१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एनआरएनए निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा

अध्यक्षका प्रत्यासी क्रमशः महेश श्रेष्ठ, डा. बद्री केसी र आरके शर्माको समूह।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबारबाट सुरु भएको छ। सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन्। एनआरएनए विदेशमा बसेर विभिन्न पेसा, व्यवसाय गर्नेहरूको संस्था भए पनि पार्टीगत आधारमा प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन्।

एनआरएनएको महाधिवेसनले अध्यक्ष, एक महिला र युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ।

एनआरएनएको महाधिवेशनमा ८७ शाखाको अधिवेशनबाट प्रतिनिधित्व गर्ने चार हजार दुई सय २७ प्रतिनिधिले मतदान गर्नेछन्। एनआरएनएले ९६ हजार संगठित सदस्य रहेको जनाएको छ।

एनआरएनएमा ७४ पदका लागि एक सय २० जनाको उम्मेदवारी रहेको छ। ६ जना उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुईजनाबीच प्रतिस्पर्धा हुँदैछ।

दुई उपमहासचिवमा पाँचजनाले र ६ जना सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्।

अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराए पनि मुख्य प्रतिस्पर्धा तीन जना आकांक्षीबीच देखिएको छ। अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका अध्यक्षद्वय बद्री केसी (रुस) र रविना थापा (अमेरिका), उपाध्यक्ष महेश श्रेष्ठ (जापान), आरके (राजेन्द्र कुमार) शर्मा (कतार)चुनावी मैदानमा छन्।

अध्यक्षका प्रत्यासी केसी नेकपा एमाले, श्रेष्ठ नेपाली कांग्रेस, थापा कांग्रेस र शर्मा माओवादी केन्द्र निकट हुन्। कांग्रेस निकट थापाले कुनै समूहमा आबद्ध नभई उम्मेदवारी दिएकी छन्, उनलाई संस्थागत रूपमा कांग्रेसको सहयोग पनि रहेको देखिँदैन। मुख्य प्रतिस्पर्धा केसी, श्रेष्ठ र शर्माबीच रहेको जानकारहरू बताउँछन्।

अध्यक्षका प्रत्यासी तीन जना प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन्। केसी र श्रेष्ठले महासचिवसहितको प्यानल बनाएका छन् भने शर्माले महासचिवको उम्मेदवार बनाउन सकेका छैनन्। अध्यक्षका प्रत्यासीले विभिन्न प्रतिवद्धता जनाएका छन्।

अध्यक्षका प्रत्यासी डा. बद्री केसीले विभिन्न प्रतिवद्धता जनाएका छन्। केसीले संस्थालाई अझ उचाइमा पुर्‍याउने बताए। विदेशबाट ज्ञान, अनुभव र सिप ल्याउँदै संघमार्फत नेपालमा लगानी भित्र्याउने बताए।

व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, संस्थागत पुनः संरचना एवं सुदृढीकरण, हकहित तथा अधिकार स्थापित गर्दै ज्ञान, सिप र प्रविधिसहितको एनआरएनए बनाउने उनले जनाएका छन्।

अध्यक्षका अर्का प्रत्यासी श्रेष्ठले एनआरएनएलाई पटकपटक वैधानिक रूपमै विभाजित गर्ने प्रयास गर्दा त्यसलाई आफूले रोकेको दाबी गर्दै दुई वर्षभित्र परिणामुखी काम गर्ने प्रतिबद्धता जनाए।

नेपालको समृद्धिका लागि लगानी भिœयाउने सवालमा र एनआरएनएलाई मजबुत बनाउन पाँच बुँदे एजेन्डाहरू लिएर चुनावी मैदानमा उत्रिएको उनले बताए। अध्यक्षका प्रत्यासी शर्मा २४ बुँदे वाचापत्रसहित चुनावी मैदानमा छन्।

गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएनए’ बनाउने दाबी गरे। वैदेशिक रोजगार, दक्ष जनशक्ति, सुरक्षित वातावरण र सामाजिक सुरक्षालाई कार्यान्वयन गर्ने प्राथमिकता तय गरेको उनले बताए।

