२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हिमाल आरोहण अनुमतिबाट साढे पाँच करोड दस्तुर संकलन

पुथा हिमचुली। तस्बिर सौजन्यः हिमालयन ट्रेकर्स

मुलुकको पर्यटन क्षेत्रको विकास तथा बिस्तारमा हिमाल आरोहण र उच्च हिमाली भेग पदयात्रा गर्न आउने पर्यटकको योगदान सबैभन्दा बढी छ। अन्य क्षेत्रमा आएका पर्यटकभन्दा हिमाल चढ्न आएका पर्यटकको संख्याले कोभिड महामारीपछि ठप्प भएको पर्यटनक्षेत्रको पुनरुत्थान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

होटल, रेष्टुरेन्ट लगायतका अन्य क्षेत्रभन्दा हिमाल आरोहणको क्षेत्रमा पर्यटन व्यवसायीले राहत महसुस गरेका छन्। यसै क्रममा सरकारले शरद ऋतुमा हिमाल आरोहण दस्तुर बापत पाँच करोड रूपैयाँभन्दा बढी रकम संकलन गरेको छ। पर्यटन विभागको तथ्याङ्क अनुसार ४२ वटा हिमालबाट सरकारले पाँच करोड ७७ लाख रूपैयाँ हिमाल आरोहण अनुमतिबापत संकलन गरेको हो।

कुल एक सय १४ समूहका आठ सय ८१ जना आरोहीले हालसम्म विभिन्न हिमाल आरोहणका लागि विभागबाट अनुमति लिएका छन्। जसमा सात सय दुई जना पुरूष र एक सय ७९ जना महिला अरोहीहरू रहेको विभागले जनाएको छ।

शरद ऋतुका असोज, कात्तिक र मंसिर महिनामा दोस्रो धेरै संख्यामा आरोहीहरू हिमाल चढ्ने गरेका छन्। शरद ऋतुको असोज २६ गतेसम्म ७० मुलुकका एक हजार ३८ जनाले विभागबाट विभिन्न हिमाल आरोहण गर्न अनुमति लिएका छन्। हिमाल आरोहणका लागि दोस्रो धेरै चढिने ऋतु यही भएका कारण अनुमति लिनेको संख्या अझै थपिने विभागले जनाएको छ।

विभागको तथ्याङ्क अनुसार ४२ वटा हिमालमध्ये सबैभन्दा धेरै अनुमति दस्तुर रकम संकलन भएको छ। आठ हजार एक सय ६३ मिटर उचाइ रहेको मनास्लु हिमालबाट हालसम्म तीन करोड ४० लाख रूपैयाँभन्दा बढी रकम अनुमति दस्तुर बापत संकलन भएको छ। २७ समूहका दुई सय ३६ जना पुरूष र ६५ जना महिला आरोही गरी तीन सय एक जना आरोहीले हालसम्म मनास्लु हिमाल आरोहणका लागि विभागबाट अनुमति  लिएका छन्।

मनास्लु दोस्रो नम्बरमा अमादब्लम हिमालबाट अनुमति दस्तुर बापत धेरै रकम उठेको छ। ६ हजार आठ सय १२ मिटर अग्लो उचाइ रहेको अमादब्लम हिमालको अनुमति दस्तुरबापत एक करोड ५१ लाख रूपैयाँ विभागले संकलन गरेको छ।

कुल एक सय ९८ जनाले अमादब्लम हिमाल अरोहण गर्न अनुमति लिएकोमा एक सय ६६ पुरूष र ३२ जना महिला आरोही रहेका छन्।

अमादब्लम हिमाल आरोहणका लागि हालसम्म १८ समूहले विभागबाट अनुमति लिइसकेका छन्।

यस्तै हिमलुङ हिमालबाट विभागले ३३ लाख ८६ हजार रूपैयाँ बढी रकम संकलन गरेको छ। कुल १४ समूहका एक सय ११ जना आरोहीले सात हजार एक सय २६ मिटर अग्लो उचाइ भएको हिमालुङ हिमाल आरोहणका लागि अनुमति लिएका छन्। जसमा ८६ जना पुरूष र २५ जना महिला अरोही रहेका छन्।

