२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

डिजेल कम खपत गराउने किट नेपालमा परीक्षणमा

कम्पनीको गाडीमा किट जडान गरिएको देखाउँंदै सिईओ इन्जिनियर कृष्णभक्त दुवाल।

डिजेल कम खपत गराउने हाइड्रोजन जेनेरेटर किट नेपालमा परीक्षणमा ल्याइएको छ।मित्रराष्ट चीनबाट  पहिलो पटक दुई वटा गाडीमा फिट गरेर यसको परीक्षण थालिएको हो। इको प्यानल (आधुनिक निर्माण सामाग्री) उत्पादन गर्दै गरेको लगानीकर्ताको समूहले दुई वटा गाडीमा यसको परीक्षण थालेको हो।

कम्पनीका दुई वटा गाडीमा फिट गरेर परीक्षण थालिएको हो। चीनले दावी गरे अनुसार डिजेल खपत कम गराएको नगराएको अवस्था नेपालको सन्दर्भमा ठिक छ छैन लगायतका विशेषता बुझ्न पहिलो पटक परीक्षणमा राखिएको जनाएको छ। नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले कम्पनीले पहिलो पटक कम्पनीकै दुई वटा गाडीमा जडान गरी परीक्षण सुरु गरेको जनाए। 

‘हिजोआज मात्रै चाइनाबाट ल्याएर हामीले परीक्षण थालेका छौं, इन्जिनियर दुवालले भने, ‘सफल भइयो भने नेपाल भित्राउने योजनाका साथ काम गरेका छौं।’उनका अनुसार यसका मुख्य चारवटा विशेषताहरु रहेका छन्।पहिलो डिजेल खपतमा २० प्रतिशत कम गराउने, गाडीले फाल्ने कार्वन मनोअक्साड ४० प्रतिशत कम फाली प्रदूषण न्युनीकरण गर्न सहयोग गर्ने, कार्वन डिपोजिशन कम गराएर गाडीको इन्जिनको आयु वढाउने वा गाडीको आयु वढाउने र शक्ति वढाउने अर्थात् गाडीलाई २५ प्रतिशतले शक्ति वढाउने काम गर्दछ।

 ‘चाइनिजहरुले यस्तो विशेषताहरु छन् भनिरहेका छन्, इन्जिनियर दुवालले थपे, ‘त्यहीकारण यसलाई पुष्टीका लागि हामीले परीक्षण थालेका हौं।’सफल परीक्षणपछि नेपालमा भित्राएर यसको पनि विक्रीवितरण सुरु गर्ने योजना रहेको उनले बताए।यो किटको प्रयोगले तीनथरीलाई फाइदा पुग्ने विश्वास छ।पहिलो गाडी प्रयोगकर्तालाई कम डिजेल खाने भएकोले, दोश्रो मुलुकलाई डिजेलको मात्रा कम मात्रै खपत गर्नुपरेर र तेस्रो वातावरण प्रदूषण कम भइ विश्वव्यापी प्रदूषण नियन्त्रण गर्न सहज हुने जनाइएको छ।

पोखराबाट काठमाडौं तिहार मनाउन आयका युवा बैङ्कर प्रदीप सुबेदीले देशको व्यापार सन्तुलनमा यसले सकरात्मक भूमिका खेल्ने विश्वास गरे । नेपाल ईको प्यानलका सञ्चालक सुवोध त्रिपाठीले धेरै नभई कमसेकम डिजेल खपतमा मात्रै पनि न्युनीकरण गर्न सकिए देशको अर्थतन्त्रमै सकारात्मक असर पर्ने सम्भाबना व्यक्त गरे।अहिले एक सय लिटर डिजेलको प्रयोगबाट गर्न सकिने यात्रामा ८० लिटर डिजेलले नै पूरा गरेपछि डिजेल आयातमा न्युनीकरण भइ नेपाली पैसा भारत नजाने उनको भनाई थियो।

यही कारण देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन आउने उनको ठम्याई छ।‘जस्तो कि दैनिक आठ घण्टा चल्ने स्काभेटरले प्रतिदिन अहिले १० लिटर डिजेल खाइरहेको छ भने यो किटको प्रयोगबाट आठ लिटर मात्रै डिजेल पुग्ने भयो, उनले भने।यस हिसावले डिजेलबाट चल्ने हजारौ सवारीसाधनमा त्यही अनुपातमा न्युन डिजेल खाने उनेका हिसाव थियो। 

नेपाल आयल निगमको तथ्यांक अनुसार भारतसँग पूर्ण रुपमा निर्भर पर्नुपर्ने डिजेलको आयातको अवस्था प्रत्येक वर्ष वढदो छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा ९६ अर्ब ७३ करोड रुपैयाँ खर्चिएर १६ लाख दुई हजार किलोलिटर डिजेल ल्याइएको थियो। त्यसको पाँच वर्षपछि पछिल्लो आर्थिक वर्ष २०७८/७९ एक वर्षमा १७ लाख ५४ हजार किलोलिटर खपत हुने गरी नेपालले डिजेल खरिदमा मात्रै भारतलाई १ खर्ब ६८ अर्ब २३ करोड रुपैयाँ बुझाएको तथ्यांक छ।बताइए अनुसार यस किटको लागि अनुसन्धान सन् २०१४ बाटै भएको थियो।चाइनिज र अमेरिकन अनुसन्धानकर्ताको संयुक्त टोलीले सफलतापूर्वक अनुसन्धान गरी अहिले चीनका साथै अन्य विभिन्न देशहरुमा यसको सफलतापूर्वक प्रयोग भइसकेको छ।यही तथ्यलाई मनन गरी नेपालमा पनि पहिलो पटक परीक्षण प्रयोग थालिएको हो।  

प्रकाशित: २९ कार्तिक २०८० ११:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App