कार्पेट उद्योग कहिलेदेखि सञ्चालन गर्नुभएको हो र यसको बजार कस्तो छ?
प्रेस्टिज कार्पेट तीन वर्षअघि बजारमा ल्याएका हौं। कोरोना महामारी अघि नै सुरू हुनुपर्ने योजना केही ढिला भयो। प्रेस्टिज कार्पेटका ग्राहक नेपालभर छन्। बजार हेर्ने हो भने पूरा कार्पेटको ५० देखि ६० प्रतिशत बजार हिस्सा काठमाडौं र पोखरामा छ। बाँकी ४० प्रतिशत मात्र देशका अन्य बजारमा रहेको छ। नेपालभर कम्पनीको आफ्नो डिलर तथा होलसेलरहरू रहेका छन्। उनीहरूले नेपालको सम्पूर्ण स्थानमा आवश्यक परेको बेला तत्कालै फर्निसिङ गर्दिन्छन्।
विदेश पनि निर्यात गर्नु भएको छ?
प्रेस्टिज कार्पेट डेढ वर्षअघिदेखि भारतको दिल्ली, हैदराबाद, कश्मीरलगायतका सहरहरूमा निर्यात भइरहेको छ। भारतमा प्रेस्टिज कार्पेट धेरै रूचाइएको छ। ‘ओहो! नेपालवाला कार्पेट भन्छन्, त्यो हाम्रो लागि गौरवको कुरा हो।’
हाल कम्पनीले भारतको पानिपथबाट पनि कार्पेट उत्पादन गरिरहेको छ। कार्पेटको डिजाइनले गर्दा भारतीय ग्राहकको मन जित्न सफल भएका छौं। आगामी एक वर्षमा भारतमा हुने निर्यात अहिलेको भन्दा दोब्बर हुनेछ।
यो कार्पेटको मुख्य विशेषता केके हुन्?
नेपालमा पहिलो पटक अमेरिकन र अष्ट्रेलियन अत्याधुनिक मेसिन र प्रविधि प्रयोग गरेर उत्पादन गरिरहेका छौं। गुणस्तरीय कच्चा पदार्थ टर्की र अरबबाट ल्याउँछौंं। प्रेस्टिज कार्पेट नेपालमा बनेको हो तर यसको सम्पूर्ण प्रविधि र कच्चा पदार्थ आयातित हुन्। प्रेस्टिज कार्पेट बजारमा भएमध्ये अब्बल गुणस्तरको छ।
गुणस्तरीय छ भन्ने आधार के हो?
नेपालमा कार्पेट उत्पादन गरिरहेका उद्योगले प्रयोग गरेको प्रविधि कसैको भारतीय त कसैको चिनियाँ हो। हाम्रो जस्तो अत्याधुनिक र उत्कृष्ट प्रविधि कसैले प्रयोग गरेका छैनन्। महँगो मूल्य तिरेर भए पनि ग्राहकलाई उत्कृष्ट प्रविधि भएको मेसिन प्रयोग गरेर गुणस्तरीय उत्पादन दिएका छौं।
नेपालमा कार्पेट उत्पादन गरिरहेका उद्योगले प्रयोग गरेको प्रविधि कसैको भारतीय त कसैको चिनियाँ हो। हाम्रो जस्तो अत्याधुनिक र उत्कृष्ट प्रविधि कसैले प्रयोग गरेका छैनन्। महँगो मूल्य तिरेर भए पनि ग्राहकलाई उत्कृष्ट प्रविधि भएको मेसिन प्रयोग गरेर गुणस्तरीय उत्पादन दिएका छौं।
-विरेन्द्र शाह,निर्देशक, प्रेस्टिज कार्पेट
नेपालका अन्य कार्पेट कम्पनीले अहिलेसम्म त्यो गुणस्तरको कार्पेट दिन सकेका छैनन्। प्रेस्टिज कार्पेट बजारमा नआउञ्जेल यस्तो गुणस्तर भएको कार्पेट आयात गरिन्थ्यो। नेपालको बजार आयातमा निर्भर थियो। कार्पेटको मूल्य अहिलेको तुलनामा ४० प्रतिशत बढी थियो। यसकारण त्यसबेला उच्चवर्गले मात्र कार्पेट प्रयोग गर्ने हैसियत राख्थे। जब नेपालमै कार्पेट उत्पादन हुन थाल्यो त्यसपछि मात्र मध्यम वर्गले कार्पेट प्रयोग गर्न थालेका हुन्।
उपभोक्ताले प्रेस्टिज कार्पेट नै किन प्रयोग गर्ने?
नेपालमा सबैभन्दा कम मूल्यमा पाइने ‘ग्राफिक कार्पेट’ प्रेस्टिज नै हो। त्यसैले नेपालका अधिकांश मानिसले प्रयोग गर्दै आएका छन्। कम्पनीले आठ सय रूपैयाँ मिटरदेखि दुई हजार चार सय रूपैयाँ मिटरसम्मको कार्पेट बनाउँदै आएको छ। तुलनात्मक रूपमा उचित मूल्यमा गुणस्तरीय र टिकाउ भएकाले यो कार्पेट प्रयोग गरेका उपभोक्ताले पछुताउनु पर्दैन।
व्यापारमा आर्थिक मन्दीको असर कस्तो परेको छ?