हिमलुङ हिमालपछि धौलागिरी हिमालबाट यस ऋतुमा धेरै अनुमति दस्तुर रकम संकलन भएको छ। विभागको जानकारी अनुसार कुल चार समूहबाट २३ जना आरोहीले धौलागिरी हिमालको लागि अनुमति लिएका छन्। आठ हजार एक सय ६७ मिटर अग्लो उचाइ भएको धौलागिरी हिमालका लागि हालसम्म १२ पुरूष र ११ महिला आरोहीले अनुमति लिएका छन्।

पुथा हिउँचुली हिमालले पनि १० लाख ९४ हजार रूपैयाँभन्दा बढी रकम अनुमति दस्तुर बापत संकलन गरेको छ। क्रमिक रूपले चोयु हिमाल, जुगल हिमाल, रत्नचुली हिमाल लगायतका ४२ हिमाल आरोहणका लागि विभिन्न राष्ट्रका आरोहीले विभागलाई हिमाल अनुमति दस्तुर बापतको रकम तिरेका छन्।

विभागले ऋतु र हिमाल अनुसार फरकफरक आरोहण दस्तुर रकम निर्धारण गरेको छ। विदेशी नागरिकका लागि विभागले शरद ऋतुमा सगरमाथा आरोहण गर्न पाँच हजार पाँच सय अमेरिकी डलर दस्तुर रकम बापत लिन्छ भने नेपालीका लागि ३७ हजार पाँच सय रूपैयाँ मात्र लिने गरेको छ।

यस्तै आठ हजारमाथि उचाइ भएका हिमालका लागि विभागले अनुमति बापत विदेशी नागरिकका लागि शरद ऋतुमा नौ सय अमेरिकी डलर लिने गरेको छ भने नेपालीले पाँच हजार रूपैयाँ मात्र तिरे पुग्छ।

हिमाल आरोहण गर्नेहरूको संख्या ऋतु अनुसार घटबढ हुने गरेको छ। शरद ऋतुमा मनास्ल र अमादब्लम हिमाल चढ्ने आरोहीहरू धेरै हुन्छन् भने वसन्त ऋतुमा सगरमाथा हिमाल चढ्ने आरोही धेरै हुन्छन्।

यस वर्षको शरद ऋतुमा हालसम्म एक हजार ३८ जनाले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन्। जसमध्ये विभिन्न मुलुकका आठ सय २६ जना पुरूष र दुई सय १२ जना महिला आरोही रहेका छन्।

यसै क्रममा सबैभन्दा धेरै संख्यामा हिमाल आरोहण अनुमति लिने राष्ट्रमा अमेरिका पहिलो स्थानमा छ। विभागको तथ्याङ्क अनुसार एक सय आठ जना अमेरिकी नागरिकले हिमाल आरोहणका लागि अनुमति लिएका छन्। जसमा ९८ जना पुरूष र १६ जना महिला आरोही रहेका छन्।

अमेरिकापछि जर्मनी दोस्रो स्थानमा रहेको छ। जर्मनीका ८० जनाले विभागबाट विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन्।

जर्मनीबाट ६३ पुरूष र १७ महिलाले विभागबाट हिमाल आरोहणका लागि अनुमति लिएका छन्। जर्मनीपछि चीनका आरोहीले धेरै अरोहण अनुमति लिएका छन्। जर्मनबाट ५१ पुरूष र १८ जना महिला आरोहीले विभागबाट अनुमति लिएका छन्।

यस्तै रसियाको ५८ जनाले विभागबाट हिमाल आरोहणका लागि अनुमति लिएका छन्। जसमा ४४ पुरूष र १४ महिला आरोही रहेका छन्। हालसम्म ७० राष्ट्रका नागरिकले विभागबाट अनुमति लिइसकेका छन्।

प्रकाशित: ३ कार्तिक २०८० ००:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App