१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मुग्लिङ–पोखरा सडक:‘राज्यले बिछ्याएको वैधानिक धराप’

विगतमा स्थल मार्गबाट सवारीसाधनमा काठमाडौंदेखि पर्यटकीय सहर पोखरा ६ घण्टामा पुगिन्थ्यो। धेरैजसो यात्रुले काठमाडौंबाट पोखरा जान हवाईभन्दा स्थलमार्ग रोज्थे। तर अहिले परिस्थिति फेरिएको छ। काठमाडौं–पोखरा सडक मार्गको अवस्था बेहाल भएसँगै यात्रा सकसपूर्ण बनेको छ। विस्तार तथा स्तरोन्नतिको काम बेलैमा नसकिँदा यो सडक भताभुंग बनेको छ। अहिले स्थल मार्गबाट काठमाडौं–पोखरा पुग्न १२ घण्टाभन्दा धेरै समय छुट्याउनुपर्ने बाध्यता छ।  

यात्रा गर्दा धुवाँ, धुलो र हिलोको सामना गर्नुपर्ने बाध्यता छ। कतै पनि सग्लो र कालोपत्रे सडक भेट्टाउन मुस्किल पर्छ। संघीय सरकारले काठमाडौं नागढुंगादेखि मुग्लिनसम्म विश्व बैंकको ऋणमा सडक स्तरोन्नतिको काम अघि बढाइरहेको छ। अर्काे दातृ निकाय एसियाली विकास बैंक (एडिबी) कोे ऋणमा मुग्लिन–पोखरा सडक स्तरोन्नति भइरहेको छ। जसका कारण काठमाडौंदेखि पोखरासम्मको करिब दुई सय किलोमिटर सवारीसाधनबाट पार गर्न १२ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ।

ठेकेदार कम्पनीहरूको ढिलासुस्ती र आलटालकै कारण काठमाडौं–पोखरा खण्डमा यात्रा गर्ने सर्वसाधारण, सवारीचालकलगायतले खालका सास्ती बेहोर्नुपरेको हो। पोखराका पर्यटन व्यवसायी गणेशबहादुर थापाले सडकको दुरवस्थाका कारण पोखराको पर्यटन उद्योगमा ठूलो धक्का लागेको बताउँछन्। ‘काठमाडौं–पोखरा सडकको दुरवस्थाले पोखराको पर्यटन व्यवसायमा धक्का पुगेको छ,’ उनले भने, ‘सरकारले यो सडक स्तरोन्नतिको काम छिटो सकाउन पहल गर्नुपर्छ। अहिले यो सडक राज्यले बिछ्याएको वैधानिक धराप जस्तै भएको छ। यसबाट पर्यटन क्षेत्रले ठूलो मूल्य चुकाउनु परिरहेको छ।’ अस्तव्यस्त र असरल्ल सडकका कारण ६ घण्टाको यात्रा पूरा गर्न १२ घण्टाभन्दा बढी समय लाग्ने गरेको उनले बताए।  

सरकारले एडिबीसँग ऋण लिएर सन् २०२१ देखि मुग्लिन–पोखरा ८०.३३ किलोमिटर सडक खण्ड स्तरोन्नतिको काम गरिरहेको छ। तर ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण अपेक्षित प्रगति हुन सकेको छैन। काठमाडौं–पोखरा सार्वजनिक बसका चालक बन्दु शर्मा भन्छन्, ‘नागढुंगादेखि पोखरासम्मको सडक सग्लो भेटाउन मुस्किल पर्छ । सडक खल्डाखुल्डीका कारण एम्बुस जस्तै बनेको छ । यात्रुलाई समयमै गन्तव्यमा पुर्‍याउन सकिँदैन।’  

मुग्लिन–पोखरा सडकलाई दुई खण्डमा बाँडेर स्तरोन्नति गरिँदैछ । पूर्वी खण्ड आँबुखैरेनीदेखि तनहुँ जामुनेसम्म ४१.४५ किलोमिटर छ । यो खण्डको स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाएको छ । पूर्वी खण्ड स्तरोन्नतिको काम २५ अप्रिल २०२१ मा सुरु भएको थियो । यो खण्ड सन् २०२४ को अप्रिल १४ सम्म सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर प्रगति भने उत्साहजनक देखिन्न ।  

