१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

मुस्ताङबाट आठ हजार च्यांग्रा पोखरा ल्याइँदै

मुस्ताङबाट पोखरा झर्दै गरेका च्यांग्रा। तस्बिर सौजन्यः सुशीलबाबु थकाली

डोल्पा र चीनको स्वशासितक्षेत्र तिब्बतबाट नआएपछि यो पटक हिमाली जिल्ला मुस्ताङबाट करिब आठहजार च्यांग्रा मात्र पोखरा झर्ने भएका छन्। अघिल्ला वर्ष डोल्पा र तिब्बतबाट पर्याप्त आउँदा मुस्ताङबाट पोखरा झर्ने च्यांग्राको संख्या ठूलो हुने गरेको थियो।

भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख ऋषिराम पोखरेलले यो पटक दसैंमा मुस्ताङबाट झर्ने च्यांग्राको संख्या करिब आठहजार मात्र हुने बताए।

अहिलेसम्म पाँच हजार चार सय च्यांग्रा मुस्ताङबाट पोखराका लागि हिँडिसकेको उनले बताए।  पशुसेवा विज्ञ केन्द्रले स्वास्थ्य परीक्षण गरेर ती च्यांग्रा पोखराका लागि हिँडेको उनले बताए।

‘यो पटक संख्यात्मक हिसाबले निकै कम मात्र च्यांग्रा पोखरा झर्नेछन्। किनभने आठहजार हाराहारी मात्र च्यांग्रा झर्ने हाम्रो अनुमान हो,’ पोखरेलले भने, ‘जिल्लामा मात्र उत्पादन छ। छिमेकी जिल्ला डोल्पा र तिब्बतबाट च्यांग्रा आउनै पाएनन्। जसले गर्दा यो पटक संख्या कम भएको हो।’

अहिलेसम्म पाँच हजार चार सय च्यांग्रा झरिसकेको भए पनि यो संख्या आठ हजार नकट्ने उनले बताए।

‘डोल्पाबाट पर्याप्त मात्रामा आउँदा अघिल्ला वर्ष तिब्बतबाट नआउँदा पनि च्यांग्रा अभाव भएको थिएन तर यस पटक डोल्पाबाट करिब पाँच सयवटा च्यांग्रा मात्र मुस्ताङ भित्रिए। हाम्रो अनुमान चार हजार आउने थियो,’ उनले भने, ‘कोरोना भाइरस संक्रमण सुरु भएपछि तिब्बतबाट त आउनै छाडेका छन्।’ डोल्पाबाट च्यांग्रा मुस्ताङ हुँदै पोखरा ल्याउने गरिएको थियो।

नेपाल र तिब्बतबीचको सीमा कोरलामा लाग्ने द्विपक्षीय व्यापार मेलाका बेला तिब्बती व्यावसायीले नेपाली व्यावसायीलाई च्यांग्रा बिक्री गर्दथे। कोरोना भाइरस संक्रमण सुरु भएदेखि अहिलेसम्म यो मेला नै लागेको छैन। वर्षमा दुई पटक लाग्ने मेलाले माथिल्लो भेगमा व्यावसायिक गतिविधि हुने गरेका थिए तर मेला रोकिँदा च्यांग्रा भित्रिन पाएका छैनन्।

‘तिब्बतबाट पर्याप्त आउँदा केही वर्ष अघिसम्म मुस्ताङ हुँदै पोखरा झर्ने च्यांग्राको संख्या २० हजार हाराहारी हुने गरेको थियो तर यसपालि भने तिब्बतबाट पनि आएनन्, डोल्पाबाट पनि सोचेजति भित्रिएनन्,’ पोखरेलले भने। मुस्ताङमा च्यांग्रा उत्पादन बढ्दै गएकाले यो पटक स्थानीय च्यांग्रा बढी झरेको उनले बताए।

‘मुस्ताङी च्यांग्रा भनिए पनि अघिल्ला वर्ष भित्रिने बढीजसोमा तिब्बती र डोल्पाका हुन्थे,’ उनले भने, ‘तर यस पटक तिब्बतबाट एउटा पनि आएन। डोल्पाबाट पनि पर्याप्त मात्रामा भित्रिएनन्।’

