१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

मैत्री सहकारीले २० प्रतिशत नगद लाभांश बाँड्ने

सहकारी संस्थाहरू संकटमा रहेका बेला पनि चौतारा साँगाचोकगढी नगरपालिका–७ कार्यक्षेत्र भएको मैत्री बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

शनिबार सम्पन्न १४ औं वार्षिक साधारण सभाले संस्थाको कूल मुनाफाको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। संस्थाले चालु वर्षमा ४९ लाख ३४ हजार दुई सय ६४ रूपैयाँ मुनाफा आर्जन गरेको छ।

अघिल्लो वर्ष संस्थाले ४१ लाख ८१ हजार रूपैयाँ मुनामा कमाएको थियो। संस्थाका सञ्चालक समिति अध्यक्ष रूपक धितालले अघिल्लो वर्षको तुलनामा चालु वर्षमा १८ प्रतिशत मुनाफा वृद्धि भएको बताए। उनका अनुसार संस्थाले आगामी वर्ष मुनाफा रकम बृद्धि गरी ५५ लाख रूपैयाँ पुर्‍याउने लक्ष्य राखेको छ।

चालु वर्षमा संस्थाले कुल कारोबार रकम नौ करोड ४५ लाख ६० हजार रूपैयाँ पुर्‍याएको छ। संस्थाको सेयर पुँजी एक करोड ४३ लाख नौ हजार रूपैयाँ पुगेको छ। एक करोड ६८ लाख ५८ हजार जगेडा कोष पुर्‍याएको संस्थाको पाँच करोड सात लाख ४७ हजार रूपैयाँ ऋण लगानीमा छ। चालु वर्षमा ऋण असुली दर ११ प्रतिशतले बढेको संस्थाले जनाएको छ। संस्थामा ६ सय ६८ सेयर सदस्य रहेका छन्।

संस्थाले सामाजिक दायित्वअन्तर्गत सुत्केरी पोषण, सदस्य मृत्यु कोष, असल बचतकर्ता तथा ऋणीलाई प्रोत्साहन, स्थानीय विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई वार्षिक नगद पाँच हजार रूपैयाँ छात्रवृत्ति प्रदान गर्ने लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष धितालले जानकारी दिए।

‘स्वरोजगारी वृद्धिको लागि आवश्यक कार्यक्रमहरूमा लगानी गर्न क्षेत्र पहिचान गर्ने काम भइरहेको छ,’ सेयर सदस्यलाई बढीभन्दा बढी लाभ दिने बताउँदै उनले भने।

साधारणसभाले संस्थाको भवन बनाउने उद्देश्यले आवश्यक जग्गा खरिद गर्न सञ्चालक समितिलाई अख्तियारीसमेत दिएको छ। साधरणसभाको संस्थापक अध्यक्ष तथा बागमती प्रदेश सरकारका भौतिक तथा पूर्वाधार विकासमन्त्री युवराज दुलालले उद्घाटन गरेका थिए। साधारणसभामा उनलाई संस्थाले सम्मानसमेत गरेको थियो।

प्रकाशित: २९ आश्विन २०८० ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App