२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नागढुंगा-नौबिसे सुरुङमार्ग छिचोल्न अझै ३३७ मिटर बाँकी

नागढुंगा–नौबिसे सुरुङमार्गको मुख्य सुरुङ छिचोल्न अब ३३७ मिटर मात्रै बाँकी रहेको छ। सुरुङमार्गको कुल लम्बाइ २६ सय ८८ मिटरमध्ये हालसम्म २३ सय ४० मिटर सुरुङ खन्ने काम सकिएको छ तर सुरुङ मार्गका आवश्यक सम्पूर्ण काम सम्पन्न गर्न भने अझै १६ महिनाभन्दा धेरै समय लाग्ने भएको छ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजना प्रमुख नवीनमान श्रेष्ठले १६ महिनाभित्रै सुरुङमार्ग निर्माणको काम सम्पन्न हुने दाबी गरे।

‘हामीले १६ महिनाभित्रै सुरुङमार्गको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘सुरुङको भुइँको ढलान (लाइनिङ) गर्ने काम पनि खास हुन सकेको छैन।’

इभ्याक्युएसन टनेल भने गत अगष्ट ७ मा ब्रेक थ्रु भएको थियो। आयोजनाका अनुसार पछिल्लो समय स्थानीयले सुरुङमार्गभन्दा माथिल्लो भागको पनि मुआब्जा मागेर हैरानी पार्ने काम गर्दै आइरहेका छन्।

आयोजनाका अनुसार वर्किङ अडिटतर्फ १२६ मिटर काम भएको छ। त्यसैगरी क्रस प्यासेजतर्फ पनि एक सय २८ मिटर काम भएको छ। आयोजनाका अनुसार कुल सुरुङमार्गतर्फको भौतिक प्रगति भने ९३.७० प्रतिशत भएको छ। अझै ६.३० प्रतिशत काम बाँकी छ। आयोजनाका प्रमुख श्रेष्ठले सुरुङमार्गको भुइँ ढलान–कंक्रिट लाइलिङको काम भने एक हजार दुई सय ५३ मिटर अर्थात् ४६.६० प्रतिशत मात्रै काम भएको छ। आयोजना प्रमुख श्रेष्ठका अनुसार सुरुङ मार्गको बाँकी लाइलिङको काम गर्न अझै ६ महिनाभन्दा धेरै समय लाग्नेछ।

सुरुङमार्गको हालसम्मको समष्टिगत भौतिक प्रगति ६१.३१ प्रतिशत र वित्तीय प्रगति ५७.२७ प्रतिशत भएको छ। आयोजनाका अनुसार फ्लाइओभर निर्माणका लागि आवश्यक पर्ने जग्गााको ९५ प्रतिशत मुआब्जा र क्षतिपूर्ति वितरण गरिसकेको छ।

अहिलेसम्म फ्लाइओभरको तीन वटा फाउन्डेसन र दुई वटा सबस्ट्रक्चरको काम सम्पन्न भइसकेको छ भने अझै तीन वटा सबस्ट्रक्चरको काम हुन बाँकी छ। सुरुङमार्गको निर्माण पहिलो पटक थप गरिएको समयसीमा भित्र सम्पन्न नहुने लगभग निश्चित जस्तै छ। सुरुको ठेक्का सम्झौता अनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो।

यो परियोजनामा अहिलेसम्म पनि मुख्य सुरुङको ब्रेक थ्रु र फिनिसिङ लगायतका काम अधुरै भएकाले पनि तोकिएको समयमा नसकिने भएको हो। यो परियोजनाको लागि पहिलो चरणमा ८६ दिन मात्रै म्याद थप गरिएको थियो तर थपिएको समयमा पनि आयोजना सम्पन्न नहुने भएपछि २५ अप्रिल २०२४ सम्म म्याद थप गरिएको छ।

पछिल्लो समय थप गरिएको समयसीमाभित्र पनि सम्पन्न नहुने लगभग निश्चित जस्तै छ। आयोजना प्रमुख श्रेष्ठले भने, ‘थपिएको समयसीमाभित्र परियोजना सम्पन्न हुन अझै कठिन देखिन्छ।’

उनले भने धादिङ र काठमाडौंतर्फ ५–५ सय मिटर सडक, दुई फ्लाइओभर र सुरुङमार्ग तथा मुआब्जासहित उक्त आयोजनामा करिब साढे २२ अर्ब लागत लाग्नेछ।

यो परियोजना निर्माण गर्ने ठेक्का जापानी कम्पनी हाज्मा आन्दो कर्पाेरेसनले पाएको छ। सुरुङ मार्ग निर्माण गर्न जापान सरकारले ०.०१ प्रतिशत ब्याज दरमा ४० वर्षका लागि ऋण दिने सम्झौता भइसकेको छ। यो आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाले साढे १६ अर्ब ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रूपैयाँ लाग्नेछ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ६ गते सुरुङ मार्ग शिलान्यास गरे पनि सुरुङ खन्ने काम झन्डै १४ महिनापछि मात्र सुरु भएको थियो। 

प्रकाशित: १२ आश्विन २०८० ०३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App