१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

गण्डकी प्रदेशमा पर्यटनको लगानी ५ खर्ब बढी

पर्यटनमा आशैआशको लगानीः पर्यटन व्यावसायी

पर्यटकीय सहर पोखरा। फाइल तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र अझै उकासिन सकेको छैन। पछिल्लो समय पर्यटकीय सिजनमा पनि पाहुना नआएको गुनासो व्यावसायीले गरिरहेका छन्। तर, व्यावसायीले पर्यटन क्षेत्रमा लगानी भने वर्षेनी थपिरहेका छन्। गण्डकी प्रदेशको लगानीको आकार हरेकवर्ष तन्किदै गएको व्यावसायीको भनाई छ।

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाका अनुसार गण्डकी प्रदेशको पर्यटन क्षेत्रको लगानी ५ खर्ब रुपैयाँ नाघेको छ। हरेकवर्ष लगानी कम्तिमा १० प्रतिशत बढिरहेको उनले बताए। गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले गरेको छलफलमा तथ्यांक प्रस्तुत गर्दै सापकोटाले भने, ‘पाहुनाविहीन भएको भन्ने गुनासो पर्यटन क्षेत्रको छ। तर, पर्यटनमा लगानी कुनै न कुनै रुपमा हरेक वर्ष बढेको बढ्यै छ । लगानी रोकिएको छैन।’  

सापकोटा कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्रको अध्ययन गर्न गण्डकी प्रदेश सरकारले बनाएको कार्यदलका एक सदस्य हुन्। उनका अनुसार सन् २०२० सम्मको अध्ययनका आधारमा पर्यटन क्षेत्रमा ५ खर्ब रुपैयाँ लगानी अनुमान हो। यो लगानी अहिले झनै थपिने क्रममै छ। तर, त्यसपछि भने लगानीको आँकलन गरिएको छैन। ‘ठूला लगानीका पूर्वाधार कोरोनाकालमै पुरा भएका छन, त्यसले गर्दा पनि लगानीको आकार बढिरहेको छ,’ उनले भने, ‘घाटामै रहेपनि व्यावसायी लगानी गर्न भने रोकिनै सकेनन।’

गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा मात्र करिब १० हजार ६ सय व्यावसाय संलग्न छन्। सापकोटाका अनुसार नीजि क्षेत्रबाट अधिक लगानी छ। करिब सातसय पर्यटकीय स्तरका होटल गण्डकी प्रदेशमा छन्।  ती होटलमा झन्डै ४० हजार बेडसंख्या रहेको पनि उनले बताए। त्यस्तै पर्यटकस्तरीय रेस्टुरेन्टको संख्या १ सय ५० छ। २ सय ३ वटा ट्राभल एजेन्सी, १ सय ५९ वटा ट्रेकिङ एजेन्सी, ६५ वटा प्याराग्लाइडिङ कम्पनि, ३ वटा अल्ट्रालाइट कम्पनि रहेका छन् । त्यसैगरि टे«किङ इक्यूपमेन्टका पसल १ सय १५ वटा छन्। ८७ वटा पर्यटकस्तरीय बस पनि संचालनमा छन्।  

प्रदेशमा ३ सय ४१ होमस्टे, मनि चेन्जर ४२, ¥याफ्टिङ एजेन्सी १२, बोड सेवा ५ सय २, ७५ वटा गार्मेन्टका पसल पनि संचालनमा छन्। ५३ वटा स्पा, टुरिष्ट बुक सपको संख्या १५ छ। त्यसैगरि ट्याक्सी, केवलकार, हट एयर बेलुन, जीपलाइन, बञ्जीजम्प लगायतका पर्यटकीय पूर्वाधार पनि पोखरामा छन्। पर्यटनसँँग आवद्ध करिब ८ हजार साना तथा मझौला व्यावसाय पनि प्रदेशमा छन्।  

‘पर्यटन क्षेत्रले झन्डै ७५ हजार जनालाई गण्डकी प्रदेशभित्र रोजगारी दिलाएको छ। पर्यटन हुँदैनथ्यो भने यो आकारको लगानी पनि जुट्ने थिएन, रोजगारी पनि सिर्जना हुने थिएन,’ सापकोटाले भने, ‘कोरोनाले गर्दा केही व्यावसायी र मजदुर बिस्थापित भएपनि धेरैलाई पर्यटन क्षेत्रले जोगाएको छ।’  

सापकोटाका अनुसार पर्यटन क्षेत्रमा लगानी बढ्ने क्रम नरोकिनुमा पूर्वाधारप्रतिको आश पनि हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थालनि भएसँगै पोखरामा ठुला लगानीका पूर्वाधार थपिने क्रम निकै नै बढेको उनले बताए। ठुला आकारका होटल कोरोना संक्रमण सुरु हुनुभन्दा केही अघि मात्र निर्माण थालिएका थिए। ती होटल कोरोनापछिको समयमा तयार भएको उनले बताए।

‘पर्यटन क्षेत्रमा लगानी त बढ्दै गएको हो, तर, कोरोनाका कारण प्रदेशको पर्यटन क्षेत्रले मात्र दिनमा झन्डै साढे १३ करोड रुपैयाँ नोक्सान खेप्ने गरेको थियो,’ उनले भने, ‘यतिसम्मको असर प¥यो की पर्यटन क्षेत्रका साना तथा मझौला आकारका करिब ३० प्रतिशत व्यावसायी बिस्थापित नै हुन पुगे। अहिले पनि पर्यटन क्षेत्र नोक्सानमै छ, तर, कोरोनाकालको जत्तिको भने होईन।’ 

