दैनिक उपभोग्य सामान किनमेलका लागि शनिबार सीमावर्ती भारतीय बजार रूपैडिया पुगेकी हरिकला दमाईले मोबाइल फोन हराइन्। उनले सामान किनेका ठाउँमा गएर सोधपुछ गरिन् र सिसी टिभी चेक गर्न अनुरोध गरिन्। त्यति धेरै अनुरोध गर्दा उनले पसलेबाट सहयोग होइन उल्टै अपमानित व्यवहार सहनुपर्यो।
अपमानित हुनुभन्दा उनी मोबाइल माया मारेर निराश हुँदै घर फर्किइन्। यति मात्र होइन, भारतीय बजार रूपैडिया पुग्ने नेपाली उपभोक्ताले त्यहाँका व्यवसायीबाट अपमानित हुनु परेको गुनासो गरेका छन्।
नेपाली उपभोक्ताको भरमा चलेको रूपैडिया बजारका व्यवसायीले व्यावसायिक व्यवहार नदेखाएको नेपाली उपभोक्ताको भनाइ छ। ‘मेरो मोबाइल हराएर खोज्दा मैले ठूलो अपमान सहनुपर्यो,’ हरिकलाले भनिन्, ‘सामान खरिद गरेको पसलेले सिसी क्यामेरा देखाइ दिन पनि मानेनन्। उल्टै चोरीको आरोप लगाउने भन्दै हप्काए।’
कतिपय व्यवसायीले भने अपशब्द प्रयोग गर्ने गरेको नेपाली उपभोक्ता हरि खत्रीले जनाए। ‘सामान खरिदको लागि पसलमा पुगेको थिएँ,’ उनले भने, ‘मिलाउनुस्, अरू धेरै सामान लिनु छभन्दा उनी ममाथि खनिए।’
महँगो मानेर सामान नकिनेर फर्किंदा पसलेले अपशब्द प्रयोग गरी गाली गरेको उनको भनाइ छ। ‘किन गाली गरेको भन्दा झण्डै हात हालाहालको स्थितिसम्म पुगेको थियो,’ उनी भन्छन्, ‘पछि फेरि आफैं संयम भएँ ।’ भारतीय व्यवसायीबाट नेपाली हेपिँदै आएको उनको भनाइ छ।
सीमावर्ती बजारभन्दा नेपालगञ्जमा तीन/चार गुणासम्म सामान महँगो हुँदा रूपैडिया किनमेलका लागि जाने नेपाली उपभोक्ताको संख्या धेरै छ। केही सामानको मूल्यमा थोरै फरक भए पनि अधिकांश सामानमा तेब्बरभन्दा बढी मूल्यको अन्तर हुने नेपाली उपभोक्ताले जनाए।
भन्सार तिरेर ल्याएको सामान नेपाली बजारमा बिक्री गर्दा केही महँगो हुनु स्वभाविक भए पनि यता (नेपालगन्ज) का व्यापारीले चर्काे मूल्य लिँदा अपमान सहँदै रूपैडिया पुग्नुपर्ने बाध्यता रहेको नेपाली उपभोक्ता सुनिता थारुले जनाइन्।
‘नेपालगञ्जमा महँगी नआकासिएको भए रूपैडिया जानै मन थिएन,’ उनी भन्छिन्, ‘के गर्ने यहाँ (नेपालगन्ज) सामान किन्नै सकिँदैन। पारि (रूपैडिया) नगइ हुँदैन।’
सस्तो मूल्यका लागि अपमानित भएर पनि किनमेल गर्नु परेको उनको भनाइ छ।
नेपाली उपभोक्तालाई गाली गरेर रूपैडियाको व्यापार नफस्टाउने भन्दै व्यावसायिक आचरण देखाउनुपर्ने नेपाली उपभोक्ताले बताएका छन्। ‘पहिला सामान हेर्न आउनूस्, यहाँ सबै सामान पाइन्छ भन्दै हिँडिरहेको मान्छेलाई तानातान गर्छन्,’ बाँसगढीबाट किनमेलका लागि रूपैडिया आएकी संगीता खड्काले भनिन्, ‘मूल्य मिलाउन खोज्दा र सामान मन नपरेर लिन नमान्दा अपमान गर्छन्।’
नेपाली उपभोक्तालाई भारतीय व्यवसायीले माग्न आएको जस्तो व्यवहार देखाउने गरेको उनी बताउँछिन्। नेपाली उपभोक्ता सामान किन्न रूपैडिया नजाने हो भने भारतीय व्यापारी आफैं सुध्रिने भन्दै उनले भनिन्, ‘म त अब रूपैडिया कहिल्यै जाँदिन। अरूलाई पनि नजान भन्छु। नेपाली उपभोक्ताको मात लागेका भारतीय व्यवसायीको व्यवहार अपमानजनक भएकाले सम्मानित रूपले आफ्नै सहर तथा बजार क्षेत्रमा किनमेल गरौं।’
नेपाली बजारमै किनमेल हुँदा त्यस्तो अपमान सहनु नपर्ने नेपालगञ्जका व्यवसायी विक्रम पुनले जनाए। ‘नेपालगञ्जमा पनि उपभोक्ताले धेरै मूल्य घटाएर सामान किनमेल गर्छन्,’ उनले भने, ‘तर, हामीले त कहिले पनि उपभोक्तालाई अपमान गरेनौं।’
दैनिक हजारौंको संख्यामा नेपाली उपभोक्ता भारतीय बजार रूपैडिया किनमेलका लागि जान्छन्। एकजनाले न्यूनतम पाँच हजारको सामान नेपाल भित्र्याउने गरेको बताइएको छ।
नेपालगञ्जका धेरै उपभोक्ताले दैनिक उपभोग्य सामान रूपैडियाबाटै खरिद गर्छन्। महिनामा एक पटक जाने र महिनाभरिलाई पुग्ने गरी सामान ल्याउने चलन छ। बाँकेसँगै बर्दिया, सुर्खेत र दाङबाटसमेत नेपाली उपभोक्ता किनमेलका लागि रूपैडिया पुग्छन्।
प्रकाशित: ४ मंसिर २०८० ०४:४९ सोमबार