६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरामा दिनकै चार हजार हवाई यात्रु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाईजहाजबाट ओर्लिंदै यात्रु। तस्बिर :उमेश पुन/नागरिक

चाडपर्व बिदा र आन्तरिक पर्यटकीय मौसम भएकाले विदेशी पाहुनाको आगमन बढेको छ । विदेशी पर्यटक बढ्दा पोखरा–काठमाडौं–पोखरा हवाईयात्रामा यात्रु चापसमेत बढेको छ।यतिबेला पोखरा–काठमाडौं रुटमा दिनमा विभिन्न एयरलाइन्सका २७ वटासम्म उडान हुँदा पनि यात्रुले चाहेको बेला हवाई टिकट पाउन सकेका छैनन् । दिनमा चार हजार हाराहारीमा हवाई यात्रुको आउजाउ भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।

यतिबेला बुद्ध एयरले पोखरा–काठमाडौं रुटमा दैनिक १७ वटा उडान गरिरहेको छ।त्यस्तै यती एयरलाइन्सले पनि सो रुटमा दैनिक सातवटा उडान गरिरहेको छ । श्री एयरलाइन्सले पनि पोखरा–काठमाडौं दिनमा तीनवटा उडान गरिरहेको छ । दिनमा पोखरा–काठमाडौं रुटमा २७ वटासम्म उडान भइरहेको हवाई कम्पनीले बताएका छन् ।

बुद्ध एयरका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालले चाडपर्व बिदाले आन्तरिक यात्रु पोखरा क्षेत्रमा थपिँदा हवाई चाप बढेको बताए । उनका अनुसार पोखरा–काठमाडौं रुटका उडानमा शतप्रतिशत यात्रु छन् । पोखरा–काठमाडौं रुटका यात्रुमध्ये आधा नेपाली र आधा विदेशी रहेको उनले बताए । ‘यो बेला पोखरा–काठमाडौं रुटमा हवाई यात्रुको चाप छ । चाहेको बेला टिकट पाउन पनि मुस्किल छ,’ बरालले भने, ‘उडान संख्या थप्दा पनि यात्रुले भनेको बेला टिकट पाएका छैनन् ।’

अहिले पोखरा आसपासका क्षेत्रमा आन्तरिक पाहुनाको भिड छ । छोटो रुटको पदयात्रामा जाने आन्तरिक पाहुनाको आगमन बढ्दा हवाई यात्रामा पनि यात्रुको चाप बढेको उनले बताए । ‘यो बेला विदेशी पाहुना आउने मौसम पनि हो । त्यसले गर्दा पनि यात्रुको चाप बढेको हो, अहिले पोखरामा भन्दा पनि पदयात्रा क्षेत्रमा पाहुनाको भिड छ,’ बरालले भने, ‘अन्नपूर्ण फेरो सकेर पोखरा ओर्लेका विदेशी तथा स्वदेशी पदयात्री पोखराबाट हवाई मार्ग हुँदै काठमाडौं फर्किने भएकाले चाप बढेको हो ।’

अहिले पोखरामा भन्दा पनि आसपासका पर्यटकीय गाउँमा आन्तरिक पाहुना खचाखच हुँदा हवाईजहाजलाई यात्रु अभाव नभएको उनले बताए । ‘अझै केही दिनका लागि यात्रु अभाव हुँदैन,’ बरालले भने, ‘दसैं सुरु भएपछि हवाई यात्रुको चाप बढ्न थालेको हो । त्यो चाप अहिले पनि उत्तिकै छ । अबका केही दिनपछि भने घट्न थाल्नेछ । किनकि आन्तरिक यात्रु केही कम हुनेछन् ।’ बुद्धले पोखराबाट काठमाडौंसँगै भरतपुर, भैरहवा र नेपालगन्ज पनि दैनिक उडान गरिरहेको छ ।

बुद्धले यतिबेला पोखराबाट दिनमा २० वटा उडान गरिरहेको छ। काठमाडौंबाट पोखरा आउने यात्रुको पनि भीड बढेको उनले बताए।

सो रुटमा दिनमा ७ वटा उडान गरिरहेको यती एयरलाइन्सले काठमाडौंबाट पोखरा आउने यात्रुको संख्या पनि उत्तिकै रहेको बताएको छ। त्यस्तै पोखरा–काठमाडौं रुटमा यात्रु बढेपछि उडान संख्या थपेको श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले बताए। लामो बिदाले अहिले पोखरा–काठमाडौं–पोखरा रुटमा आन्तरिक यात्रु बढेको र यही बेला पर्यटकीय सिजन परेकाले विदेशी यात्रुु पनि थपिएको मानन्धरको भनाइ छ। 

पोखरा–काठमाडौं–पोखरा रुटमा शतप्रतिशतसम्म यात्रु भरिएको श्री एयरलाइन्सका मानन्धरले बताए। पोखरा–काठमाडौंको स्थलमार्ग झन्झटपूर्ण बनेकाले पनि यो बेला हवाई यात्रामा यात्रु भीड बढेको हवाई कम्पनीले बताएका छन्।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीका अनुसार अहिले दिनमा चार हजार हाराहारीमा हवाई यात्रुको आउजाउ  रहेको बताइन्।  

प्रकाशित: ५ मंसिर २०८० ०४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App