दुग्ध विकास संस्थानले किसानबाट अहिले दैनिक करिब १ लाख ५५ हजार लिटर दुध खरिद गर्छ। तर बजारमा दैनिक १ लाख ५ हजार लिटर दुध मात्र बिक्री हुन्छ।
दुध बिक्री नभएपछि संस्थानले ५० हजार लिटर दुधबाट धुलो दुध र बटर बनाउँदै आएको छ। दसैं, तिहारजस्ता चाडमा पनि दुध खपत घटेपछि किसानबाट खरिद गरेको दुध व्यवस्थापन गर्न संस्थानलाई हम्मे परेको छ। दुग्ध संस्थानमा करिब ६५ करोड रूपैयाँको दुग्धजन्य वस्तु बिक्री नभएर स्टक छ। संस्थानले किसानलाई तिर्नुपर्ने ५५ करोड भुक्तानी गर्न ढिलाइ भएको छ।
सरकारी स्वामित्वको संस्थान मात्र होइन, निजी क्षेत्रका डेरी तथा उद्योगको अवस्था पनि उस्तै छ। दुध बिक्री नभएपछि चितवन मिल्क उद्योगले पनि दुधलाई धमाधम धुलो दुध र बटरमा परिणत गरिरहेको छ। धुलो दुध र बटरले उद्योगको गोदाम भरिएको छ। उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार करिब १ अर्ब रूपैयाँ मूल्यको दुग्धजन्य पदार्थ स्टक छ।
उपभोक्ताको क्रयशक्तिमा ह्रास आउँदा दुध खपत घटेको हो। दुधको माग घटेर उपभोगमा कमी आएपछि दुग्धजन्य वस्तुको स्टक बढेको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले बताए।
बोर्डले गरेको अध्ययनअनुसार दुध बिक्री नभएपछि निजी र सरकारी उद्योगमा करिब ९ अर्ब रूपैयाँको दुग्धजन्य पदार्थ स्टक छ। ‘बजारमा दुधको बिक्री घटेको छ,’ यादवले भने, ‘उद्योगका गोदाममा करिब ९ अर्ब रूपैयाँको दुग्धजन्य वस्तु स्टक छ।’
विगतमा विदेशबाट दुध आयात हुने गरेकोमा मुलुक दुधमा आत्मनिर्भर त बनेको छ तर किसानले उत्पादन गरेको दुध बिक्री नहुँदा समस्या भएको छ। किसानले उत्पादन गरेको दुध बजारमा बिक्री नभएपछि खरिदबापतको भुक्तानी उद्योगहरूले गर्न सकेका छैनन्।
१५–१५ दिनमा किसानलाई दुधको रकम भुक्तानी गर्दै आएका उद्योगहरूले दुई–तीन महिना बितिसक्दा पनि भुक्तानी गर्न सकेका छैनन्। समयमा रकम नपाउँदा पशुलाई दाना खुवाउन किसानलाई समस्या परेको छ।
किसानले पाउनुपर्ने करिब ४ अर्ब रूपैयाँ भुक्तानी बाँकी रहेको दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक यादवले बताए। ‘दुध बिक्री नभएपछि भुक्तानी हुन सकेको छैन,’ उनले भने, ‘किसानले समयमा रकम पाउन सकेका छैनन्।’
दुग्ध विकास संस्थानका अनुसार बजारमा दुधको खपत घटेपछि स्टक बढ्नुका साथै किसानलाई समयमा भुक्तानी गर्न नसकेको हो। दैनिक १ लाख ५५ हजार लिटर दुध संकलन गरे पनि बजारमा करिब १ लाख ५ हजार लिटर मात्र बिक्री भएको दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झाले बताए।
दुध बिक्री नभएपछि दैनिक ५० लाख लिटर दुधलाई धुलो दुध र बटर बनाएको झाले बताए। ‘दुध खपत नभएपछि धुलो दुध र बटर बनाएका छौं,’ उनले भने, ‘करिब ६५ करोड रूपैयाँको दुग्धजन्य वस्तु स्टक छ।’