अध्यक्षका प्रत्यासी महेश श्रेष्ठले आफ्ना एजेन्डा मिल्नेलाई समूहमा राखेको दाबी गरे पनि उनको प्यानलमा अधिकांश कांग्रेस निकटका रहेका छन्।

श्रेष्ठको प्यानलमा उपाध्यक्षका उम्मेदवारहरू डा. केशव पौडेल (अमेरिका), गंगाधर गौतम (बेल्जियम), नारायण आचार्य (नेदरल्यान्ड), सुनिल साह (अमेरिका), राज रेग्मी (कतार), रोबिन शेरचन (जापान), रोजिना प्रधान राई (बेलायत) रोशन थापा, महासचिवमा बुद्धि सुवेदी (अमेरिका) रहेका छन्।

त्यसैगरी, उप–महासचिव पदका सोम सापकोटा (बेलायत), प्रवीण गुरुङ (कतार), सचिव पदमा दयानिधि सापकोटा (बेलायत), मनोज श्रेष्ठ गोर्खाली (युएई) भीम केसी कमल (पोर्तुगल), कृष्णजीवी पन्त (अमेरिका) स्वतन्त्र प्रताप शाह (अष्ट्रेलिया), केपी सिटौला (दक्षिण कोरिया), महिला सचिव विमला सापकोटा (क्यानाडा) रहेका छन्।

त्यसैगरी, कोषाध्यक्षका उम्मेदवार ठाकुर ढुंगाना (युएई), सहकोषाध्यक्षको उम्मेदवार तिलक गैरे (पोर्तुगल), कृष्ण तिमल्सिना (बेलायत), मोहम्मद मुक्तदा मुसलमान (कतार) रहेका छन्।

त्यस्तैगरी, महेशको समूहबाट महिलातर्फ सह–कोषाध्यक्षका उम्मेदवार तृष्णा शर्मा काफ्ले (अमेरिका), युवा संयोजकका उम्मेदवार रविन अधिकारी, महिला संयोजककी उम्मेदवार अनुजा प्रधान, युरोप संयोजक चिन्तामणि सापकोटा (बेल्जियम) रहेका छन्।

एमाले निकटका बद्री केसीले केही कांग्रेस निकटका गैरआवासीय नेपालीलाई पनि आफ्नो समूहमा ल्याएका छन्। केसीको समूहबाट महासचिवमा गौरीराज जोशी रहेका छन्।

त्यसैगरी, उपाध्यक्षहरूमा रामशरण सिम्खडा (बेलायत), डा. हेमराज शर्मा (बेलायत), डा. बिनोद श्रेष्ठ (अस्ट्रेलिया), रोविन शेरचन (जापान), चिरञ्जीवी घिमिरे (क्यानडा), महिला उपाध्यक्ष यसमिन बेगम सैयद (साउदी अरब) र युवा उपाध्यक्षमा रोशन थापा (जाम्बिया) रहेका छन्।

केसीको प्यानलबाट उपमहासचिवमा प्रमोद सिटौला (अमेरिका), सन्तोष भण्डारी (जर्मनी), सचिवमा यज्ञराज सुवेदी (दक्षिण कोरिया), पारशमणि पोखरेल (जापान), नवराज रोस्यारा (जर्मनी), प्रकाश सापकोटा (अमेरिका), ज्ञानेन्द्र रेग्मी (अस्ट्रेलिया), राधिका गुरुङ (हङकङ) रहेका छन्।

त्यसैगरी, कोषाध्यक्षमा सुदन थापा (जापान), सह–कोषाध्यक्षमा ददिवल खड्का (जापान), सिपी पौडेल (कतार), अभिमन्यु बस्नेत (क्यानाडा), अमृत थापा (चीन) रहेका छन्। त्यसैगरी, महिला संयोजकमा बेल्जियम र युवा संयोजक सुपेन्द्र घिसिङ (जापान) रहेका छन्।