विश्वव्यापी आर्थिक मन्दीबाट नेपाल अछुतो छैन। नेपालमा पनि मानिसहरूको क्रयशक्ति घटेको छ तर नेपालको सकारात्मक पक्ष भनेको कार्पेटलाई लक्जरीभन्दा पनि आवश्यकताको सामग्रीका रूपमा लिइने गरिन्छ। प्रेस्टिज कार्पेट गुणस्तरीय र आयातित कार्पेटको तुलनामा धेरै सस्तो भएका कारणले खासै समस्या देखिँदैन्।
कस्ताकस्ता कार्पेट उत्पादन गर्नुहुन्छ?
प्रेस्टिज कार्पेट विभिन्न प्रकारका छन्। कम्पनीले कार्पेट व्यवसाय सुरू गर्दा एसटी कार्पेटबाट सुरू गरेको हो। त्यसलाई रिब कार्पेट भनिन्छ। रिब कार्पेट निम्न मध्यम वर्गको लागि थियो। त्यसपछि प्रेस्टिज कार्पेटमा आएको हो। प्रेस्टिज कार्पेटलाई ‘टफटिङ कार्पेट’ पनि भनिन्छ।
गुणस्तरकै कारण तीन वर्षमा नेपालभरि ५० देखि ६० प्रतिशत कार्पेटको हिस्सा यसले ओगट्न सफल भयो। अझ यो भन्दा एक दुई प्रतिशत बढी नै होला तर कम छैन्। योबाहेक कम्पनीले ‘कट पाइल’ कार्पेट पनि लञ्च गरेको छ। जुन अहिलेसम्म कसैले उत्पादन गरेकै छैन्।
यो कार्पेट ठूला ठूला ब्याङ्क्वेट हलमा हालिन्छ। यसमा टेक्दा लचकदार र आरामदायी हुन्छ। यो लक्जरी कार्पेट हो। यो कार्पेट उच्च वर्गका लागि लक्षित गरेर उत्पादन गरिएको हो।
प्रेस्टिज फ्लोर म्याट लञ्च गर्दा यो पहिलो र पायोनियर कम्पनी थियो। पछि विस्तारै अरू आए तर प्रेस्टिजका उत्पादनहरू आएपछि सबैले यसलाई सहर्ष स्वीकार्दै प्रयोग गर्न थाले।
प्रेस्टिज कार्पेटले पहिलो वर्षमा साढे चार लाख स्क्वायर मिटर उत्पादन गरेको थियो। दोस्रो वर्ष आठ लाख स्क्वायर मिटर र तेस्रो वर्षमा ११ लाख स्क्वायर मिटर उत्पादन गरेको छ। यसपटक कम्पनीले १६ लाख वर्ग मिटर उत्पादन गर्ने लक्ष्य राखेको छ। १६ लाख वर्ग मिटर भनेको कम्पनीले झन्डै सय करोडको ‘टर्न ओभर’ हो।
चाडपर्व लक्षित केही प्याकेज छन् कि?
आउँदै गरेको चाडबाडको समयमा सबैभन्दा नयाँ ‘सेन्टर कार्पेट’ ल्याउँदै छौं। ग्राहकले चाहेको रङ, डिजाइन र तौलमा प्रिन्टिङसहितको कार्पेट कम्पनीले ल्याउन लागेको छ। कम्पनीले ग्राहकको बजेट अनुसार ‘कस्टमाइज्ड प्रिन्टिङ’ कार्पेट बजारमा ल्याएको छ।
नेपाली हातले बुनेको कार्पेट किन्न नसक्ने उपभोक्तालाई सोही डिजाइनको प्रिन्टिङ कार्पेट उत्पादन गरिन्छ। डिजिटल प्रिन्टिङ बजारमा आइसकेपछि बुनेको कार्पेटको डिजाइन कार्पेट आगामी चाडबाडलाई लक्षित गरेर बजारमा आउँदैछ।
सरकारी निकायबाट कस्तो सहयोगको अपेक्षा गर्नु भएको छ?
सरकारको तर्फबाट कार्पेट व्यवसायीहरूलाई अहिलेसम्म महसुस गर्न सकिने सहयोग केही पाएका छैनौं। सरकारले नेपालमा आयात गरिने कच्चा पदार्थमा पाँचदेखि १० प्रतिशतसम्म अनुदान दिन सके कम्पनीको निर्यात तेब्बर हुने थियो।
उद्योगको भावी योजना के छ?
‘लक्जरी प्रिन्टिङ’ कार्पेट बजारमा ल्याउने तयारी छ। यो कार्पेट नेपालको लागि विल्कुलै नौलो हो। यसमा ग्राहकले चाहेको र कल्पना गरी रोजेको जुनसुकै डिजाइन कार्पेटमा छापेर कम्पनीले उपलब्ध गराउँछ। अब कम्पनीले असीमित रङ र डिजाइनमा ग्राहकको इच्छा र चाहना अनुरूप कार्पेट तयार गर्न थालेको छ। यसलाई डिजिटल प्रिन्टिङ भनिन्छ।
यसको मूल्य प्रतिवर्गमिटर मोटामोटी एक हजार चार सय रूपैयाँदेखि दुई हजार रूपैयाँसम्मको रहेको छ। टफटिङमा आठ सयदेखि हजार रूपैयाँमा आउँछ भने यो एक हजार चार सयदेखि दुई हजारसम्ममा आउँछ। साथै कार्पेटको मोटाइ अनुसार मूल्य निर्धारण हुन्छ। कम बजेट भएका उपभोक्ताले अलि कम मोटाइ भएको कार्पेटमा प्रिन्ट गरी मितव्ययी हुने छुट कम्पनीले दिनेछ।
प्रकाशित: १० आश्विन २०८० ०२:१८ बुधबार