पूर्वी खण्डका योजना प्रमुख श्यामकुमार यादवले भौतिक प्रगति ३८ प्रतिशत मात्र भएको बताए । ‘पूर्वी खण्डमा लगभग साइट क्लियर भइसकेको छ,’ उनले भने, ‘ठेकेदार कम्पनीले काम गर्ने इच्छाशक्ति देखाउने हो भने चालु आवको अन्त्यसम्म २५ किलोमिटरसम्म सडक कालोपत्रे गर्न सकिने देखिन्छ ।’ उनले ८–१० ठाउँमा पहिरो नियमित झर्नेबाहेक अन्य ठाउँमा ठुला खालका समस्या नभएको बताए ।

‘तिहारपछिबाट ठेकेदार कम्पनीले निर्माणलाई तीव्रता दिने प्रतिबद्धता गरेको छ । पक्कै पनि काम अघि बढ्ने विश्वास गरेको छु,’ यादवले भने । पूर्वी खण्ड ६ अर्ब २१ करोड ३१ लाख रूपैयाँको लागतमा स्तरोन्नति भइरहेको छ । यो खण्डमा १७० वटा कल्भर्ट, १४ वटा माइनर पुल र तीनवटा मुख्य पुल निर्माण गर्नुपर्छ ।  

पश्चिम खण्डको प्रगति झनै नाजुक

मुग्लिन–पोखरा सडकको पूर्वीखण्डभन्दा पश्चिम खण्डको अवस्था झनै नाजुक छ । पश्चिम खण्ड तनहुँको जामुनेदेखि कास्कीको पोखरासम्म पर्छ । यो खण्डको लम्बाइ ३८.८८ किलोमिटर छ । यो खण्डको ठेक्का चिनियाँ कम्पनी अनहुई काइयुयान रोड एन्ड ब्रिजले पाएको छ । यो खण्ड स्तरोन्नतिको काम सन् २०२१ को अगस्ट २९ सुरु भएको थियो । स्तरोन्नतिको सबै काम २०२४ अगस्ट २८ भित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर प्रगति निराशाजनक देखिन्छ । ठेक्का अवधिको ७० प्रतिशत सकिँदा प्रगति मुस्किलले १२ प्रतिशत मात्रै भएको छ ।  

मुग्लिङ पोखरा सडक योजना पश्चिम खण्डका प्रमुख राजेशप्रसाद पौडेलले ठेकेदार कम्पनीले ठेक्का सम्झौता अनुसार काम गर्न नसक्दा यात्रुले सास्ती पाउँदै आएको बताए । ‘अस्तव्यस्त सडकका कारणले पर्यटकीय सहर पोखरा र काठमाडौं भित्रिने पाहुनाले दुःख पाइरहेका छन्,’ उनले भने, ‘ठेकेदार कम्पनीलाई योजनाबद्ध कार्ययोजनासहित अघि बढ्न निर्देशन दिँदै आइरहेका छौं । सम्भवः तिहारलगत्तै स्तरोन्नतिले गति लिने आशा गरेका छौं ।’ पश्चिमी खण्ड ७ अर्ब ४० करोड ४६ लाख ८० हजार रूपैयाँ लागतमा विस्तार गरिँदैछ । यो खण्डमा ११३ वटा कल्भर्ट, ८ वटा माइनर पुल र चारवटा मुख्य पुल बनाउनुपर्छ ।

असार मसान्तसम्म दुवै खण्डको समष्टिगत भौतिक प्रगति १८.५ प्रतिशत र वित्तीय प्रगति मोबिलाइजेसन रकमसहित २४.७ प्रतिशत छ । त्यस्तै १.६ किलोमिटर सडक कालोपत्रे भएको छ भने १४ वटा पुल निर्माण भएका छन् । १३२ वटा कल्र्भट निर्माण भएका छन् । ८ वटा पुल निर्माणाधीन अवस्थामा छन् । सरकारले चालु आर्थिक वर्षमा पूर्वी खण्डका लागि ३ अर्ब १० करोड ५८ लाख २५ हजार र पश्चिम खण्डका लागि २ अर्ब ५ करोड ५७ लाख २५ हजार रूपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित: २२ कार्तिक २०८० ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App