यस्तै, नेकपा माओवादी केन्द्र निकटका आरके शर्मा पनि प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन्। शर्माको प्यानलबाट उपाध्यक्षहरूमा खगेन्द्र न्यौपाने (मलेसिया), रोविन्द्र श्रेष्ठ ‘गोविन्द’ (जापान ), राजु रेग्मी ‘राज’ (कतार), विजय मोक्तान (जर्मनी) , शशी पौडेल (होल्यान्ड), अभिमानसिंह बस्नेत (अस्ट्रेलिया), युवा उपाध्यक्ष अबदुल बासिद (कतार) रहेका छन्।

अध्यक्षका प्रत्यासी शर्माको प्यानलबाट महासचिव पदमा उम्मेदवार छैनन्। त्यसैगरी, उपमहासचिवमा प्रवीण गुरुङ (कतार), सचिव लोक दाहाल (बेल्जियम), टंक गैरे (जापान), आरसी पोखरेल (अमेरिका), मनोज कुमार (युएई), कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना (युएई), महिला संयोजक देवी केसी गुरुङ रहेका छन्। उपाध्यक्षका उम्मेदवार राज रेग्मीलाई श्रेष्ठ र शर्मा दुवैले आफ्नो प्यानलमा राखेका छन्।

मंगलबार सुरु भएको महाधिवेशन कात्तिक ३ गतेसम्म चल्नेछ। कात्तिक २ गते मतदान गर्ने निर्वाचन तालिका छ। अनलाइन र भौतिक उपस्थितिमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

महाधिवेशनमा चार हजार दुई सय २७ मतदाता छन्। अध्यक्ष पदमा श्रेष्ठसहित चार जनाको उम्मेदवारी परेको छ भने महासचिवमा सुवेदीसहित दुई जनाको उम्मेदवारी परेको निर्वाचन समितले जनाएको छ।

नेपालमा लगानी गर्न राष्ट्रपतिको आग्रह

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबारबाट सुरु भएको छ। सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगानी गर्न गैरआवासीय नेपाली (एनआरएनए) लाई आग्रह गरेका छन्। ‘ज्ञान र रूपान्तरणः समृद्धिको आधार’ भन्ने नारासाथ सुरु भएको एनआरएनएको विश्व सम्मेलन उद्घाटन गर्दै यस्तो धारणा राखेका हुन्।

नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उँचो हुने बताए।

‘नेपालको लगानीको अपार सम्भावनाको सदुपयोग गर्नुहोस्,’ राष्ट्रपति पौडेलले भने, ‘तपाईंहरू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरूलाई समेत यहाँ ल्याउनु होस्।’

उनले नेपाल र नेपालीको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने कार्यमा ठोस योगदान पु¥याउने अपेक्षा व्यक्त गरे। राजनीतिक परिवर्तन पश्चात् देश आर्थिक विकासको चरणमा प्रवेश गरेको बताउँदै नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूवार्धार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उनले बताए।

 भारत र चीनजस्ता विश्वकै ठूलो जनसंख्या र बृहत् बजारहरू समीप र पहुँच रहेको बताउँदै त्यसबाट लाभ लिनुपर्ने धारणा राष्ट्रपति पौडेलले राखे। उनले नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकिकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रित भएको बताए।

‘बहुपक्षीय साझेदारी अत्यावश्यक तत्व हो,’ राष्ट्रपति पौडेलले भने, ‘विदेशमा आर्जेको पुँजी, ज्ञान, सिप, अनुभव, लगानी र उद्यमशीलता सान्दर्भिक तथा उपयोगी सावित हुन सक्छ।’

एनआरएनएलाई नेपाली नागरिकता

विदेशमा बस्ने गैरआवासीय नेपालीहरूले नागरिकता पाएका छन्। सरकारले मंगलबारदेखि औपचारिक रूपमा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा आयोजित कार्यक्रममा एनआरएनएका वर्तमान दुई अध्यक्षलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन्।

एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्षहरू कुल आचार्य र बद्री केसीलाई प्रधानमन्त्री दाहालले नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरे।

आचार्यको जिल्ला प्रशासन कार्यालय पर्वतबाट र केसीको जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकताको प्रमाणपत्र जारी भएको हो।

प्रकाशित: १ कार्तिक २०८० ०३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App