१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखरा महानगरपालिकाद्वारा बजार अनुगमन

पोखरामा बजार अनुगमन गर्दै पोखरा महानगरपालिका। तस्बिरः नागरिक

चाँडबाँड नजिकिएसँगै पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ। बजारमा म्याद गुज्रेका सामान बिक्रीवितरण भएको र चाँडबाँडको मौका पारि उपभोग्य बस्तुको बढी मुल्य लिएको लगायतका गुनासो बढ्दै गएपछि अनुगमन थालेको महानगरले बताएको छ।  

महानगर सहकारी तथा उद्योग शाखा प्रमुख भरतराज पौडेललले खाद्य पसलमा म्याद गुज्रेका सामान बिक्री भएको र उपभोग्य बस्तुको मूल्य बढी लिएको गुनासो आएपछि बजार अनुगमन गरेको बताए। उनका अनुसार कतिपय उपभोग्य बस्तुको मूल्य अधिक बढेको छ। चिनिको मूल्य प्रतिकिलो १ सय २५ रुपैयाँसम्म पुगेको उनले बताए।  

‘उपभोक्ताको गुनासोपछि अनुगमन गरेका हौं। महानगरको अनुगमन दसैंसम्म चलिरहन्छ,’ पौडेलले भने, ‘उपभोग्य बस्तुमा ठगि नहोस भनेर महानगर सचेत भएको हो।’  शुक्रबार बजार अनुगमन गर्दा हेमजाका केही पसललाई जरिवाना गरिएको महानगरपालिकाले बताएको छ। महानगरले शुक्रबार पोखरा महानगरपालिका– २५ हेमजाका चारवटा खाद्य पसलमा अनुगमन गरेको थियो। त्यसबाहेक मासु, खाद्य र पुजा सामाग्रीका पसलमा समेत अनुगमन गरिएकोे उनले जानकारी दिए।

अनुगमनका क्रममा पोखरा–२५ मा सञ्चालनमा रहेको कृषव टे«डस र न्यु अधिकारी ट्रेड्सलाई पाँच–पाँच हजार रुपैयाँका दरले जरिवाना गरेको महानगरले बताएको छ। फरक नामबाट दुई पसल सञ्चालन गरेको तर वाणिज्य विभागमा नविकरण नगरेको, मूल्यसुची नटाँसेको, चिनीको खरिद बिल देखाउन नसकेको र बढि मूल्यमा बिक्री गरेको देखिएपनि कारवाहि गरेको महानगरले बताएको छ।  

त्यस्तै पोखरा महानगरपालिकाको दर्ता तथा नविकरण नगरेको, बहाल कर नतिरेको, किलोकाटा दर्ता नगरेको भेटिएपछि जरीवाना गरिएको पोखरा महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए।

पोखरा–२५ कै मिलाप स्टोर्समा अनुगमन गर्दा सरसफाई नभएको, साइनबोर्ड नभएको, महानगरमा बहालकर र ब्यवसाय कर नतिरेको भेटिएकाले वडा कार्यालयमा उपस्थित हुन लिखित पत्र दिइएको महानगर सहकारी उद्योग शाखा प्रमुख पौडेलले बताए।  

यसअघि विहीबार पनि लेखनाथ क्षेत्रका पसलमा महानगरले अनुगमन गरेको थियो। अनुगमन गरिएका ६ वटा पसलबाट म्याद नाघेका अखाद्य बस्तु मिसाइएका १७ हजार ८ सय ३१ रुपैयाँ बराबरको सामाग्री नष्ट गरिएको महानगरले बताएको छ। अनुगमनका क्रममा पोखरा–३० मा रहेको एएन बी सपिङ सेन्टरबाट १३ हजार ७ सय ३५ रुपैयाँ मुल्य बराबरको म्याद नाघेका र अखाद्य बस्तु फेला परेपछि नष्ट गरिएको थियो।

प्रकाशित: १९ आश्विन २०८० ०९:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App