२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

ऋण लिएर नतिर्ने, नेता पल्टिनेलाई राज्यले सहन सक्दैन: अर्थमन्त्री महत

फाइल।

अर्थमन्त्री डा. प्रकाश शरण महतले ऋण लिएर तिर्दिन भन्नेहरूको राज्यले कुनै सुनवाइ नगर्ने बताएका छन्।

अर्थतन्त्रलाई थप गति दिन मंगलबार आयोजित निजी क्षेत्रका व्यवसायीसँग भएको छलफलपछि मन्त्री डा. महतले भने ‘समग्रमा दीर्घकालीन सोचका साथ जलविद्युत, कृषि, पर्यटन, आइटी, साना उद्योग व्यवसायको प्रवर्द्धन गर्ने क्षेत्रमा तदारुकताका साथ सरकारले काम गर्नेछ।’

‘अप्ठ्यारामा परेका व्यवसायलाई सहजीकरण गर्ने विषयमा पनि छलफल भयो। तर, ऋण लिएर तिर्दिन भनेर जो लाग्छ, त्यसको सुनवाइ हुँदैन,’ महतले भने, ‘ऋण तिर्नैपर्छ। अप्ठ्यारामा परेकाहरुलाई केही समय दिएर सहजीकरण गर्न सरकार तयार छ।’ 

ऋण लिएर नतिर्ने, ठूला कुरा गर्दै नेता पल्टिनेलाई राज्यले सहन नसक्ने बताए। ‘समस्यामा परेकाले केही समय पाउँ, केही सहज होस् भन्छ भने उसप्रति राज्यले केही सोच्ने छ,’ उनले भने।

अर्थ मन्त्रालयको तर्फबाट मन्त्री डा. प्रकाश शरण महत र नेपाल राष्ट्र बैंकको तर्फबाट गभर्नर महाप्रसाद अधिकारीले बैठकमा तथ्यांकसहित देशको वस्तुस्थितिको यथार्थ प्रस्तुत गरेका थिए।

‘हाम्रो अर्थतन्त्रमा संरचनागत समस्या छन्। अर्थतन्त्रलाई थप गतिशील बनाउन अझ धेरै काम गर्न बाँकी रहेको छ’ मन्त्री डा. महतले भने, ‘यो विषयवस्तु सरकारले पनि बैठकमा राखेको थियो, निजी क्षेत्र र राजनीतिक दलबाट प्रतिनिधित्व गरेर सहभागीले पनि राखेका थिए।’

प्रकाशित: ५ मंसिर २०८० १४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App