व्यावसायीले पर्यटनमै भविश्य देखेर लगानी गरिरहेको उनले बताए। ‘पर्यटन क्षेत्रमा आशावादी भएका व्यावसायी लगानी गर्नबाट पछाडि हटेनन, बरु राम्रो दिनको पर्खाइमा रहे,’ उनले भने, ‘त्यसले गर्दा लगानीको आकार बढेको बढयै भयो।’

अहिलेसम्मको तथ्यांक अनुसार नेपालमा सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए। त्यो संख्या २०१८ मा ११ लाख ७३ हजार ७२ थियो। सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ को रुपमा मनाउने र त्यो वर्ष २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सरकारको थियो। तर, कोरोना भाईरस संक्रमणले गर्दा सरकारी लक्ष्य पुरा हुन सकेन। सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्न थालेको भन्दै पर्यटन क्षेत्र निकै नै आशावादी हुँदै त्यो बेला लगानीमा हौसिएका थिए।  

‘गण्डकी प्रदेश सरकारले नै भ्रमण वर्षमा २० लाख विदेशी पाहुना भित्रिने भनेर हामीलाई लगानी गर्न हौस्यायो। तर, कोरोनाले गर्दा पाहुना आगमन रोकियो। व्यावसायीले थालेको लगानी भने निरन्तर रह्यो,’ पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष बच्चुराम तिवारी भन्छन, ‘हामीलाई लगानी गर्नुस भनेर सरकारले नै आव्हान ग¥यो। यतिसम्मकी भएका पूर्वाधारले त्यो बेला आउने पाहुनाका लागि अपुग हुने भन्दै प्रदेश सरकारले लगानी बढाउन व्यावसायीलाई उक्साएको हो। तर, अहिले पर्यटक नआउँदा प्रदेश सरकारले जिम्मेवार हुन सकेन। व्यावसायीको लगानी जोगाउने तर्फ प्रदेश सरकार सक्रिय भएन।’  

व्यावसायी पर्यटन क्षेत्र कमजोर बन्नुमा कोरोना संक्रमण मुख्य कारक भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु नहुनु पनि थप कमजोरी रहेको बताउँछन्। पछिल्लो समय पाहुना कम हुनुमा स्थलमार्गको पहुँचको समस्या र हवाई मार्गमा अन्तर्राष्ट्रिय पहुँच बिस्तार हुन नसक्न मुख्य कारण रहेको उनीहरुको भनाई छ। 

‘हामीलाई अन्तर्राष्ट्रिय विमानस्थलको ललीपप देखाएर लगानी बढाउन लगाइयो। तर, अहिले बिस्थापित हुँदै गरेका तिनै व्यावसायीलाई जोगाउन कोही छैनुन्,’ परिषद्का पूर्व अध्यक्ष तिवारी भन्छन, ‘लगानी बढ्यो, तर, अवस्था नाजुक बन्दै गएको छ। धेरै व्यावसायी पलायनको बाटोमा छन्। आशैआशको लगानी डुब्ने त्रास छ।’

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार अहिले गण्डकी प्रदेशका होटलसँग ४० हजार बेडका हिसाबले महिनामा झन्डै १२ लाख पाहुना थेग्न सक्ने खुबि रहेको छ । तर, सरकारले यो वर्ष १० लाख पर्यटक भिœयाउने लक्ष्य राखेको छ। जबकी सन् २०२३ को आठमहिना (जनवरी–अगष्ट) अवधिमा हवाई मार्गबाट नेपाल भित्रिएका विदेशी पाहुनाको संख्या बल्ल ६ लाख नाघेको छ। नेपालमा सन् २०२३ को आठमहिनामा ६ लाख १ हजार ३ सय ६० पाहुना भित्रिएका छन्।  

‘गण्डकी प्रदेशले मासिक १२ लाख पाहुनाको अपेक्षा गर्छ । तर, सरकारको लक्ष्य वर्षभरिमा १० लाख पाहुना भित्र्याउने लक्ष्यमा रहेको छ,’ सुवेदी भन्छन, ‘यसैबाट स्पष्ट हुन्छ की पर्यटन क्षेत्रप्रति सरकार सकारात्मक छैन।’  व्यावसायीले ‘भोलिको आशमा भन्दै पर्यटन क्षेत्रमै धमाधम लगानी बढाईरहेको उनले बताए। ‘द्वन्द्वताका पनि लगानी बढेकै हो। भूकम्पका बेला पनि लगानी बढेको बढ्यो। भोलि सुध्रेला कि भन्नेमा आशाादी हुँदै पर्यटनमा लगानी थपियो,’ सुवेदी भन्छन, ‘तर, पर्यटन क्षेत्रमा सुधार आएको त्यो भोलिको दिन आएन।’  

कहिले नेपाल भ्रमण वर्षको लोभ त कहिले अन्तर्राष्ट्रिय विमानस्थलको मोहमा फसँेर व्यावसायमा लगानी बढाएको उनले बताए। ‘अहिले पनि लगानी बढिरहेको छ। एकारित लगानी पनि बढ्दैछ, अर्काेतिर केही व्यावसायी व्यावसाय धान्न नसकेर पलायन हुँदैछन्,’उनले भने, ‘आशैआशले गर्दा अहिले पर्यटन क्षेत्रमा लगानी बढिरहेको छ।’ पाहुनाविहीन भएको भनेर जति नै चिन्तित भएपनि लगानी भने नरोकिएको उनले बताए।

परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ लगानी पछिल्लो समय त व्यावसायी झनै चिन्तित हुँदै गएको बताउँछन्। ‘केही होला की भनेर आशैआशमा लगानी बढायौ, तर, त्यो सुखद् दिन आउन सकेन,’ श्रेष्ठ भन्छन, ‘कहिले के त कहिले के कारण देखाएर पर्यटक आउन सक्ने अवस्था छैन।’

प्रकाशित: ३ आश्विन २०८० ११:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App