। सरकारका तर्फबाट प्रयास गर्छौं। ऋण पुनर्संरचना लगायतका विषयमा राष्ट्र बैंकबाट सहजीकरण हुन्छ।

-पुष्पकमल दाहाल, प्रधानमन्त्री

पुष्पकमल दाहाल, प्रधानमन्त्री

निजी क्षेत्रका प्रतिनिधिसँग मंगलबार छलफल गर्दै दाहालले आर्थिक क्षेत्रमा देखिएको समस्या समाधान गर्न सामूहिक प्रयत्न हुनु आवश्यक रहेको बताए।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायत निजी क्षेत्रका संस्थाका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए।

प्रधानमन्त्री दाहालले अर्थतन्त्रका केही सूचक सकारात्मक भए पनि दबाबमा रहेको निजी क्षेत्रका प्रतिनिधिसँग स्वीकार गरे।

प्रधानमन्त्री, अर्थमन्त्री र निजी क्षेत्रका छाता संस्थाका प्रमुख तथा प्रतिनिधिले दबाबमा रहेको अर्थतन्त्रमाथि उठाउन सामूहिक प्रयत्न गर्ने प्रतिवद्धता जनाए। प्रधानमन्त्रीले सरकारकोतर्फबाट गर्ने प्रयास गर्ने भन्दै निजीक्षेत्रलाई आश्वस्त पार्ने प्रयास गरे।

प्रधानमन्त्रीले ऋण पुनर्संरचना लगायतका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिए। ‘अर्थतन्त्रको बारेमा प्रधानमन्त्री चिन्तित देखिनुभयो,’ बैठकमा सहभागी नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले भने, ‘ब्याज कसरी घटाउन सकिन्छ भनेर प्रधानमन्त्रीले गभर्नरलाई निर्देशन दिनुभएको छ।’

दाहालले दुर्गा प्रसाईंलाई लक्षित गर्दै अराजकता फैलाउने कोसिस भइरहेको समेत बताए। ‘अर्थतन्त्रका समस्या देखाएर राजनीतिक फाइदा लिन खोजिएको छ,’ दाहालले भने, ‘समाजमा अविश्वास र अराजकता फैलाउने प्रयास भएको छ।’

ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता फैलाउनेलाई छुट दिन नसक्ने उनले बताए। धेरै चिन्तित हुनुपर्ने अवस्था नभएको भन्दै प्रधानमन्त्री दाहालले निजीक्षेत्रका अगुवालाई आश्वस्त पार्ने प्रयास गरे। ‘सबै मिलेर समस्याको सामना नगर्ने हो,’ दाहालले भने, ‘कैयौं सूचक सकरात्मक पनि छन्।’

 डा. प्रकाशशरण महत, अर्थमन्त्री

अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएका छन्। अर्थतन्त्र लयमा फर्किदै छ। विप्रेषण, पर्यटक आगमन र शोधनान्तरको स्थितिले राम्रो अवस्थामा छौं।

डा. प्रकाशशरण महत, अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका सूचक सकरात्मक बन्दै गएको बताए। ‘समग्रमा हाम्रो अर्थतन्त्रले लय पक्रँदै गरेको छ,’ महतले भने, ‘विप्रेषण, पर्यटक आगामन र शोधनान्तरको स्थितिले राम्रो अवस्थामा छौं।’

जग्गा कारोबार, बैंकबाट कर्जा प्रवाह बढेको र गत वर्षको तुलनामा पुँजीगत खर्च पनि बढेको महतले बताए। ‘साधारण खर्चमा मितव्ययी भएको छ,’ महतले भने, ‘लक्ष्यअनुसार हामीले उपलब्धि हासिल गरिरहेका छौं।’ कारोबार कम, उत्पादन कम र लगानी वृद्धि नभइरहेको अवस्थाप्रति भने महतले चिन्ता व्यक्त गरे। रोजगारीका अवसर वृद्धि गर्नुपर्ने उनले बताए।

अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकले सहजीकरण गर्नुपर्ने निजीक्षेत्रको माग छ। सहरदेखि गाउँगाउँसम्म पुँजी प्रवाहलाई चलायमान बनाउनुपर्ने, साना तथा मझौला व्यवसायलाई प्रवाह हुने कर्जालाई सहज बनाउनु पर्ने, घर कर्जालाई सरल र सुलभ बनाउनुपर्ने, बैंकहरूको फिक्स्ड डिपोजिटको ब्याजदर कम गर्न समेत सुझाव दिएका छन्।

