२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हिमाल जोगिए मात्र पर्यटन जोगिन्छ

विज्ञ भन्छन्ः हामीकहाँ पनि टिस्टाको जस्तै जोखिम छ

पोखरामा शुक्रबारदेखि चलिरहेको दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन। तस्बिरः नागरिक

सन् २०१४ को अक्टोबरमा हुदहुद आँधीमा परेर अन्नपूर्ण क्षेत्रको पदयात्रामा रहेका धेरै पर्यटकले ज्यान गुमाए। मुख्य पर्यटकीय सिजनको बेला पर्यटनमा पुगेको त्यो नोक्सानीले नेपालको पदयात्रा पर्यटन क्षेत्र असुरक्षित रहेको भन्ने सन्देश अन्तर्राष्ट्रियस्तरमै पैmलियो।  

पदयात्रा क्षेत्रको मौसमी अवस्थाबारे जानकारी दिने प्रविधि नहुँदा त्यो बेला ठूलो क्षति भोग्नुपरेको भन्दै उच्च हिमाली भेगमा प्रविधि बिस्तारबारे चर्चा पनि चल्यो, तर पछि सेलाउँदै गयो। हुदहुदको त्यो प्रभावबारे चर्चा जति चलाएपनि त्यस अनुरुप प्रविधि बिस्तारमा सरोकारवालाले ध्यान दिएनन। अहिले पनि पदयात्रा क्षेत्रको प्रविधि बिस्तारको अवस्थामा खासै परिवर्तन आएको छैन।  

हालैमात्र पूर्वाेत्तर भारतीय राज्य सिक्किमको टिस्टा नदीमा अचानक बाढी आउँदा ठूलो जनधनको क्षति भयो। सिक्किमको उत्तरी क्षेत्रमा अवस्थित ताल फुट्दा बाढी आएको र त्यसले क्षति पु¥याएको विज्ञले बताएका छन्। बाढीमा बगेका धेरैजना अझैपनि सम्पर्कविहीन छन्।  

हुदहुद बाहेक नेपालमा पछिल्लो समय हिमाली भेगमा प्राकृतिक प्रकोपमा घटना निरन्तरजसो भईरहेका छन्। हिमाली भेगमा अधिक वर्षा हुनु, हिमपहिरो आउनु, अधिक हिमपात हुनु, सुक्खा बढ्नु, बाढीपहिरो आउनु अहिले हिमाली भेगका नियमित जस्तै गतिविधि भएको विज्ञको भनाई छ।  

विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तन र यसले हिमालय र समग्र वातावरणमा पारेको असरबारे सवत्र्र चिन्ता छ। जलवायु परिवर्तनले गर्दा हिमाली भेगमा जोखिम बढ्दै गएको पनि विज्ञहरुले बताई नै रहेका छन्। बेलाबखत हिमाली भेगमा घटिरहेका घटनाले पनि जलवायु परिवर्तनको असरलाई पुष्टि गर्दै गइरहेको उनीहरुको भनाई छ।

जलवायु परिवर्तनले हिमाली भेग र तल्लो तटीय क्षेत्रमा पु¥याएको क्षति बढिरहँदा त्यसलाई रोक्नका लागि अपनाउनुपर्ने प्रविधिबारे छलफल गर्न पोखरामा विभिन्न मुलुकका विज्ञहरु जुटेका छन्। ती विज्ञको एउटै चिन्ता छ– हिमाल र हिमाली भेगको संरक्षण गर्न नसके यसले प्राकृतिक र मानवीय दुवैमा गम्भीर परिणाम ल्याउन सक्छ। त्यसैले सरोकारवाला बेलैमा गम्भीर बन्नुपर्छ। हिमाली क्षेत्र सुरक्षित रहेमात्र पर्यटन जोगिन्छ।  

काठमाडौं विश्वविद्यालय र जापानको होकाइदो विश्वविद्यालयको आयोजना तथा नेपाल पर्यटन बोर्ड सहित विभिन्न निकायको सहयोगमा शुक्रबारदेखि पोखरामा ‘इन्टरनेसनल सस्टेनेबल माउन्टेन डेभलपमेन्ट एन्ड टुरिजम कन्फरेन्स’ सुरु भएको छ। तीनदिनसम्म चल्ने सम्मेलनमा विश्वका विभिन्न देशबाट सहभागी भएका हिमालय क्षेत्रका विज्ञ तथा वैज्ञानिकले हिमालको दिगो व्यवस्थापन र पर्वतीय पर्यटनका विषयमा छलफल चलाएका छन्।  