संख्या कम भएपछि यो पटक च्यांग्राको मूल्य पनि बढ्ने उनको अनुमान छ। ‘हुन त स्थानीय प्रशासनले च्यांग्राको मूल्य तोक्दैन तर माग बढी र आपूर्ति कम भएपछि मूल्य बढ्न सक्छ,’ उनले भने। व्यवसायीका अनुसार यस पटक एउटा च्यांग्राको मूल्य ३५ हजार हाराहारी पर्ने अनुमान छ।

खरिद मूल्य महंँगो पर्ने र पर्याप्त मात्रामा नपाएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समेत दसैंका लागि हिमाली जिल्ला मुस्ताङबाट च्यांग्रा नकिन्ने भनिसकेको छ।

मुस्ताङको साटो रसुवाबाट च्यांग्रा खरिद गर्ने खाद्यको तयारी छ। खाद्यले यो पटकको दसैंमा खरिद गर्ने गरी खसी, बोका र च्यांग्राका लागि बजेट भने छुट्याएको छ।

खाद्यले दसैंमा एकहजार वटा च्यांग्रा र दुइहजार खसीबोका खरिद गर्ने तयारी गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुस्ताङका प्रमुख ललितकुमार यादवले यस पटक मुस्ताङी च्यांग्रा राजधानी लैजाने कुनै तयारी नभएको बताए। ‘हामीले च्यांग्राबारे मुस्ताङको गाउँगाउँमा गएर बुझ्याैं तर मुस्ताङबाट भने खरिद नगर्ने निर्णय भएको छ,’ यादवले भने।

केन्द्रको निर्देशन अनुसार मुस्ताङका गाउँगाउँमा गएर च्यांग्राबारे भाउ बुझेको भए पनि नकिन्ने निर्णय भएको उनले बताए। ‘भाउ पनि बुझियो, मौखिक कुरा पनि भयो तर मुस्ताङमा नकिन्ने भन्ने जानकारी आएको छ,’ उनले भने। मुस्ताङका स्थानीय किसानले जिउँदो च्यांग्राको मूल्य प्रतिकिलो ११ सयदेखि ११ सय ५० रूपैयाँसम्म तोकेको उनले बताए।

‘किसानले जिउँदो च्यांग्राको मूल्य प्रतिकिलो ११ सय रूपैयाँभन्दा तल नघट्ने भनेका छन्,’ उनले भने, ‘खाद्यले सुरुमा एक हजारवटा च्यांग्रा किन्ने भनेको पनि हो तर मूल्य बढी परेकाले मुस्ताङको साटो अन्य जिल्लाबाट किन्ने तयारी भएको छ।’

यादवका अनुसार खाद्यले २०७६ पछि मुस्ताङबाट दसैंमा च्यांग्रा किनेको छैन। त्यसअघि हिमाली जिल्ला मुस्ताङबाट खाद्यले दसैंको अवसरमा लगभग एक हजार च्यांग्रा किनेर राजधानी लगेर बिक्री गर्ने गरेको थियो।

मुस्ताङको वारागुँ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका किसानले च्यांग्रा पाल्छन्।तिनै च्यांग्रा किसानसँग किनेर अरू व्यवसायीले पोखरामा बेच्नका लागि झार्छन्। व्यवसायीले च्यांग्रालाई मुस्ताङदेखि हिँडाएरै पोखरा ल्याउँछन्।  पोखरामा दशैंको बेला च्यांग्राको मेला नै लाग्ने गर्छ।

हिमाली क्षेत्रको जडिबुटी खाएर हुर्किएका च्यांग्रा पोखरा र आसपासका क्षेत्रका उपभोक्ताले निकै रुचाउँदै आएका छन्।  चिसो हावापानीमा हुर्केकाले च्यांग्राको मासु स्वादिलो हुने भन्दै चितवन, रूपन्देही, पाल्पा, स्याङ्जा, तनहुँ, गोरखालगायत कास्की आसपासका जिल्लाबाटसमेत ग्राहक च्यांग्रा किन्न पोखरासम्म आउने गर्छन्।  

प्रकाशित: २९ आश्विन २०८० ०१:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App