संस्थानले विराटनगर, चितवन, पोखरामा धुलो दुध र बटर बनाएर राखेको उनले बताए। ‘भण्डारण क्षमता भरियो भने कहाँ राख्ने भन्ने चिन्ता छ,’ उनले भने, ‘बिक्री बनाउन मूल्यसमेत घटाएका छौं।’
दुध बिक्री नभएपछि निजी डेरीले कम दुध संकलन गरेका छन्। खपत कम हुँदा निजी डेरीले दुध संकलन घटाएपछि किसानले दुग्ध विकास संस्थानलाई बिक्री गर्न थालेका छन्।
संस्थानले काभ्रेबाट दैनिक २० हजार लिटर दुध संकलन गर्ने गरेकोमा अहिले ४६ हजार लिटर दुध संकलन गरिरहेको छ। दुध बिक्री नभएर स्टक राख्नुपरेपछि किसानलाई भुक्तानी गर्न पनि ढिलाइ भइरहेको झाले बताए। ‘१५/१५ दिनमा भुक्तानी दिने गरे अहिले दुई महिनासम्म पुगेको छ,’ उनले भने, ‘किसानको करिब ५५ करोड भुक्तानी गर्न बाँकी छ।’
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार बजारमा दुधको माग करिब २५ प्रतिशतले कमी आएको छ। ‘दसैं, तिहारमा केही बढेको होला,’ दाहालले भने, ‘दुधको खपत घटेपछि व्यवस्थापनमा कठिनाइ भएको छ।’
मुलुकमा देखिएको आर्थिक समस्या, युवा विदेश पलायन, सहरी क्षेत्रमा व्यापार–व्यवसाय गर्ने गाउँ जानु, निर्माण क्षेत्र रोकिनु, सहरी क्षेत्रमा काम गर्न आएकाहरू गाउँ फर्किनुजस्ता विविध कारणले दुधको माग घटेको दाहालको भनाइ छ।
काठमाडौंका फुटपाथमा पसल गर्नेहरू गाउँ फर्किएका कारणले समेत यस्तो भएको उनले बताए। ‘सहरमा अवसर नपाएपछि धेरै गाउँ फर्किए,’ दाहालले भने, ‘विविध कारणले दुधको माग घट्यो।’
बोर्डका अनुसार दैनिक ६५ लाख लिटरसम्म दुध उत्पादन हुन्छ। उत्पादित दुधमध्ये ३१ लाख लिटर बजारमा आउने गरेको छ। सरकारले दुधको न्यूनतम मूल्य लिटरमा ६५ निर्धारण गरेको भए पनि ७०–७२ रूपैयाँ लिटरमा बिक्री हुन्छ। एसोसिएसनका अध्यक्ष दाहालले दुध बिक्री नभएपछि किसानलाई समयमा भुक्तानी गर्न नसकेको बताउँछन्।
‘दुध बिक्री नहुँदा पाउडर र बटर बनाएर स्टक राख्नुपरेको छ,’ दाहालले भने, ‘चालु पुँजी स्टक हुँदा भुक्तानीमा ढिलाइ भएको छ।’ नेपालमा बिक्री नभएर स्टक भएपछि विदेशी बजारमा बिक्रीका लागि बजार खोज्नुपर्ने आवश्यकता देखिएको एसोसिएनका अध्यक्ष दाहालले बताए। ‘मुलुक दुधमा आत्मनिर्भर भएको छ,’ उनले भने, ‘निर्यातका लागि बजार खोज्नुपर्छ।’
पशुपालनमा निजी क्षेत्रलाई आकर्षित गर्दै व्यवसायीकरण गरी उत्पादन बढाउन सहयोग गर्दै आएको छ। प्रतिव्यक्ति ९१ लिटर दुध आवश्यक पर्ने बताइन्छ।
न्यूनतम पोषणका लागि दुध अनिवार्य आवश्यक मानिन्छ। क्रयशक्ति बढेपछि दुग्धजन्य वस्तुको उपभोग बढ्दै जाने भए पनि अहिले आर्थिक समस्याका कारण घटेको सरोकारवाला बताउँछन्।
मानव स्वास्थ्यका लागि अति आवश्यक चिल्लो पदार्थ, ल्याक्टोजिन, प्रोटिन, कार्बोहाइड्रेड, खनिज पदार्थ र भिटामिन दुधमा पाइने भएकाले यसको प्रयोग अनिवार्य मानिन्छ।
प्रकाशित: ४ मंसिर २०८० ०१:०६ सोमबार