हिमनदी विज्ञ तथा काठमाडौं विश्वविद्यालय वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख डा. रिजनभक्त कायस्थ भन्छन्, ‘हिमाली क्षेत्रको जल्दोबल्दो समस्या भनेको माथिल्लो भेगमा हिमपात हुने र त्यहाँको हिउँ पग्लिँदै गएर पोखरी (हिमताल)को आकार बढ्दै गएका छन्। बर्षेनी आकार बढाईरहेका तिनै ताल फुट्दा कुनैपनि बेला बाढी आउन सक्छ। भारतको टिस्टामा हालै ताल फुटेर आएको बाढी र त्यसले पु¥याएको क्षति ताजै छ।’ टिस्टाले खेपेको जस्तो जोखिम नेपालले कुनैपनि बेला भोग्नुपर्ने उनले बताए। 

‘हामीकहाँ पनि टिस्टाको जस्तै जोखिम छ। तर, त्यसबारे हामीलाई पटक्कै चाँसो छैन। हिमाली भेगका तालको अवस्थाबारे कतै ‘अपडेट’ हुँदैन। कुनैपनि बेला ती हिमताल फुटेर तल्लो तटीय क्षेत्रमा क्षति गर्न सक्छ,’ उनले भने, ‘उच्च हिमाली भेगको शिरान क्षेत्रमा के कस्ता प्राकृतिक गतिविधि भईरहेका छन भनेर बारम्बार जानकारी लिनुपर्ने हो। तर, हामीसँग त्यो खालको प्रविधि भएन।’  

हिमाली भेग सुरक्षित भए त्यहाँका बासिन्दा सुरक्षित हुने र उनीहरुले पर्यटनबाट लाभ लिन सक्ने कायस्थले बताए। ‘हुदहुद आँधीको बारेमा जानकारी नहुँदा मानवीय क्षति भोग्नुप¥यो, त्यसले पर्यटनमा पनि असर पा¥यो। त्यसैले अब हिमाली भेगको सुरक्षा र त्यसबाट सुरक्षित रहने उपायबारे सोच्न ढिला गर्नु हुँदैन,’ उनले भने। उच्च हिमाली भेगका तालको अवस्थाबारे कम जानकारी रहेको उनले बताए।

‘हामीकहाँ यतिसम्म समस्या छ की माथिल्लो भेगको मौसमी अवस्था पनि थाहा हुँदैन । कति हिउ प¥यो भनेर मापन गर्ने प्रविधि पनि छैन। एकाध भएका स्टेशन पर्याप्त होईनन,’ उनले भने, ‘उच्च भेगको हिमाली अवस्था, त्यहाँको हिमपात, वर्षाबारे जानकारी दिने प्रविधि आवश्यक छ। बेलैमा सूचना पाउने हो भने क्षति कम गर्न सकिन्छ।’ हिमपात भएको अनुमानको आधारमा पदयात्रामा रहेका पर्यटकलाई रोक्ने मात्र काम भएको तर, हिउँको मापन कति छ भन्ने थाहा पाउन नसकेको उनले बताए।  

‘हिमाली भेगमा पर्यटकलाई मात्र नभई स्थानीयलाई पनि सुरक्षित राख्नुपर्छ। हिमाली क्षेत्रको क्षतिले पर्यटनमा पनि क्षति गर्छ। त्यसैले प्रविधि बिस्तारमा चाँसो दिनुपर्छ,’ कायस्थले भने। उच्च हिमाली भेगको अवस्थाबारे थाहापाउन ठाउँठाउँमा मौसम मापन स्टेशन राख्नुपर्ने उनले बताए। ‘कहा कति हिमपात भयो भन्ने पनि थाहा हुँदैन। हिमनदीको प्रवाहको तथ्यांक पनि कतै छैन,’ उनले भने, ‘माथिल्लो क्षेत्रमा कति वर्षा र हिमपात भयो भन्ने थाहा पाउन सक्ने हो भने सुरक्षित हुन सकिन्छ। त्यसका लागि मापन हुनुपर्छ।’ जल तथा मौसम विज्ञान विभागले केही जानकारी दिएपनि त्यो नै पर्याप्त नरहेको उनले बताए।  

