१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

तनहुँ जलविद्युत् आयोजना: मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो

एक सय ४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइएको छ। ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मि. अग्लो कंक्रिटको मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ। डाइभर्सन सुरुङमार्फत फर्काइएको पानी मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ।

जिल्ला समन्वय समिति, तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लिमिटेडका सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ, तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र एसियाली विकास बैंकका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुङ्गाले सोमबार बेलुन उडाएर नदी फर्काउने कार्य शुभारम्भ गरे।

अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउन करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध (कफर ड्याम) निर्माण गरिने छ। सो बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नदी फर्काउने कार्य आयोजना निर्माणका लागि एउटा महत्पूर्ण फड्को भएको बताए। विगतमा परामर्शदाता र निर्माण व्यवसायी छनोटमा केही ढिलाइ भए तापनि अहिले नमुना आयोजनाको रूपमा अगाडि बढाउने गरी काम भइरहेको उल्लेख गर्दै घिसिङले समयमै सम्पन्न गर्ने गरी तदारुकताका साथ काम भइरहेको बताए।

आयोजनाको समग्र निर्माण प्रगति करिब ४६ प्रतिशत रहेको छ। समग्र निर्माण कार्य २०८३ असारभित्र (सन् २०२६ मे) मा सक्ने लक्ष्य राखिएको छ।

जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले आयोजनाले महत्वपूर्ण चरण पार गरेको बताउँदै आयोजना जतिसक्दो छिटो निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिए। उनले निर्माणमा आइपर्ने स्थानीय समस्याहरूलाई संयुक्त रूपमा समाधान गरी निर्माणमा अवरोध हुन नदिने प्रतिबद्धता जनाए।

व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले निहित स्वार्थका व्यक्तिहरूबाट सतर्क भएर तोकिएकै समयमा आयोजना सम्पन्न गरिनुपर्ने बताए । भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदीले देशमा केही नभएको भन्ने गुनासो जताततै सुनिरहेका बेलामा आयोजना निर्माण नयाँ चरणमा प्रवेश गरी सकारात्मक सन्देश दिएको बताए।

तनहुँका प्रमुख जिल्ला अधिकारी रिजालले तनहुँ जलविद्युत्को प्रकृति, लागत, यसले सिर्जना गर्ने रोजगारीलगायतका आधारमा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा घोषणा गरिनुपर्ने बताए। उनले स्थानीय तह र प्रशासनको समन्वयकारी भूमिकाका कारण आयोजना हालको अवस्थामा पुगेको बताए।

एडिबीका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुंगाले कालीगण्डकी जलविद्युत् निर्माण सम्पन्न भएपछि बैंकले तनहुँ जलविद्युत् आयोजनामा लगानी गरेको उल्लेख गर्दै आयोजनाले अवलम्बन गरेका सामाजिक र वातावरणीय सुरक्षणका क्रियाकलापलाई नमुनाको रूपमा दूधकोसी जलविद्युत् आयोजनामा लागु गर्न सकिने बताएका छन्। उनले विगत वर्षदेखि नेपालको ऊर्जा क्षेत्रमा गर्व गर्न लायक कामहरू भएको बताउँदै दुधकोशी जलविद्युत्जस्ता ठूलो आयोजनाहरूमा एडिबीले लगानी गर्न लागिरहेको उल्लेख गरे।

तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले कुलेखानीपछि बन्न लागेको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गरिएको बताए। उनले आयोजना निर्माणमा स्थानीय तह, प्रशासन, स्थानीय बासिन्दालगायत सबैको साथ र सहयोग रहेको उल्लेख गरे।

आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ। प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण गर्न सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन (प्र.) लि. नेपाल जे. भी.सँगकोे ठेक्का सम्झौता २०७८ भदौ १४ बाट कार्यान्वयनमा आएको थियो।

निर्माण व्यवसायीले हाल अर्को डाइभर्सन सुरुङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ र बायाँबाट भिरालो पहाड काट्ने कार्य गरिरहेको छ। सो कार्यको प्रगति करिब ५४ प्रतिशत छ। प्याकेज–१ को समग्र प्रगति २५ प्रतिशत छ।

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग २०७५ असोज १५ मा खरिद सम्झौता भएको थियो। निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौताबमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनो हाइड्रोले २०७५ माघ  ६ बाट आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ।

भूमिगत विद्युत् गृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ तथा टर्वाइनलगायतका उपकरण जडान भइरहेको छ। टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ मुख्य सुरुङ खनिरहेको छ। यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशतभन्दा बढी छ भने समग्र प्रगति करिब ४७ प्रतिशत छ।

प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका के.इ.सी. इन्टरनेसनल लिमिटेड, भारतसँग मिति २०७५ पुस १० मा भएको खरिद सम्झौता २०७५ फागुन  १० मा कार्यान्वयनमा आएको थियो । ३४.७ कि.मि. प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ६९ वटा टावरहरूको जग हालिएको छ भने ३३ वटा टावर खडा गरिएको छ। यो प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको छ।

आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्न नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ।

प्रकाशित: २१ कार्तिक २०८० ०२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App