२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रदेश सरकारका योजना अलपत्र, खेर जादैछ लगानी

कमलामाई नगरपालिका-५ मा बनेको प्रयोग विहीन रङ्गशाला। तस्बिर: अनिल/नागरिक<br>

सिन्धुलीमा बागमती प्रदेश सरकारले बनाएका दर्जनौँ योजनाहरू अलपत्र परेका छन्।

बागमती प्रदेश सरकारले जिल्लाका विभिन्न क्षेत्रमा गरेको लगानी अलपत्र खेर जान थालेको छ। प्रदेश सरकारको तल्लो तहसम्म निगरानी गर्ने संरचना नहुँदा बागमती प्रदेश सरकारमार्फत जिल्लामा सिधै आएको बजेटबाट निर्माणाधीन योजनाहरू अलपत्र परेका हुन्। 

प्रदेश सरकारले जिल्लाको विकासमा टेवा पुर्‍याउने उद्देश्यले पर्यटन तथा भौतिक पूर्वाधारमा लगानी गरेको भए पनि प्रत्यक्ष निगरानी नहुँदा योजनाहरू वर्षौँदेखि निर्माणाधीन अवस्थामा छन्।

बागमती प्रदेश सरकारको ७ करोड ४६ लाख रुपैयाँ बढी लागतमा सिन्धुलीको कमलामाई नगरपालिका ५ मा निर्माण भएको रङ्गशाला प्यारा फिट प्रयोग विहीन छ।  

सिन्धुलीको कमलामाई नगरपालिका-४ मा प्रदेश सरकारको बजेटबाट बनेको प्रयोगविहीन भ्यूटावर।

कमलामाई नगरपालिकामा खेल क्षेत्रलाई टेवा पुर्‍याउन बागमती प्रदेश सरकारकाले रङ्गशाला निर्माण गर्न थालेको हो कमलामाई नगरपालिका वडा नम्बर ५ मा रङ्गशाला निर्माण भई नगरपालिकालाई प्रदेश सरकारले हस्तान्तरण गरिसकेको भए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन।

१६ सय जनाले एकै पटकमा खेल हेर्न मिल्ने गरि संरचना निर्माण गरेको भए पनि खेलमैदान निर्माण हुन नसक्दा रङ्गशाला प्रयोगमा आउन सकेको छैन। खेल्न योग्य खेल मैदान निर्माण गर्न अझै धेरै बजेट लाग्ने भएकाले आवश्यक बजेटको अभावमा रङ्गशाला सञ्चालनमा नआएको स्थानीय एवं कमलामाई नगरपालिकाका अधिकृत सागरकुमार ढकालले बताए।  बागमती प्रदेश सरकारकै लगानीमा निर्माणाधीन दुधौली रङ्गशाला समेत अलपत्र छ। प्रदेश सरकारले कृषि क्षेत्र व्यावसायिकीकरण गर्न सामूहिक खेती गर्ने अभियान चलाएको भए पनि हालसम्म सफल हुन सकेको छैन।

यस्तै प्रदेश सरकारले महाभारत क्षेत्रका बस्तीलाई समेटेर बनाएको सडक पनि अलपत्र छ। सिन्धुलीगढी देखि चपौली नागी चालिसे सडक निर्माण गर्न २०७५ साल चैत २७ गते लुम्बिनी आत्रेय जेभी काठमाण्डाैँले २४ करोड ४० लाख ६४ हजार ८ सय २६ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। 

तर पाँच वर्षसम्म दश किलोमिटर सडक नबन्दा स्थानीय आक्रोशित बनेका छन्। स्तर उन्नति सहित कालोपत्रे गर्ने गरी निर्माण व्यवसायीले सिन्धुलीगढी हुँदै मझुवा नागी सम्म १० किलोमिटर सडकको निर्माण गर्ने जिम्मा लिएको थियो। तर समयमै सडक निर्माण नहुँदा जताततै पहिरो जानुका साथै बनाएको नाला समेत भत्किन थालेको छ। 

हालसम्म उक्त सडकको ८० प्रतिशत काम भइसकेको प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीका प्रमुख देवनारायण प्रसाद यादवले जानकारी दिए। बागमती प्रदेश सरकारको पर्यटन विकास आयोजनाले सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ मा बनाएको भ्यु टावर प्रयोग विहीन छ।

प्रदेश सरकारबाट भ्याट बाहेक १ करोड ९२ लाख २३ हजार ६ सय ४५ रुपैयाँ लागतमा बनेको भ्यु टावर निर्माण व्यवसायी ड्रागन कन्स्ट्रक्सन प्रालिले २०७८ साल जेठ १५ गते नै निर्माण सम्पन्न गर्नुपर्ने गरी कामको जिम्मा लिएको भए पनि पूर्ण रूपमा काम सम्पन्न नगर्दा हालसम्म टावर अलपत्र छ।

बागमती प्रदेश सरकारले सिन्धुलीको विकास गर्न पर्यटन कृषि, भौतिक पूर्वधार लगायतको क्षेत्रमा विशेष लगानी गरेको छ। सोही अनुसार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सिद्ध बाबा मन्दिर जाने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई भ्यु टावरबाट सिद्ध बाबा मन्दिर परिसर र सिन्धुली सदरमुकामको दृश्य हेर्नलाई सहज हुने भन्दै टावर बनाएको भए पनि प्रयोगमा आउन सकेको छैन।

बागमती प्रदेश सरकारको पर्यटन विकास आयोजनाले कमलामाई नगरपालिकालाई हस्तान्तरण नगर्दा भ्यु टावर अलपत्र परेको हो। निर्माण सम्पन्न भइसक्दा पनि प्रदेश सरकारले स्थानीय सरकारलाई हस्तान्तरण नगर्दा प्रयोग विहीन अवस्थामा भ्यु टावर रहेको स्थानीयले बताएका छन्। हालसम्म भ्यु टावर सञ्चालनमा नआउँदा टावरका झ्याल तथा सिसाहरू संरक्षणको अभावमा फुट्न थालेको छ।

भ्यूटावर सञ्चालनको कार्यविधि पास नभएकाले सञ्चालनमा आउन नसकेको कमलामाई नगरपालिका वडा नम्बर ४ का अध्यक्ष महेन्द्रप्रसाद ढकालको भनाई छ। ‘भ्यूटावर नगरपालिकाले सञ्चालन गर्छ त्यसका लागि आवश्यक छलफल भइरहेको छ’, उनले भने। 

प्रकाशित: २३ कार्तिक २०८० ०५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App