उनका अनुसार हिमाली भेगको जानकारी दिनेगरि नेपालभर पूर्व देखि पश्चिमसम्म २५ ठाउँमा त्यस्तो प्रविधि राख्नुपर्छ। त्यसबाहेका नेपालका २१ वटा हिमतालमध्ये २ वटा (छो रोल्पा र इम्जा) को मात्र सतह घटाएको र तालबारे जानकारी दिने प्रविधि राखेको भएपनि १९ वटा ताल अझै पनि जोखिमपूर्ण अवस्थामा रहेको कायस्थले बताए।

 ‘नेपालका २१ मध्ये २ वटा हिमताल मात्र सुरक्षित बनेका छन्। तर, अरुको अवस्थाबारे सूचना कम छ,’ उनले भने, ‘ती सबै तालको अवस्थाबारे तल्लो तटमा जानकारी पाउनुपर्छ। त्यसो भयो भने मात्र स्थानीय पनि सुरक्षित हुन्छन र पर्यटन दिगो बन्छ।’  

पोखराको छलफलका विज्ञले हिमालको दिगो व्यवस्थापन तथा पर्वतीय पर्यटनका विषयमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए। पर्वतीय क्षेत्रको अर्थतन्त्र, जैविक विविधता र पारिस्थितिकीय प्रणाली, पर्वतीय समुदाय र संस्कृति, महिला, पर्वतीय क्षेत्र र अन्य भूगोलको सम्बन्ध, पर्वतीय क्षेत्रको जलवायु परिवर्तन र यसको असर लगायत विषयमा विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए। नेपाल सहित अमेरिका, बेलायत, जापान, चीन, भियतनाम, चिली, स्पेन र भारत लगायतका डेढदर्जन बढी मूलूकका विज्ञ सहभागि रहेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बताए।  

हिमालको दिगो व्यवस्थापनका लागि विश्वव्यापी रुपमा सन्देश प्रवाह गर्न आवश्यक भएको बोर्डका कार्यकारी रेग्मीले बताए। विश्वभरका वातावरण तथा हिमालय क्षेत्रका विज्ञको सहभागितामा नेपालमा आयोजना भएको यस सम्मेलनले हिमाली क्षेत्रलाई सुरक्षित बनाउनुपर्ने सन्देश प्रवाह गर्न सफल भएको उनको भनाई छ।

‘नेपालको पर्यटनको आधार नै हिमाल हो। नेपाललाई विश्वसमामु चिनाउने हाम्रा हिमालमा दिनप्रतिदिन जोखिम बढिरहेको छ। हिमताल फुटिरहेका छन्। हिमाल बचाउन र हिमाली क्षेत्रमा बढिरहेको जोखिम न्यूनीकरणका लागि विश्व समुदायको ध्यान तान्न आवश्यक छ,’ रेग्मीले भने। गतवर्ष पनि नेपालमा यस्तै सम्मेलन भएको थियो। अघिल्लो सम्मेलनमा पनि विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तन र यसले हिमालय र समग्र वातावरणमा पारेको असरबारे विज्ञहरुले छलफल गरेका थिए।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले पनि जलवायु परिवर्तनको असर पर्यटन क्षेत्रमा पनि उत्तिकै बढ्दै गएको बताए। उनले सुक्ष्म किसिमले जलवायु परिवर्तनको असर पर्यटन क्षेत्रमा रहेको बताए। ‘हिमाली क्षेत्र सुरक्षित रहे मात्र पर्यटन रहन्छ। त्यसैले हिमाली क्षेत्र जोगाउने प्रयासमा सबैको हातेमालो चाहिन्छ,’ उनले भने, ‘पर्यटन क्षेत्र पनि हिमाली क्षेत्रको जोखिमप्रति सजग र चिन्तित छ।’ पोखरामा भएको यस्तो छलफलले पर्यटन क्षेत्रलाई सुरक्षित बनाउन थप बल प्रदान गर्ने उनले बताए। 

प्रकाशित: २० आश्विन २०८० ०९:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App