मौद्रिक नीतिको समीक्षामा नेपाल राष्ट्र बैंकले केही उपकरण प्रयोग गर्न आग्रह गरे। कृषि, पर्यटन पूर्वाधार, आइसिटी लगायतका सेवा तथा उत्पादनमूलक क्षेत्रमा पुनर्कर्जा र करमा सहुलियतसहितको प्याकेज आवश्यक रहेको बताए।

चन्द्रप्रसाद ढकाल, अध्यक्षनेपाल उद्योग वाणिज्य महासंघ

आर्थिक गतिविधि बढाउनु पर्छ। व्यवसायीको खस्किएको मनोबल उकास्नु पर्छ। राज्यले पुँजीगत खर्च बढाएर लगानीमैत्री वातावरण बनाउनुपर्छ।

चन्द्रप्रसाद ढकाल, अध्यक्ष

नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारलाई करिब दुई दर्जन सुझाव दिए। अध्यक्ष ढकालले आर्थिक गतिविधि बढाउने सुझाव दिएका छन्।

ढकालले अराजक गतिविधि बढ्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता गतिविधिलाई नियन्त्रणमा लिन प्रधानमन्त्री दाहाल समक्ष आग्रह गरे। व्यवसायीको मनोबल खस्किएको भन्दै बढाउन राज्यले भूमिका खेल्नुपर्ने धारणा राखे।

‘अहिले व्यवसायीहरूको कन्फिडेन्स लुज भएको छ,’ ढकालले भने, ‘व्यवसायीहरूको कफिन्डेन्स बढाउन राज्यले पुँजी खर्च बढाएर, लगानीमैत्री वातावरण बनाउँदै आर्थिक गतिविधि बढाउन आवश्यक छ।’

राजेशकुमार अग्रवाल, अध्यक्ष,नेपाल उद्योग परिसंघ

अर्थतन्त्र शिथिल छ। समस्या समाधान गर्न सरकारले अग्रसरता लिनुपर्छ। पैसाको प्रवाह बढाउनु पर्छ। ऋणको पुनर्संरचना गर्नुपर्छ। कालोसूची बढेको छ।

राजेशकुमार अग्रवाल, अध्यक्ष,

नेपाल उद्योग परिसंघ

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र चलायमान बनाउन सुझाव दिएको बताए। ‘अर्थतन्त्र शिथिल रहेको छ,’ अग्रवालले भने, ‘समस्या समाधान गर्न सरकारले अग्रसरता लिनुपर्‍यो।’

ऋणको पुनर्संरचना गर्न सुझाव दिएको उनले बताए। ‘कालोसूची बढेको छ,’ अग्रवालले भने, ‘ऋणको पुर्नसंरचना गर्नुपर्छ।’ सेयर कारोबार बढाउनुपर्ने, बजारमा पैसाको प्रवाह बढाउन आग्रह गरेको अग्रवालले बताए।

राजेन्द्र मल्ल, अध्यक्ष,नेपाल चेम्बर अफ कमर्श

अर्थतन्त्र संकुचित भएको छ। सरकारले ठोस कार्यक्रम ल्याउनुपर्छ। मुलुकको समृद्धिमा सहकार्य गर्न निजी क्षेत्र तयार छ।

राजेन्द्र मल्ल, अध्यक्ष,नेपाल चेम्बर अफ कमर्श

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्र संकुचित भएको भन्दै माथि उठाउन सरकारले ठोश कार्यक्रम ल्याउनु पर्ने बताए। ‘मुलुकको समृद्धिकालागि सहकार्य गर्न निजी क्षेत्र तयार छ,’ मल्लले भने, ’ मल्लले भने,‘राजनीतिक दलहरू पनि आर्थिक मुद्दामा प्रतिवद्ध हुनुपर्छ।’

अर्थतन्त्रको सुधारका लागि नेपाल उद्योग वाणिज्य संघले उच्चस्तरीय संयन्त्र बनाउन प्रस्ताव गरेको भए पनि कार्यान्वनयमा आएको छैन।

प्रधानमन्त्री दाहालले महासंघले आयोजना गरेको एक कार्यक्रममा संयन्त्र बनाउने प्रतिवद्धता जनाएका थिए। दाहालले सोमबार अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक लगायत सरकारी निकायका अधिकारीसँग पनि छलफल गरेका थिए।

प्रकाशित: ६ मंसिर २०८० ०३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App