२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखरामा प्लाष्टिकका फूल र माला बिक्रीमा रोक

१२ पसल अनुगमन, ४० हजार जरिवाना, १ लाख १० हजारको माला जफत

बजार अनुगमन गर्ने क्रममा भेटिएको प्लाष्टिकजन्य फूलका माला। तस्बिरः नागरिक

नेपालीको दोस्रो महान पर्व तिहार नजिकिदै छ। तिहारकै छेकोमा प्लाष्टिकजन्य फूल गुच्छाको आयात पनि बढ्दै गएको छ। तर पोखरा महानगरपालिकाले बजार अनुगमन गरेर आयातित प्लाष्टिकजन्य फूलका गुच्छा तथा माला विक्री वितरणमा रोक लगाएको छ।

महानगरले गत वर्ष पनि बजार अनुगमन गरेर प्लाष्टिकका माला र फूल बिक्रीवितरण नगर्न व्यवसायीलाई समेत आग्रह गरेका थियो। तर कार्यान्वयन नभएपछि महानगरपालिकाले बजारका पसल अनुगमन गर्दै विक्री वितरणमा रोक लगाएको थियो ।  

महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा सोमबार पोखराका १२ वटा पसलहरुमा अनुगमन गर्दै प्लाष्टिकका फूल र माला बिक्रीमा रोक लगाएको हो। गतगर्ष बिक्री वितरण नगर्न अनुरोध गरिएका ७ पसललाई समेत कारबाही गरिएको छ। ती पसललाई ४० हजार जरिवाना गरिएको छ। अनुगमनकै क्रममा १ लाख ९ हजार ९ सय १० रुपैयाँ बराबरको प्लाष्टिकजन्य फूलका माला जफत गरिएको सहकारी उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले बताए।  

आगामी दिनमा प्लाष्टिकजन्य फूल गुच्छा, माला बिक्रीवितरण र भण्डार नगर्न निर्देशन समेत महानगरपालिकाले दिएको छ। अनुगमनमा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्की, गुणस्तर तथा नापतौल कार्यालय लगायता नियकायका प्रतिनिधि थिए।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले वातावरण सरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरी २०७९ साउन १२ गते राजपत्रमा सुचना प्रकाशित गरी सोही मितिदेखि प्लाष्टिकजन्य फूलका गुच्छा उत्पादन आयात, बिक्रीवितरण वा भण्डार गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको थियो। नेपाल सरकारको उक्त निर्णय विपरित कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐन २०७६ को दफा २२ को उपदफा ४ को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरिक्षकबाट १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले प्लाष्टिकजन्य सामाग्रीले वातावरणमा असर परेको पर्ने सुनाईन्। चाडपर्वमा प्लाष्टिकजन्य फूलको ब्यापार बढि हुने भएकाले अनुगमन गरिएको भन्दै उनले गत वर्ष सचेत गराइएका केही ब्यापारिलाई जरिवाना सहित फूलका माला जफत गरिएको स्पष्ट पारिन्।

महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले सानोदेखि होलसेल पसलसम्म अनुगमन गरिएको बताए। प्लाष्टिकजन्य सामाग्री नेपाल बाहिरबाट आयात हुने र अर्थतन्त्र बाहिरिने तथा मानव जीवनमा समेत नकरात्मक प्रभाव पर्ने भएकाले रोक लगाइएको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए। ‘प्लाष्टिकजन्य फूलमाला विक्री वितरणमा रोक लगाउदा स्थानीय फूलले बजार पाउने र यसले वातावरणमा पार्ने नकरात्मक प्रभावलाई कम गर्छ,’ उनले भने।

प्रकाशित: २१ कार्तिक २०८० ०८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App