२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पोखराको तोरीपानीबाटै पुनः थालियो पाराग्लाइडिङ

पाराग्लाइडिङको उडान पुनः पोखराको तोरीपानीबाट गर्न सुरु गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै तोरीपानीबाट बन्द गरिएको पाराग्लाडिङ उडान नौ महिनापछि पुनः पोखरा–१८ तोरीपानीमै फर्किएको हो ।

विमानस्थल सञ्चालनमा असर गर्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरा–१८ स्थित सराङकोट र तोरीपानीबाट पाराग्लाडिङ उडान बन्द गरेको थियो । प्राधिकरणको सो निर्णयसँगै पाराग्लाडिङ पोखराबाट विस्थापन हुने भन्दै चिन्ता व्यक्त गरिएको थियो । पोखराबाटै पाराग्लाडिङ विस्थापित हुने चिन्ता र चासो सर्वत्र भएपछि क्यानले त्यसको विकल्पको खोजी गरेर मान्द्रेढुंगाबाट पाराग्लाडिङ उडान गर्न अनुमति दिएको थियो ।

मान्द्रेढुंगाबाट उडान हुँदा पाराग्लाडिङमा पहिलेजस्तो आकर्षण देखिएन । भौगोलिक विकटता, जीर्ण सडक, लामो दूरी, खराब मौसम र तुलनात्मक रूपमा प्राकृतिक सुन्दरताको कमीका कारण मान्द्रेढुंगाबाट पाराग्लाडिङ गर्नेको चाप घट्दा व्यवसायी निराश थिए । जसको फलस्वरूप पोखराबाट कतै पाराग्लाडिङ विस्थापित हुने त होइन भन्ने चिन्ता बढ्दै गएको थियो ।

क्यानले पोखराबाट पाराग्लाडिङ विस्थापन होइन, व्यवस्थापन गरेर स्थापित गर्नुपर्ने भन्दै यसको अध्ययन सुरु गरेको थियो । अध्ययनका क्रममा तोरीपानीबाट पाराग्लाडिङ उडान गर्दा विमानस्थल सुरक्षामा कुनै असर नगर्ने देखिएपछि पुनः तोरीपानीबाट उडान भर्न दिने निर्णय गरेको थियो । सो निर्णयको एआइपी प्रकाशित गरेसँगै आइतबारबाट तोरीपानीबाटै उडान भर्न सुरु गरिएको जानकारी नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिलबहादुर भट्टराईले दिए । 

मान्द्रेढुंगा भन्दा तोरीपानी भौगोलिक हिसाबले सुगम, दूरीका हिसाबले नजिक, प्राकृतिक हिसाबले सुन्दर, बाटो पनि सहज भएकाले पर्यटक पुनः आकर्षित हुने अध्यक्ष भट्टराईको विश्वास छ । त्यतिमात्र होइन मान्द्रेढुंगाको भन्दा तोरीपानीको मौसम प्रायः सफा हुन्छ, उनले भने, ‘पोखराको अधिकांश ठाउँबाट पाराग्लाडिङ गरेको देखिने भएकाले पनि पर्यटकले अरूले गरेको देखेर पाराग्लाडिङ गर्न आउने संख्या बढ्छ ।’ यद्यपि मान्द्रेढुंगाबाट पनि उडान निरन्तर गरिने उनले बताए । ‘खास गरेर सोलो उडान मान्द्रेढुंगाबाट गर्छौं’, उनले भने । अध्यक्ष भट्टराईले निकट भविष्यमा सराङकोटबाटै उडान गर्ने आफूहरूको इच्छा र चाहना रहेको बताए । यद्यपि यो टेक्निकल विषय भएकाले क्यानको निर्णयमा निर्भर रहने उनले प्रष्ट्याए ।

‘ना’का सल्लाहकार शैलेन्द्र राउतले तोरीपानीमा उडान फर्किएसँगै अब पाराग्लाडिङ पुरानै अवस्थामा फर्किनेमा आफूहरू आशावादी रहेको बताए । ‘अब पाराग्लाडिङ पुरानै अवस्थामा फर्किन्छ । अझ सराङकोटबाटै उडान गर्न पाउनु प¥यो भनेर हामीले क्यानलाई भनिरहेका छौं । आशा छ, त्यहाँबाट पनि उडान गर्ने अनुमति पाउनेछौं ।’ उनले ताल, हिमशृङ्खलाको रसास्वादनसँगै फोटोजेनिक पनि भएकाले तोरीपानी पर्यटकको रोजाइमा पर्ने गरेको उल्लेख गरे ।

‘ना’ का प्राविधिक उपाध्यक्ष विजय गौतमले तुलनात्मक रूपमा मान्द्रेढुंगा भन्दा तोरीपानी कैयौं गुणा उपयुक्त भएको बताए । यसले पाराग्लाडिङ गर्नेको संख्या बढ्ने भन्दै उनले भने, ‘पाइलट र व्यवसायी हामी सबै खुसी छौं ।’ पाराग्लाडिङ व्यवसायी तथा पाइलट शर्मीला शर्माले मान्द्रेढुंगा अपायक र टाढा पनि भएकाले पर्यटकको रोजाइमा नपरेको बताए । तोरीपानीबाट उडान पुनः सुरु भएसँगै आफूहरू उत्साहित भएको उनले बताइन् । ‘तोरीपानी सुरक्षित र रमाइलो ठाउँ हो । अब पाराग्लाडिङ पुरानै लयमा फर्किनेमा आशावादी छौं’, उनले भनिन् ।

अर्की पाइलट सविता तामाङले पाराग्लाडिङको उडान तोरीपानीमा फर्किएसँगै आफूहरू विस्थापित हुने डरबाट मुक्त भएको बताइन् । मान्द्रेढुंगा सरेसँगै पाराग्लाडिङ गर्ने पर्यटक कम हुँदा आफूहरूमा विस्थापित हुने चिन्ता थियो, उनले भनिन्, ‘महँगो अध्ययन, महँगो रकमको ग्लाइडर किनेर उडान गर्ने पालो नआउँदा वैकल्पिक रोजगारीको सोच पनि नआएको होइन । अबचाहिँ पाराग्लाडिङ गर्ने पर्यटक बढ्ने आशा छ । यसले थोरै भए पनि विस्थापित हुने चिन्ता हटेको छ ।’

‘ना’ले पुनः तोरीपानीबाट उडान सुरु गरेसँगै सराङकोटबाट उडान र फेवाताल किनार खपौंदीमा अवतरण (ल्यान्डिङ) गर्न दिनका लागि आग्रह गरेको छ । यसको अध्ययन भइरहेको ‘ना’ का महासचिव खेमराज शर्माले जानकारी दिए । ताल किनारमा ल्यान्डिङ गर्दा सुरक्षित हुने भएकाले त्यसको पहल गरेका हौं, उनले भने, ‘हाम्रो अध्ययनले मिल्ने देखिएको छ । हामीले प्रतिवेदन क्यानमा बुझाएका छौं । सायद क्यानले अध्ययन गरिरहेको होला । सकारात्मक निर्णय आउने आशा छ ।’  

यसअघि ‘ना’का अध्यक्ष सुनिलबहादुर भट्टराईले रिबन काटेर तोरीपानीबाट पुनः उडानको उद्घाटन गरेका थिए । सो अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–१८ का वडाध्यक्ष पूर्णाखर तिमिल्सिना, स्थानीय व्यवसायी प्रेमप्रसाद तिमिल्सिना लगायतले अविर र माला लगाएर उडान सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित: ३० आश्विन २०८० ०१:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App