१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

डलरको भाउ बढ्दा सामान महँगिने

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेपछि त्यसको असर नेपाली बजारमा पर्ने भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार एक अमेरिकी डलरको सटही (विनिमय) दर एक सय ३३ रूपैयाँ ५५ रूपैयाँ पुगेको छ।

गत असोज ७ मा एक अमेरिकी डलरको विनिमय दर एक सय ३३ रूपैयाँ ५४ रूपैयाँ पुगेको भए पनि मंगलबार सो भन्दा एक पैसा बढी छ।

डलरको सटही दर महँगो हुँदा नेपाली उपभोक्ताले प्रयोग गर्ने सामानको भाउ महँगो हुन्छ। जानकारहरू आयातमा आधारित अर्थतन्त्र रहेकाले त्यसको असर बजार र उपभोक्तामा पर्ने बताउँछन्।

अमेरिकी डलर बलियो हुँदा नेपाली मुद्रा कमजोर हुन्छ। त्यसले अर्थतन्त्रमा प्रभाव पार्छ। डलर बलियो हुँदा विदेशबाट आउने रेमिटेन्समा फाइदा पुग्छ भने आयातित वस्तुको मूल्य महँगो हुन्छ।

गत साउन १८ गते एक सय २६ रूपैयाँ २५ पैसामा झरेको डलरको भाउ फेरि उकालो लागेको हो। जानकारका अनुसार विश्व बजारमा डलरको माग बढेपछि बलियो भएको हो।

लगानीकर्ता डलरमा आकर्षित भएपछि मूल्य निरन्तर बढिरहेको छ। लगानीकर्ताले आफ्नो लगानी सुरिक्षत गर्न डलर रोजाइमा पारेपछि भाउ दिनानुदिन बढिरहेको हो।

विश्वभरका लगानीकर्ताले अमेरिकी डलरलाई सम्पत्ति मान्छन्। अन्य क्षेत्रमा जोखिम बढेपछि डलरमा लगानी गरेर आफ्नो सम्पत्ति सुरिक्षत गर्छन्। पछिल्ला दिनमा विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो। डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्राको भाउ घटेको हो।

नेपालको भारतीय रूपैयाँसँग स्थिर विनिमय दर छ। भारु कमजोर हुनासाथ त्यसको असर नेपाली रूपैयाँमा पर्छ। डलरको भाउ बढ्दा रेमिटेन्स आयातमा फाइदा हुने भए पनि नेपाल जस्तो वैदेशिक व्यापारमा निर्भर मुलुकमा भने असर पर्छ।

नेपाली रूपैयाँ कमजोर र अमेरिकी डलर बलियो बन्न पुग्दा विदेशबाट आयात हुने सामान महँगो पर्छ। डलरको भाउ बढ्दा तेस्रो मुलुक (भारतबाहेक) बाट आयात हुने सामानको मूल्य पनि बढ्ने राष्ट्र बैंकका अधिकारी बताउँछन्। यसले बजारमा मुद्रास्फीति बढाउँछ।

प्रकाशित: १ कार्तिक २०८० ०४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App